एमाओवादी निष्कर्ष : थारुलाई सम्बोधन नगरी अगाडि बढ्न सकिँदैन

pushpa_kamal_dahalएमाओवादीले थारु समुदायलाई सम्बोधन नगरी अघि बढ्न नसक्ने निष्कर्षका साथ दलहरुसँग सहमतिको प्रयास थालेको छ। एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले बुधबार एमाले अध्यक्ष केपी शर्मा र नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन्।

त्यसअघि मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइराला र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका माओवादी शीर्ष नेताहरुले फोरम अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि सम्वादकोे तयारी गरेका छन्।

बबरमहलस्थित एक निजी घरमा भएको एमाले र एमाओवादी शीर्ष नेताहरुको भेटवार्तामा मुलुकको समग्र परिस्थितिबारे छलफल भएको थियो। तर, कुनै ठोस सहमति भने भएको छैन।

स्रोतका अनुसार एमाओवादी नेतृत्व थारुसहितका समुदायलाई सम्बोधन नगरी अघि नबढ्ने निष्कर्ष पुगेका छन्। ‘केही न केही सम्बोधन नगरी हुँदैन’ एमाओवादी एक शीर्षनेताले भने- ‘परिस्थिति जटिल भएको छ। यसमा तपाईहरुको ध्यान गएको छैन भनेर हामीले एमाले नेताहरुलाई भनेको छौं।’

थारु समुदायलाई सम्बोधन गर्दा मगरातको पनि समस्या समाधान हुने एमाओवादीको निष्कर्ष छ। मधेसमा पनि मोरङ र सुनसरीबारे पुनर्विचार गर्न एमाओवादीले एमाले नेतृत्वसमक्ष प्रस्ताव गरेको छ। स्रोतले भन्यो- ‘झापाबारे मौन बस्ने हो भने पनि मोरङ र सुनसरीबारे के गर्ने भन्ने सल्लाह गरौं भनेर हामीले भनेका छौं।’

छलफलमा एमाले नेतृत्वले भने प्रदेशहरुको सीमांकन पहिला जस्तै आयोगलाई दिने वा अहिलेको सीमांकनलाई घोषणा गरेर जाने अडान लिएको छ।

कांग्रेस नेतृत्वले भने अमूर्त कुरा मात्र गरेको एमाओवादी नेतृत्वको गुनासो छ । स्रोतले भन्यो-कांग्रेस नेतृत्वले कुनै मूर्त कुरा गरेको छैन। हेरौं, हाम्रो पार्टीका शीर्षनेताहरु सम्वादमा जुट्नुभएको छ।’

Leave a Reply

Your email address will not be published.