आन्दोलनकारीसँग सशर्त वार्ता नगर्ने चार दलको निर्णय

1four party meeting

प्रमुख चार राजनीतिक दलले कुनै पनि वहानामा संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकले वार्ताका नाममा संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेको हो।

बैठकले संविधान निर्माण र वार्तालाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।  केही दिन अगाडि आन्दोलनरत मधेसी मोर्चालाई वार्ताको लागि सरकारले गरेको आह्वानपछि मोर्चाले वार्ताका लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने सर्त अगाडि सारेको थियो ।

बैठकले सर्शत वार्ताको औचित्य नभएको निष्कर्षसमेत निकालेको छ । ‘संविधान निर्माण प्रक्रिया र वार्ता सँगसँगै अगाडि बढाउने समझदारी भएको छ,’ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले भने,’वार्ताको नाममा संविधान निर्माण प्रक्रियालाई कुनै असर पार्नुहुन्न भन्ने चार दलको समान दृष्टिकोण रहेकोछ ।’

बालुवाटारमा बसेकाे चारकाे बैठकमा सहभागी नेताहरू।
यसैगरी बैठकले आन्दोलनरत मधेसी मोर्चा र थरुहट संघर्ष समितिलाई पुन वार्ताका लागि पत्र पठाउने निर्णय गरेको छ। बैठकले चार दलका शीर्ष नेताले आन्दोलनरत पक्षलाई वार्ताका लागि अपिल गर्ने एमाले उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिइन् ।

यसअघि सरकारले पठाएको पत्रको जवाफमा मधेसी मोर्चाले संविधान निर्माणको प्रक्रिया रोकेर सबै दलको सहभागीतामा संधिवान निर्माण गर्ने प्रतिबद्धता जनाउनुपर्ने, दंगाग्रस्त क्षेत्रमा परिचालित सेना फिर्ता बोलाउनुपर्ने लगायतमा माग अगाडि सारेको थियो ।

Leave a Reply

Your email address will not be published.