प्रधानमन्त्री निवास अगाडि धर्ना

काठमाडौं- मानव अधिकारकर्मीहरूले मुलुकमा दण्डहीनताको अन्त्य र कानुनी राज्यको प्रत्याभूतिको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा धर्ना दिए।

केहीबेरको धर्नापछि मानव अधिकारकर्मीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। मानव अधिकारकर्मीले खासगरी विगतको द्वन्द्वको समयमा राज्य र विद्रोहीद्वारा बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न र त्यस समयमा गम्भीर अपराधका घटनामा संलग्न रहेका व्यक्तिलाई कारबाही गर्न माग गरेका थिए।

मानव अधिकारको उल्लङ्घन गरेको अभियोग लागेका नेपाली सेनाका महासेनानी राजु बस्नेतलाई सरकारले हालै गरेको बढुवा फिर्ता गर्नसमेत उनीहरूले माग गरेका छन्। धर्नापछि मानव अधिकारकर्मीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शनसमेत गरेका थिए।

सो अवसरमा प्रहरीले नियन्त्रणमा लिएका १४ जना प्रदर्शनकारीलाई केहीबेर नियन्त्रणमा लिएर छाडिसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.