सप्तरीमा प्रशासन र आन्दोलनकारीबीच छ बुँदे सहमति

11952880_494758764038172_8476515592090282716_oसंयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मङ्गलबार प्रहरीको गोली लागी सप्तरीको भारदह-१ का राजीव राउतको मृत्यु भएको विषयमा मोर्चा र स्थानीय प्रशासनबीच छ बुँदे सहमति भएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवको अध्यक्षतामा राजविराजमा आज बसेको सर्वदलीय बैठकमा मृतकलाई सहिद घोषणा, मृतक परिवारलाई रु २० लाख क्षतिपूर्ति, घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन, मृतकका श्रीमतीलाई स्थायी रोजगारी र दुई सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था, मृतकको सम्मानमा भारदहस्थित मुख्यचोकमा शालिक निर्माण र आन्दोलनका क्रममा घाइते भएकाको उपचार राज्यले गर्नुपर्ने सहमति भएको सङ्घीय समाजवादी फोरम नेपालका सप्तरी जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बताए।

सर्वदलीय बैठकमा विभिन्न मधेसी दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, उद्योगी व्यापारी तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो। आज भएको सहमति गृह मन्त्रालयमा पठाइने र मन्त्रालयबाट सहमति कार्यान्वयन नहुन्जेलसम्म मृतकको शव नबुझ्ने स्थानीय प्रशासन र आन्दोलनकारीबीच सहमतिसमेत भएको छ।

मृतक राउतको शव परीक्षण गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।

यसैबीच, प्रजिअ यादवले स्थानीय प्रशासन र आन्दोलनकारीबीच सहमति भइसकेकाले आन्दोलनलाई थप हिंसात्मक नबनाउन आग्रह गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.