माघीको महत्व

Geeta Chaudharyगीता दृष्टि– नयाँ वर्ष, नयाँ वस्तु र नयाँ कुरा सुन्न सबैलाई रमाइलो र उत्सुकता हुन्छ। त्यसैले त्यो सबैका लागि विशेष पनि हुन्छ। हमीले यो वर्षभर विभिन्न जातजाति र राष्ट्रको नयाँ वर्ष मनायौं। जस्तै– वैशाख १, पुस १५ र जनवरी १। यी विभिन्न नयाँ वर्ष मनाइरहँदा थारूको नयाँ वर्ष माघी पनि हाम्रासामु आइपुगेको छ।

नेपालमा थारूहरु २२ वटा जिल्लामा फैलिएर बसेका छन्। विभिन्न ठाउँमा बसोबास गर्ने हुनाले भाषा, पहिरन र संस्कृतिमा केही भिन्नता छन्। मानउने तरिका र बोलाउने नाममा फरक भए पनि एउटै समयमा एउटै उद्देश्यका लागि माघी मनाइन्छ। माघ १ अर्थात् माघी विभिन्न ठाउँमा बसोबास गर्ने थारूहरुले विभिन्न नाममा मनाइराखेको पाइन्छ। तिला संक्रान्ति, मकर संक्रान्ति, खिचरा र माघे संक्रान्ति गरी विभिन्न नामकरण गरिएको पाइन्छ। वर्षभरिको काम सकिएपछि धानबाली भित्राइसकेपछि र लागाउनुपर्ने बाली लागाइसकेपछि फुर्सदको समयमा नयाँ योजना बनाउने, कामको समीक्षा गर्ने, नयाँ नाता गाँस्ने, पुरानो नातालाई सुमधुर बनाउने, घरमा नयाँ काम गर्ने व्यक्ति थप्ने वा हटाउने (यसलाई कमैया राख्ने वा नराख्ने पनि भनिन्थ्यो ) र थकान मेट्ने हेतुले माघ १ गते नयाँ वर्षका रूपमा मनाउने प्रचलन आएको हो। माघीचाहिँ माघ १ को अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन जिता मार्ने र माघ १ गते खाने कुराको जोरजाम र तयारी गरिन्छ। माघ १ गते बिहानै उठेर नजिकैको नदी वा खोलामा गएर नुहाउने र फर्किएर देउताको कोठामा गएर निस्राउ छुने र छोइसकेपछि आफूभन्दा ठूलालाई दर्शन गर्दै आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ। सबैले छोएको र त्यसमा राखेको पैसा र चामल बिहे भएका छोरीचेलीलाई दिने चलन छ। माघ १ गते आफ्नो परिवारभित्रका सम्पूर्ण सदस्य जम्मा भई वर्षभरिको काम समीक्षा र कार्ययोजना बनाइन्छ। त्यसैगरी गाउँभरका व्यक्तिहरु एक ठाउँमा जम्मा भई गाउँको विकास र संरक्षण अनि सर्म्बद्धन र नयाँ नेतृत्व चयन गर्ने सम्बन्धमा छलफल, समीक्षा र योजना बनाइन्छ, जसलाई थारू समुदायमा ‘खोजनी बोजनी’ भनिन्छ।

विविधताभित्र एकता

थारू समुदाय तराईका रैथाने जाति हुन्। परापूर्वकालदेखि ताराईमा थारू जातिमात्र बसोबास गर्ने भनेर विभिन्न किताब र खोजमूलक अनुसन्धानले पुष्टि गरेका छन्। तर पछिल्लो समयमा तराईमा विभिन्न जातजातिको बसाइसराईले थारू समुदाय अन्य समुदायसँग मिलेर बसेको अवस्था छ। त्यसैगरी थारू समुदायको बसाइ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको छ। सो ठाउँका अन्य समुदायको सम्पर्क र सम्बन्धले थारू समुदायको भेषभूषा, भाषा, खानपिन र संस्कृति, चाडपर्व मानाउने तरिकामा झट्ट हेर्दा भिन्नता देखिन्छ। अन्य समुदायका व्यक्तिले गर्ने गरेको प्रतिक्रिया पनि त्यही हँुदै आएको छ। यो कुरालाई विश्लेषण गर्दा उदाहरणका रूपमा हामी नेपाली भाषा र संस्कृतिलाई लिन सक्छौं। पूर्वको नेपाली भाषा, संस्कृति र मध्य अनि पश्चिमको भाषा, संस्कृतिमा धेरै भिन्नता छन्। थारू समुदायमा पनि त्यही कुरा लाग हुन्छ वा भनौं, थारू समुदाय विविधताका बाबजुद पनि एक छ।

संगठितरूपमा माघी

माघीलाई थारू समुदायले परापूर्वकालदेखि विशेष पर्वकै रूपमा मनाउँदै आएको भए पनि पहिले यो पर्व घरमै सीमित हुन्थ्यो। छेउछाउका छिमेकी गाउँमा गई त्यहाँको नाच अर्को गाउँमा गएर हेर्ने चलन थियो। अहिले सूचना प्रविधिको विकाससँगै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको वृद्धिसँगै माघी सांगठनिकरूपमा मनाउने चलन बढिरहेको छ। केही वर्षदेखि थारू कल्याणकारीको संयोजनमा राजधानीमा रहेका थारू सम्बद्ध विभिन्न संघ/संस्थाको आयोजनामा देशभरबाट आएका थारू समुदायका व्यक्तिले भव्यतासाथ मनाउँदै आइरहेको पाइन्छ। त्यसैगरी जिल्लामा पनि विभिन्न संगठनले माघी महोत्सव, खिचरा महोत्सव आदिको नाम दिएर हर्षोल्लासका साथ मानाइएको देखिन्छ।

भेषभुषा र खानपिन

त्यसैगरी पहिरनका हिसाबले हेर्ने हो भने पश्चिम कैलाली, कञ्चनपुरदेखि पूर्व झापा, मोरङलागायतका सम्पूर्ण जिल्लामा थारूहरुको आ–आफ्नै किसिमको भेषभुषा देखिन्छ। यी २२ वटै जिल्लाका भेषभुषामा केही तात्विक भिन्नता भए पनि यो थारूहरुको भेषभुषा हो भनेर सजिलै चिन्न सकिन्छ।

खानपिनका हिसाबले हेर्ने हो भने पनि विभिन्न ठाउँमा बसोबास गर्ने थारूहरुको खानपिन लगभग मिल्दो छ। बनाउने तरिका र अकारमा केही फरक भए पनि कच्चा पदार्थ उही हुने गरेको छ। जस्तै– एउटा परिकारलाई पूर्वतिर बगिया र पश्चिमतिर ढिक्री भनिन्छ। पूर्वका थारू र पश्चिमका थारूले बनाउने आकार भने फरक हुन्छ। तर स्वाद र कच्चा पदार्थचाहिँ चामलको पीठो नै हुने गर्छ। त्यसैगरी गंगटा, घोङी, मुसाको चटनी, माछा, बंगुरको मासु, केराउको विशेष परिकार कोहोरी, बयरको आचार, आलुको चुक्यानी, सिन्कीको तरकारी, तिलको लड्डु, मुरहीलगायतका विभिन्न परिकार थारू समुदायमा प्रचलित छ। यी सम्पूर्ण परिकार आ–आफ्नो रुचिअनुसार नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने यो समुदायका व्यक्ति खाने गर्छन्।

अन्य समुदायसँगको सम्बन्ध

माघी थारूले मात्र मानाउँदै आएको पर्व होइन। नेपालमा बसोबास गर्ने सम्पूर्ण नेपालीले यो चाडलाई मकर संक्रान्तिका रूपमा भगवान महादेवको पूजा गरिन्छ। नेपालमा बसोबास गर्ने सम्पूर्ण नेपालीको मनाउने तरिका फरक–फरक भए पनि मानाउने उद्देश्य र समय उही छ। सम्पूर्ण नेपालीले विभिन्न नाममा एउटै पर्व मनाइरहेका छन्। थारू समुदाय पनि नेपाली समुदायभित्रकै एउटा समुदाय हो जो यस माघी पर्वलाई विशेष र पृथक तरिकाले मनाउने गर्छन्। माघीसँग यो समुदायको इतिहासका पाना जोडिएका छन्। कथा कहानी जे–जस्तो भए पनि यो पर्वले थारू र अन्य समुदायका व्यक्तिसँग सुमधुर सम्बन्ध बनाउनमा टेवा पुर्याकएको देखिन्छ।

3 thoughts on “माघीको महत्व

  1. गीताजी
    सेवा , जय गुर्वावा !
    हामी थारुहरुको नयाँ वर्ष अर्थात माघीको बारेमा जानकारी मुलक लेख पढ्न पाउदा अति खुशी लाग्यो । माघिक शुभ कामना सहित ।
    अपन के केजन पुर्वे कि हखट कि पश्चिम के ? मै के इतने कहटु कि थारु जातिक बारेमे औरो जानकारी लिखम ।

  2. गीता जी,
    नमस्ते! राधे-राधे! गोरलागै चियै!

    अहाके बात एकदम सहि छै। माघी थारू समके लेल लया बरष चियै। अहा आपन लेखके अन्तमे कहलियै कि माघी थारुसम विशेष और पृथक ढंग से मनाइछै। येकरा पृथकके सटा अलग कहतियै त झन निक (बन्हिया) हेतियै। केनङकि पृथकके मतलब अंग्रेजीमे ODD हैछै। आपन थारु माघी ODD ढंग से नैइ मनाइछै। आपनसम के त माघी अलग (DIFFERENT) ढंग से मनाइचियै। तेहेसे येकरा अलग कहनेसे एकदम सही हेतियै।

    साथमे एक दोसर बात और कैहेले चाहैचियै अहासे। पुरुभरके थारुसम बैशाख १ गते सिरुवा पावैन मानाइछै। जकरा थारु सम लया बरष केहके मनाइछै। येहेसे हम दोधारमे पैर गेल्यै कि सिरुवा पावैन के लया बरष मानवै कि माघीके लया बरष मानवै? कनिक बुझाइले प्रयत्न कैर दियैले अहासे बिन्ती करै चियै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *