महेश चौधरी।
विविधतामा भावनात्मक एकता नेपालीहरुको राष्ट्रिय एकताको पहिचान हो। जातिय, भाषिक, धार्मिक र सांस्कृतिक सहष्णुता हाम्रो युगौंदेखिको शान हो। हिमाल, पहाड, तराई राष्ट्रिय सुन्दरता र समृद्धि हो। तर, संघियताले हाम्रो भावनात्मक एकता, सहिष्णुता र संमृद्धिलाई खलबल्यायो। कैलाली टीकापुरमा घटेको हिंसात्मक घटनायसको ज्वलन्त उदाहरण हो।
यो पंक्तिकारले २०६९ सालमा प्रकाशित आफ्नो पुस्तक ‘स्थविरहरुको प्राचिन इतिहास र संस्कृति’ को भूमिकामा उल्लेख गरेका थिए- ‘अहिले भविश्यबाणी गरिँदैछ कि नेपालको सुदूरपश्चिम तराई कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम सामन्ती डोट्याली प्रदेश (राज्य) अथवा सेती-महाकाली प्रदेश स्थापना गरियो भने निकट भविष्यमा मधेस बिद्रोहपछि अर्को थरुहट/थारुवान बिद्रोह उठ्छ। विगतका सामन्त खस शासकहरुको अहंकारपूर्ण प्रवृत्ति, शोषण र दमनकारी तथा हेपाहा मनोवृत्ति र डोट्याली राज्यका पक्षपोषकहरुका कारण राज्यपुरसंरचना अन्तरगत थारु समुदायको बसोबास, थारु भाषा संस्कृतिको र ऐतिहासिक निरन्तरताको आधारमा अब बन्ने ‘थारु–अबध–लुम्बीनी प्रदेश’ लाई तोडेर थारु समुदायलाई उनीहरुको प्रदेशमा कहिलपनि नेतृत्वमा आउन नदिनेगरी, सधैँ राज्यसत्ता भन्दा टाढा राख्न, भाषा, संस्कृति र थारु समुदायको स्वशासित प्रदेश बन्न नदिन र चौतर्फी विकास हुन नदिई सदैव सामन्ती शासकहरुको कमैया, कमलहरी, हली र सुकुम्बासी दासझैँ बनाइराख्न र उनीहरुलाई उनीहरुको थात-थलोबाट बिस्थापित गर्न ‘अखण्ड सुदूरपश्चिम’ अथवा ‘सेती-महाकाली डोट्याली सामन्ती राज्य’ पुनर्स्थापना गर्न खोज्ने खस सामन्त शासकहरुको योजनाविरुद्ध यो बिष्फोट ढिलो चाँडो उठ्नेछ भनेर थरुहट/थारुवान क्षेत्रका बासिन्दाहरुले भनिरहेका छन्। ‘Making of Modern Nepal‘का लेखक इतिहासविद डा. रामनिवास पाण्डेका अनुसार- ‘पछिल्लो महाभारत काल अथवा महाजनपद कालमा नेपाल तराईमा दुईवटा सभ्यता विद्यमान थियो। नारायणी नदी पूर्व मिथिला सभ्यता र नारायणी नदी पश्चिम लुम्बीनी सभ्यता। शाक्य गणराज्य थारुहरुको गणराज्य हो। यो गणराज्यमा पूर्व नारायणी नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको थियो। जसमा दाङ–देउखुरी र सुर्खेत उत्यकाहरु समेत यसमा समावेश थिए।’
लेखकले उद्धृत गरेको कुरा आज आएर कैलाली टीकापुरको हिंसात्मक घटनाले सत्य सावित गरिदियो। टीकापुरमा घटेको हिंसात्मक घटना नेपालीहरुका लागिमात्र नभएर विश्व मानवजातिका लागिसमेत अत्यन्त दुःखदायी घटना हो। राष्ट्र र जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी एसएसपीसहित सातजना सुरक्षाकर्मीको निर्मम हत्या हुनु यो ज्यादै निन्दनीय घटना हो। त्यसमा दुई वर्षे बालक मारिनु त्योभन्दा ठूलो बर्बरता अरु के हुन सक्छ?
जनताको सुरक्षा गर्ने सुरक्षाकर्मी मारिएपछि जनताको सुरक्षा कसले गर्छ? तर घटना घट्यो, यो घटनाको दोषी को हो भन्ने प्रश्न खडा हुन्छ- आन्दोलनकारी अथवा दलका नेताहरु? खण्ड-अखण्डका जनता कि कुर्सीमा बसेका जनता?
शासक वर्गको अहंमता देखेर डोरबहादुर बिष्टले ‘हिमाल’ अंक २०५२-७-८ मा आफ्नो विचार यसरी व्यक्त गरेका थिए- जुन राष्ट्रको आधारशिला नै जातीय विवधतामा खडा छ, त्यसका बासिन्दाले उसबाट तर्सिने वा आत्तिने कुनै कारण छैन। बरु यस यथार्थलाई आत्मसाथ गर्नाले अघि बढ्ने बाटो पहिल्याउन सजिलो हुन्छ। हाम्रो देशमा भविष्यमा कुनै दिन हिंसापूर्ण जातीय वा साम्प्रदायिक भिडन्त हुन सम्भव छ कि छैन भन्ने प्रश्न गर्नु भनेको कुनै दिन हाम्रो देशमा भुइँचालो आउँला कि नआउँला भनेर प्रश्न गर्नुजस्तो कुरा होइन र?
जाति, धार्मिक समूह र सम्प्रदाय भनेको चाहिँ हामी आफैँ भएको हुनाले आपसमा दङ्गा र भिडन्तलाई चाहिँ सबै मिलेर कोसिश गरेमा टार्न सक्छौं। कसैले नलेख्दैमा नेपालको विभिन्न जातजातिको इतिहास सधैं लुकेर बस्ने कुरा पनि होइन। कसैले चाहँदैमा मेटेर जाने कुरा पनि त्यो होइन। विभिन्न कारणले गर्दा अतितमा तल्ला जातका, बुद्धि नभएका, जङ्गली, मतवाली आदि बिशेषणबाट अपमानित हुँदा पनि बस्नुपर्ने बाध्यताभित्र परेका थुप्रै जातजाति, मधेसी, मुस्लिम, महिला, दलित र पछाडी पारिएका क्षेत्रका जनताले आज ठूलो स्वरले बोल्न खोजकोमा कसैले आश्चर्य मान्न हुन्न। बरु ठूल्ठूलो तोक बोल्नसक्ने हुकुमी शासकहरुलाई समेत ढलाउन समर्थ भइसकेका नेपालीहरुले अब पहिलेजस्तो हामी ठूला र माथिल्ला शासक जातका हौं भनी हिँड्ने कसैलाई पनि सहने छैनन् भन्ने कुरा सबैले बुझ्नुपर्ने भएको छ।
संघीयता र अखण्डता दुई विपरित र विरोधाभाषी कुरा हुन्। पंक्तिकारले धेरै पहिलेदेखि भन्दै आएको कुरा हो- एक मधस एक प्रदेश र अखण्ड सुदूरपश्चिमको नारा राष्ट्रिय बिखण्डनको नारा हो। संघीय प्रदेश निर्माण गर्दा नेपाल मात्र अखण्ड हो। अरु बाँकी सबै खण्डीत हुन्। अखण्ड सुदूरपश्चिमको नाराले टीकापुरको हिंसात्मक घटना घट्न पुग्यो, जसको परिणाम नेपालीहरुको एकताको भावना भाँचिएको छ। मनै फाटेको छ अब कसरी जोड्ने र कसरी सिउने हो?
नेपालमा धेरै लालबुझक्कड दलका नेताहरु छन्। प्राचीन भारतको इतिहास समेतले पुष्टि गर्न नसकेको कुरा हिमवत खण्डको तराई भागलाई ‘मधेस’ भनिदिए। संविधान संसोधन गरेर भए पनि तराई शव्दलाई हटाएर मधेस शव्द राखिदिए। बिश्वमा कतै नभएको ‘मधेस प्रदेश’ नेपालको तराईमा पर्सादेखि सप्तरीसम्म मधेसी समुदायलाई दया गरेर दिइदिए। तर, तराईका भुमिपूत्र थारुले आफ्नो सघन र निरन्तर बसोबासको मूल थलो नवलपरासीदेखि कञ्चनपुरसम्मको तराई भूमी माग गर्दा हामीलाई आन्दोलनकारी र आतंङ्कारी कसरी भन्न सकिरहेका छन् भनेर थारु सभासदले भनिरहेका छन्? जुन जातिले आदिम अवस्थादेखि तराईमा औंलो र हिंस्रक जनावरसँग पैठेजोरी खेल्दै तराईको रक्षा गर्दै आयो, त्यही शान्त थारु जातिलाई आज सुदूरपश्चिमको बिखण्डनकारी र आतंककारी संज्ञा दिन कसरी सकेका छन्?
२०२५ सालतिर भुगोलबिद डा. हर्क गुरुङले नेपालको समग्र आर्थिक विकासका लागि ‘नेपालको प्रादेशिक विकासको अवधारणा’ ल्याए। अर्थात् हिमाल, पहाड, तराई प्रदेशलाई जोड्नेगरी पाँच विकास क्षेत्रमा समग्र मुलुकलाई उत्तर-दक्षिण विभाजन गरियो। प्रत्येक विकास क्षेत्रलाई पुनः अञ्चल, जिल्ला र नगरपालिका/गाउँ विकास समितिमा विभाजन गरेर हिमाल पहाड तराई, नदी र ऐतिहासिक स्थलका आधारमा नामाकरण गरियो। संघीयता र अखण्डता विपरित कुरा भएझै प्रादेशिक विकासको अवधारणा र राज्यको अग्रगामी पुनरसंरचनाअनुसार संघीय प्रदेश निर्माणको अवधारणा फरक धारणा होइन र? राष्ट्रको अग्रगामी पुनरसंरचनाअनुसार संघीय प्रदेश निर्माण गर्दा अखण्ड र बिखण्डनको प्रश्नै उठ्दैन।
नेकपा (माओवादी)ले उठाएको जातीय स्वशासनको अवधारणा नेपाली जनताले बुझ्नै सकेनन् र त्यो पार्टीले जनतालाई आफ्नो अबधारणा बुझाउनै सकेन। जाति, समुदायका नाममा हचुवाभरले स्वशासित प्रदेश नामाकरण गर्यो। दलित, महिला र अन्यले आफ्नो स्वशासित प्रदेश खोज्न थाले। नेपाली नेपालीमा शंका उत्पन्न गरायो। जसले गर्दा नेपालीहरुको मनै भाँचियो। हर्क गुरुङले आफ्ना छोराछोरीको नाम धौलागीरी, अन्नपूर्ण, मकालु राखेझैँ त्यो पार्टीले स्वायत्त प्रदेशको नामाकरण हिमाल, पहाड, नदी, प्राचिन स्थलको नाममा स्वायत्त प्रदेशको नाम राखिदिएको भए स्वशासनको विरोध यति जातिबिति हुने नै थिएन।
अझै राप्तीको पानी धेरै बगेर गएको छैन। एकपटक हामी ठण्डा दिमागले सोचौं। लोकतन्त्र सल्लाह र सहमतिले चल्ने व्यवस्था हो। वार्ता, छलफल र सहमतिका आधारमा समस्या सामाधान गर्ने प्रयास गरौं। शासक वर्गले समयमै आफ्नो अहंकार र हुंकारलाई त्यागौं।
लेखक संस्कृतिविद् हुन्।