जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि झडप

Photo tharu

बुधबार राति ८ बजेसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएपछि आज बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ।

सोही क्रममा आन्दोलनकारीले आज बिहानैदेखि प्रहरीसँग दोहोरो झडप सुरु गरेका छन्। प्रदर्शनकारीले आज बिहानैदेखि जलेश्वरको सिनेमाहल चोकमा टायर बालेर प्रहरीसँग झडप सुरु गरेका छन् भने जलेश्वरको दुर्गाचोक, शङ्कर चोक र नगरपालिका चोकमा पनि स्थानीयले प्रहरीलाई घेरा हालेर झडपको स्थिति सिर्जना गरेका छन्।

प्रादेशिक सीमाङ्कनविरुद्ध विगत २० दिनदेखि महोत्तरीलगायत सम्पूर्ण मधेस अनिश्चितकालीन बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि जलेश्वरको दुर्गाचोक, बुद्धिजीवी चोक, अस्पताल चोक, र शङ्कर चोकमा पनि सयौँको सङ्ख्यामा जम्मा भएर प्रहरीलाई चेतावनी दिइरहेका छन्।

बुधबार राति झडपमा प्रहरीको कुटाइबाट सिनेमाहल चोकमा करिब एक दर्जन आन्दोलनकारी घाइते भएका छन् भने एक जना प्रहरी पनि घाइते भएका छन्।

प्रहरीले बुधबार राति करिब १५ राउन्ड अश्रुग्यास र पाँच राउन्ड रबरको गोली प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएका थिए भने आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरी प्रहरीलाई पनि घाइते बनाएका थिए।

विगत २० दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। महोत्तरीमा बन्दको कारण दैनिक उपभोगका खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ।

जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेका छन् भने जिल्लाका हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन्। रासस

Leave a Reply

Your email address will not be published.