थारुमाथिको दमन कहिलेसम्म ?

Ramdas Chaudharyराम दास चौधरी

मैले राजनीतिशास्त्रको अध्ययन गर्दा राज्यको स्वरुपबारे पढेको थिएँ। जसमा स्पष्ट रुपमा लेखेको छ कि राज्यले जहिले पनि सत्तामा भएकाहरुको रक्षा गर्छ र सत्ता टिकाइराख्न जहिले पनि जुनसुकै कदम चाल्न र सबैथरीको (शाम, दाम, डण्ड, भेद) अस्त्र सस्त्रको प्रयोग गर्न पछि पर्दैन। यो कुरा आज मलाई लाग्दैछ। भाद्र ७ गतेको थारुहरुको शान्तिपूर्ण आन्दोलनको क्रममा झडपमा परी ७ प्रहरीसहित १ जना बालकको ज्यान गयो। जुन दुःखद घटना हो। त्यसलाई कसैले पनि राम्रो मान्न सक्दैन। घटनापछि टीकापुरमा कर्फ्यू लाग्यो। कर्फ्यू लागेका बेला थारुको घर, पसल र ठेलाहरु जलाइरँहदा पुलिस प्रशासन मुक दर्शक भएर हेर्‍यो। त्यहाँनेर पनि राज्यले सत्तामा रहेकाहरुको पक्षमा उभियो, मात्र थारुहरुको घर, जाय ज्यथा र सम्पत्तिमा दिनदहादै आगजनी गरियो, लुटियो।

पुलिस प्रशासन त किन गर्थे र तर मिडियाले पनि त्यो कुरा कहिले पनि बाहिर ल्याउन चाहेन। मिडिया त कम्तिमा स्वतन्त्र हुनु पर्ने र स्वतन्त्र तरिकाले समाचार प्रसारण गर्नुपर्ने। तर त्यसमा पनि राज्य सत्ताका नजिक रहेका र सत्तामा हालीमुहाली भएकाहरुको र आफ्नो निहित स्वार्थ लुकेकाले होला किन सत्यतथ्य बाहिर ल्याउँथ्यो र?

थारुको इतिहास बंग्याउँदै

थारुहरु नेपालका आदिवासी हुन् र नेपालका भूमिपुत्र हुन भन्नेमा कसैको विमति छैन। चाहे त्यो इतिहास होस् चाहे त्यो विज्ञान होस् दुबै कुराले प्रमाणित गरिसकेको कुरा हो। मलेरियाजस्तो प्राणघातक महामारीविरुद्ध थारुहरु तराईको जंगलमा बाँच्न किन सफल भए भन्ने कुरा विज्ञानले नै सावित गरिसकेको छ।

कुनै जाति त्यस भेगमा बसोवास गरेको सात हजार वर्ष बसोवास गर्दा मलेरियाजस्तो खतरनाक महामारी रोगसँग लड्ने क्षमताको विकास हुन्छ भनेर त्यसलाई आधार मान्ने हो भने पनि थारुहरु यस तराईमा ७ हजार वर्षभन्दा पहिलेदेखि बसोवास गर्दै आएको प्रमाणित हुन्छ। इतिहासै हेर्ने हो भने पनि सन १८१५ को सुगौली सन्धी हुँदा नेपालले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग ब्रिटिस इन्डिया कम्पनीले कब्जा गरेको थियो। पछि नेपालले ब्रिटिस इन्डिया कम्पनीलाई विभिन्न लडाईँमा सैनिक सहयोग गरेकोले इष्ट इन्डिया कम्पनीले नेपाललाई फिर्ता गर्‍यो। (नेपाल इतिहास) तर इतिहासले के प्रमाणित गर्छ भने बाँके, बार्दिया, कैलाली र कञ्चनपुरलाई चाहे ब्रिटिस सरकारले कब्जा गरेपनि र फिर्ता दिएपनि राज्यको सीमांकन फेरिँदा पनि र राज्यको सीमांकन खुम्चिदा पनि यस क्षेत्रका आदिवासी थारुको बस्ती यही नै रहिरहेको थियो।

यसरी विभिन्न दस्तावेजले नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म थारुहरुको बस्ती रहेको कुरा प्रमाणित हुन्छ। आइएलओ महासन्धि १६९ मा पनि के कुरा उल्लेख गरिएको छ भने आदिवासीहरु राज्यको सीमा छुट्टिँदा एउटै समूहमा बसिरहेका आदिवासीहरु पनि फरक-फरक राज्यमा पर्न गएको कुरालाई पुस्टि गर्छ। त्यसैले पछि तराईका आदिवासी थारुहरुको कोही नेपालको तराई जिल्लामा पर्न गए भने कोही भारतको भूमिमा पर्न गए। एउटा उदाहरणको रुपमा लिन सकिन्छ बर्दिया र कैलालीको थारु बस्तीहरु भारतको उत्तर प्रदेशको सीमानामा पर्ने गाउँमा थारु बस्तीहरु छन् भने कैलाली र कञ्चनपुरको राना थारुहरु भारतको सीमा पारी पनि हजारौं वर्षदेखि बसोबास गर्दै आएका छन्।

आदिवासी थारुहरु भारतमा ब्रिटिसहरुले राज्य गर्दा कैलाली र कञ्चनपुरमा थारु बस्ती थियो भन्ने कुरा ब्रिटिस इन्डिया कम्पनीसँग कैलालीको घना जंगलबाट काठहरु निकासी गर्ने बेला थारुसँग सम्झौता गरेको प्रमाणले पनि प्रमाणित गर्छ। (निवर्तमान थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष श्री प्रभात चौधरी) यति धेरै प्रमाणका बावजुद पनि शासन सत्तामा रहेकाहरुले थारुहरुको इतिहास र पहिचानमाथि ढावा बोलिरहेका छन्, जुन सरासर लगत देखिन्छ। यसले पनि सत्तामा रहेकाहरुले आफ्नो स्वार्थमा इतिहास बंग्याउन खोजिरहेको प्रमाणित हुन्छ र स्थानीय थारुहरुको भाषाबाट राखिएको नामलाई पनि बंग्याउने कार्य गरिँदैछ।

पहाडको बस्तीको नाम फरक तरिकाले राखिएको देखिन्छ भने तराईमा आदिवासीहरुको थारुहरुको बोली भाषाबाट ठाउँको नाम, नदी नाला र वन जंगलका नामहरु राखिएको देखिन्छ। कैलाली र कन्चनपुरमा पनि थारु भाषाबाट अर्थ लाग्ने नामहरु रहेका छन्, जुन पछि गएर परीवर्तन गरिएका छन्। त्यसैगरी विचुवाको पनि धेरै गलत अर्थ लगाइँदैछ। कन्चनपुरमा धेरै वटा गाबिसको नामको पछाडि विचुवा राखिएको छ।

राना थारु भाषाको विच्चा भन्ने शब्दबाट विचवा र विचुवा हुन गएको देखिन्छ। राना थारु भाषामा विच्चा भनेको खाली ठाउँ हो। घना जंगलको बीचमा खाली ठाउँ जहाँ बस्ती बस्न सकिन्थ्यो र बसेका थियो त्यसका नामबाट विच्चाबाट विचुवा हुन गएको देखिन्छ। जस्तै रैकर विच्चा (रैकवार विचुवा), वाइसी विच्चा (वाइसी विचुवा), रौतेली विचवा आदि। तर यहाँका शासकहरुले इतिहास बंग्याउन यसको पनि गलत अर्थ लगाइँदैछ। हुन त किन नलगाउलान् इतिहास जित्नेले लेख्छ भन्छन्, त्यही त होला नि राज्य सत्ताको आडमा जे अर्थ लगाए पनि जस्तो अर्थ लगाए पनि हुने नै भयो।

पहाडबाट ४ दिन झुक्किएर गाई चराउन आउनेले कैलाली र कन्चनपर हाम्रो आदि थलो भन्न के गाह्रो? राना थारुहरुलाई राउटे जस्तो फिरन्ते भन्न के गाह्रो? हो शासन सत्तामा थारुहरुको पहुँच कहिले पनि पुगेन, सोझा जाति खेतीपातीमा रमाउने र अरुलाई सकेसम्म दुःख नदिने र मिलनसार स्वभावका थारु जातिहरु माथि रजाइ गर्न सजिलो थियो। चाहे त्यो राणा शासन होस्, चाहे त्यो निरंकुश पञ्चायती व्यवस्था, चाहे २०४६ सालपछिको प्रजातन्त्र होस् वा वर्तमान अवस्थाको गणतन्त्र वा लोकतन्त्र जे जे नाम दिए पनि सोझा थारुको शासन सत्तामा कहिले पनि पहुँच पुग्न सकेन र केवल उनीहरुमाथि राज गरियो, रजाइ गरियो, शासन गरियो।

राणा शासनमा पनि विर्ताको नाममा थारुहरुको जग्गालाई विरता भनि राज्य सत्ताको आसपासमा रहेका भाइ भारदारहरुलाई जिम्मा लगाइयो। अनि जमिनमाथि द्वैध स्वामित्व सिर्जना गरियो। पञ्चायती व्यवस्थामा पनि भूमि सुधारको नामबाट थारुहरुको जग्गा माथि कुठाराघाट गरियो। चर्को करका कारण थारुहरुले जग्गा गुमाउनु परेको र करको तिरोतिर्न नसकी जग्गा नै गुमाएको घटना अर्जुन गुणरत्नेले उल्लेख गरेका छन्।

त्यसैगरी सोझा थारुलाई विभिन्न जालझेल गरी उनीहरुको जग्गा हडपियो चाहे मित लगाएर होस् वा ऋणमा झुक्काएर होस् वा जाँड रक्सी खुवाएर होस्। जसरी भए पनि थारुहरुको जग्गा हड्पियो र उनीहरुलाई कमैया बन्न र दास बन्न बाध्य गराइयो। यसरी थारुहरु कहिले पनि मालिक वा शासक हुन सकेनन्। चाहे त्यो राणा शासन होस्, चाहे त्यो पञ्चायति व्यवस्था होस् वा प्रजातन्त्र होस् वा गणतन्त्र नै होस् आखिर शासक उही नै हुन् शासन उनीहरुकै छ र सत्ता उनीहरुकै वरिपरि रहेको छ। तर थारु, मधेसी, आदिवासी जानजाति र दलितहरु त्यही शासनको प्रजा नै भएका छन्। शासन फेरिएको छ, मान्छे फेरिएका होलान् तर सत्ता उही वर्ग र उही समुदायको पकडमा छ।

त्यसैले त होला उही शासक वर्ग र समुदायले सोझा आदिवासी थारुमाथि शासन गर्दै आएका छन्। थारुलाई अझै पनि दमन गर्न छाडेका छैनन्। चाहे पञ्चायतकाल होस् वा माओवादी जनयुद्धको नाममा होस्। माओवादी जनयुद्धमा पनि सबै थारुलाई माओवादीको विल्ला भिडाइयो। सेना प्रहरीको बन्दुक सबै थारुमाथि तेर्स्याइयो र सबै थारुहरु सेना प्रहरी र प्रशासनको दमनमा परे र पारियो। धेरै निर्दोष थारुले अकालमा ज्यान गुमाउनुपर्‍यो भने कोही बेपत्ता पारिए तर उनीहरुको रगतमा शासन गर्ने र सत्तामा रजाई गर्ने उही वर्ग र समुदायका मान्छेले मौज गरे।

आज २१औं शताब्दीमा थारुहरु सचेत भएका छन्, जागरुक भएका छन् र उनीहरु पनि आफ्नो हक अधिकारको कुरो उठाइरहेका छन्। आज उनीहरुले हामी यो देशको धर्ति पुत्र हौं, हाम्रो पनि यस राज्यमा पहुँच हुनुपर्छ, हाम्रो पनि यस देशमा पहिचान हुनुपर्छ भन्ने आवाज उठाइराखेका छन्। आज नेपालको एक धर्तिपुत्र थारु जाति आफ्नो पहिचान र अधिकार खोजिरहँदा उसलाई आतंककारीको बिल्ला भिडाइएको छ।

आन्दोलनको क्रममा झडपमा पुलिस मारिँदा सबै थारुलाई अपराधीको विल्ला भिडाइएको छ। आज पनि उसलाई बन्दुकको गोलीले दमन गर्न खोजिँदैछ, जुन बन्दुकको गोली किन्न उसैको खुन पसिना पनि बगेको छ। जबसम्म ऊ कमैया वा दास भएर बस्दा सहेर बस्दा थारु समुदाय मिलेर बसेको संज्ञा दिइन्छ। आज आफ्नो हक र अधिकारको कुरा गर्दा ऊ नै समाजमा सद्भाव खलबलाउन खाजेको भनिएको छ। उसले आफ्नो अधिकार माग्नु नै गलत छ भने, उसको पहिचान नै यस देशलाई चाहिँदैन भने र यस देशको धर्तिपुत्र होइनन् भने यहाँका शासकहरुले भन्नुपर्यो, कि तिमीहरु यस देशका नागरिक होइनौं। तिमीहरु जन्मेको नै हाम्रो दास बन्नका लागि हो, भन्नुपर्यो तिमीहरु जन्मेकै हामीहरु जे जे भन्यो त्यही मान्ने हो र हामीले जे भन्यो त्यही गर्नका लागि हो।

तिमीहरुको यस देशमा कुनै पनि लगानी छैन। यदि होइन भने यहाँका शासकहरुले बुझ्नुपर्यो थारुहरुको माग जायज छ। उनीहरुलाई पहिचान दिनुपर्छ, उनीहरुलाई पनि यस देशको नागरिक सरह व्यवहार गरिनुपर्छ नाकि अपराधिको? अहिलेको शासन सत्तामा बसेकाहरुले थारुप्रति न्याय गर्ने हो भने अविलम्ब थारुमाथिको दमन रोकी उनीहरुको माग पूरा गर्नुपर्छ, अनिमात्र २ सय ५० वर्षदेखिको थारुमाथि गरिएको उत्पीडन अन्त्य भएको मान्न सकिन्छ।

थारु नागरीक सामाज कैलाली

Leave a Reply

Your email address will not be published.