सशस्त्र प्रहरीको लुम्बिनी बेसक्याम्पमा आक्रमण प्रयास

Putlaआन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पमा आक्रमणको प्रयास गर्दा आज साँझ केही समय तनाव सिर्जना भयो। बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब सात किलोमिटर टाढा नेपाल-भारत सीमा क्षेत्रमा रहेको कालिदहस्थित सशस्त्रको क्याम्पमा आक्रमण गर्न थालेको सूचना पाएर थप सुरक्षा बलका लागि पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले बाटोमा अवरोध सिर्जना गरेका थिए।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का र सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख भरत कोइरालासहितको टोलीलाई सडकमा सवारी साधन तेस्र्याएर उनीहरुले अवरोध गरेका थिए। अवरोध हटाउँदै कालिदह पुगेर फर्केको टोलीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि समान्य बल प्रयोग गर्नु परेको सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख प्रहरी नायब उपरीक्षक कोइरालाले बताए।

त्यस्तै, प्रदर्शनकारीहरु एकाएक लुम्बिनी विकास कोषको दक्षिण क्षेत्रमा रहेको ६ नं ढोकाभित्रको सशस्त्रको क्याम्पमा आक्रमण गर्न पुगेका थिए। प्रहरीमाथि ढुङ्गा र बोतलले आक्रमण गर्दै क्याम्पभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो।

घटनाका सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आन्दोलनरत पक्षसँग आज दिउँसो प्रशासनमा भएको समझदारीको सूचना समयमै आन्दोलनकारीले नपाउँदा लुम्बिनीमा केही तनावको अवस्था आएको बताए।

यसअघि, प्रशासन र आन्दोलनकारीबीच प्रदर्शनलाई शान्तिपूर्ण बनाउने समझदारी भएको उनको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.