थाकस चितवनका क्षेत्रीय सभापतिको हत्या

Hatya

कारी महतो/चितवन

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ४ का सभापति जीवनराम महतोको उनकै छोराले हत्या गरेका छन्। मानशिक सन्तुलन गुमाएका २७ वर्षका छोरा विश्वनाथ महतोले खुर्पा प्रहार गरेर हत्या गरेका हुन्। घरैमा बसिरहेका बेला एक्कासी खुर्पा प्रहार गरेर उनको हत्या गरिएको स्थानीयले बताएका छन्।

उनको घटना स्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। हत्या गर्ने छोरालाई चितवन प्रहरीले पक्राउ गरेको छ। मृतक महतोको शवलाई आजै अत्येष्टि गरिएको परिवारले जनाएका छन्। घटनाप्रति थारु कल्याणकारिणी सभाले शोक व्यक्तग रेको छ।

हत्यापछि भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको शवलाई भरतपुर अस्पतालको शवगृहमा नै पुगेर थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य सन्तबहादुर महतो र जिल्ला सभापति विश्राम महतोले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

थारु कल्याणकारिणी सभाले एकजना योद्धालाई गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे। पश्चिम चितवनको दिव्यनगर गाविसको वडा नं. ४ सिसै गाउँ घर भएका महतो लामो समयदेखि थारु समुदायको विकास र अधिकारका लागि संघर्षरत थिए।

थारु समुदायको प्रत्येक आन्दोलनका अगुवाको रुपमा परिचित महतो थारु भाषा संरक्षणमा अगाडि थिए। उनले थारु भाषाका झण्डै आधा दर्जन चलचित्रमा अभिनयसमेत गरेका छन्। विश्वास, दुःख भेलउ हमार, चौधरी बाबुलगायतका थारु भाषाको चलचित्रमा उनको अभिनय छ।

यसैबीच थारु पत्रकार संघ चितवनले घटनाप्रति दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष कारी महतोद्धारा जारी विज्ञप्तीमा महतोको हत्याले अत्यन्तै मर्माहित बनाएको उल्लेख छ। हत्यामा जोडिएका उनका छोरा मानशिक सन्तुलन गुमाएको भए पनि उनलाई कडा कानुनी कारबाही गरिनुपर्ने माग गरिएको छ।

Leave a Reply

Your email address will not be published.