टीकापुरका स्थानीय भन्छन्- कर्फ्यु लगाएर सद्‍भाव हुँदैन’

30082015085553Ram-bdr-chaudharyरामबहादुर चौधरी
सद्भाव कायम गराउन सबभन्दा पहिले थरुहट आन्दोलन जातीय आन्दोलन होइन भन्ने कुरा बुझ्नुपर्छ। यो अधिकारको आन्दोलन हो। अहिलेसम्म धेरैले थरुहट आन्दोलनलाई जातीय आन्दोलनका रूपमा बुझ्दै आएकाले समस्या आएको हो।

थरुहट आन्दोलन जातीय आन्दोलन होइन भन्ने कुरा बुझाउन मिडिया पनि लाग्न जरुरी छ। कैलाली, कञ्चनपुरसहितको थरुहट प्रदेशको माग जातीय आन्दोलन होइन भन्ने कुरा बुझाउन मिडियाले विशेष भूमिका खेल्नुपर्छ। हाल कतिपय मिडियामा एकतर्फी कुरा आएकाले पनि समस्या बल्झिएको छ। अर्को पक्षको कुरा के छ? त्यो पनि सञ्चार माध्यममा आउनुपर्छ। यसले दुवै पक्षबीच बिग्रिएको सम्बन्धलाई जोड्न सहयोग गर्छ।

यो जातीय आन्दोलन होइन भन्ने कुरा जनताले भन्दा नेताले बुझ्न जरुरी छ। उनीहरू नै यसबारेमा प्रस्ट छैनन्। मिडिया नलागेसम्म यसलाई जातीय आन्दोलनको रूप दिएर जनता लडाउने काम भइरहने छ। जातीय रूप दिएर समाज बिगार्ने र धमिलो पानीमा माछा मार्ने प्रयास कतिपयले गरिरहेका हुन सक्छन्। यसबाट जोगिनु र जोगाउनु अहिलेको आवश्यकता हो। कतिपयले भड्काउने खालका विषयवस्तु सोसल मिडियामा राखिदिनाले पनि समस्या देखिएको छ। सोसल मिडियाको प्रयोग सद्भाव कायम गराउनमा सबैले उपयोग गर्न जरुरी छ। यसको सुरुवात सबैले आफैंबाट गर्नुपर्छ।

टीकापुर घटना हेर्दा सरकार पनि तटस्थ हुनुपर्ने अवस्था देखिएको छ। कफ्र्युमा पनि टीकापुर बजारमा रहेका स्थानीयका घर र पसलमा आगजनी हुनुले प्रहरी–प्रशासन तटस्थ नभएको आभास भएको छ। प्रशासन तटस्थ भएको भए कर्फ्युमा आगजनी हुन सक्ने थिएन। यो दु:खको कुरा हो। प्रशासनले धेरै दिन कफर््यु लगाउँदा सद्भावको वातावरण बन्न सक्दैन।

स्तारै कफर््युको समय घटाउँदै लग्नुपर्छ। लगातार २४ घण्टा कफ्र्यु लाएर सद्भाव कायम हुन सक्दैन। कफ्र्यु खोलेर प्रहरी–प्रशासनले बजार आउँदा पनि सुरक्षित छन् भन्ने अनुभव गराउनुपर्छ। घरघरमा केरकार गर्ने सताउने काम पनि भएको छ, त्यो तत्काल बन्द गरिनुपर्छ। प्रहरीतिर क्षति भएको छ। यसलाई बदलाको भावना राख्नु हुन्न।

आजको बदलिँदो परिस्थितिमा पुरानै खालको सद्भावले थारूहरू सन्तुष्ट हुने अवस्था देखिँदैन। परिष्कृत सद्भावको कुरा ल्याउनुपर्छ। थारूहरू पहिलेदेखिको सामन्ती राज्यसत्ताबाट पिल्सिँदै आएका छन्। उनीहरू पुन: त्यही राज्यसत्ताको पिल्साइमा रहेर सद्भाव कायम होला जस्तो मलाई लाग्दैन। सामाजिक न्यायका आधारमा सद्भाव कायम गर्नु नै अहिलेको निकास हुन सक्छ।

प्राचार्य, खड्ग मेमोरियल उच्च मावि

कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published.