थरुहट कार्यकर्ताद्वारा रातमा तोडफोड

Bhairahawa-aandolan1

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले बुधबार राति बाँकेमा आधादर्जन गाडी तोडफोड गरेका छन्। थरुहट बन्दकर्ताले कोहलपुर–नेपालगन्ज सडक खण्डको प्रिपहवाचोकनजिक गाडी तोडफोड गरेका हुन्। उनीहरुले गाडीमा सवार चार यात्रुमाथि समेत आक्रमण गरेका छन्। उनीहरुले नागरिक दैनिकको गाडीसमेत फुटाइदिएका छन्।

कोहलपुर प्रहरीका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे१च १६०२ नम्बरको एम्बुलेन्स, बा१३च ४१६१ नम्बरको जिप, बा२ख २०८७ नम्बरको हायस, बा१ख ४१०१ नम्बरको ट्रक, भे१ज ४०१ नम्बरको म्याजिक भ्यान र नागरिक दैनिक बोकेको गाडी तोडफोड गरेका हुन्।

थरुहट कार्यकर्ताको कुटपिटबाट चारजना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रुपेश रावलले बताए। डोल्पा, रिमी– ५ का २२ वर्षीय धनराज ऐरी र सुर्खेत मेहलकुना– ३ की तारा नेपाली गम्भीर घाइते छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। नवीन चापागाईं र माधवराम थारुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको उनले जानकारी दिए।

गाडी तोडफोडमा संग्लन १८ जनालाई प्रहरीले बुधबार राति नै पक्रेको थियो। पक्राउ परेकामध्ये ८ जनालाई छोडिएको र १० जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राति साढे ७ बजे नेपालगन्जबाट विभिन्न स्थानमा जाने सवारीसाधनलाई प्रहरीले एस्कर्टिङ गरे पनि ९ देखि १२ बजेबीचमा तोडफोड भएको रावलले जनाए।

यसैबीच बिहीबार दिउँसो बर्दियाको बाँसगडीमा समेत थरुहट बन्दकर्ताले गाडी तोडफोड गरेका छन्। उनीहरुले बाँसगडीमा कान्तिपुर गाडी र केही मोटरसाइकलमा तोडफोड गरेका हुन्। यस्तै बाँसगडी बजारमा रहेको रामजी मिष्ठान्न पसलमा तोडफोड र आगजनी गरेको प्रहरीले जनायो। व्यापार व्यवसाय खुलाएको भन्दै उनीहरूले व्यापारीमाथि समेत आक्रमण गरेका छन्।

Leave a Reply to Kaaifen Cancel reply

Your email address will not be published.