उदयपुर जिल्लालाई अखण्ड राख्नुपर्ने सातदलको माग

11855867_564032400420854_1673878833334083237_nउदयपुर जिल्लाका मुख्य सात राजनीतिक दलहरुले उदयपुर जिल्लालाई अहिलेको १ नम्बर प्रदेशमा नै राख्नुपर्ने र कुनै पनि हालतमा टुक्र्याउन नहुने जिल्लागत रुपमा संयुक्त पार्टीगत निर्णय गरेका छन्।
भर्खरै राज्यको सीमाङ्कनमा उदयपुर जिल्लालाई १ नम्बर प्रदेशमा राखिएकाले सोही कायम हुनुपर्ने र यदि उदयपुरलाई २ नम्बर प्रदेशमा गाभिए वा अन्य कुनै प्रदेशमा समावेश गरिए जिल्लाका सात राजनीतिकदलले जस्तोसुकै आन्दोलन गर्नपनि पछिनपर्ने निर्णय गरेका छन्।
बिहीबार जिल्लाका मुख्य सात राजनीतिक दलहरुले नेपाली कांग्रेस उदयपुरको जिल्ला पार्टी कार्यालयमा भेला भई संयुक्तरुपमा यस्तो निर्णय गरेको सम्बन्धित दलका नेताहरुले बताएका छन्।।
अहिले सीमाङ्कन मिलाउने नाममा जिल्लाको तराईको चुरिया क्षेत्रको भाग काटेर २ नम्बर प्रदेशमा राख्ने षड्यन्त्र भइरहेको र जिल्लाको पहाडी भागमात्र १ नम्बर प्रदेशमा राख्ने योजना भएको भन्दै यस्तो कार्य हुनैनदिने सात राजनीतिक दलका नेताले प्रतिज्ञासमेत गरेका छन्।
यसरी उदयपुरलाई १ नम्बर प्रदेशमा नै राख्नुपर्ने मागगर्ने मुख्य जिल्लाका राजनीतिक दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकिकृत नेकपा (माओवादी), राष्ट्रिय जनमोर्चा नेपाल छन्।
अन्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी, चुरेभावर राष्ट्रिय पार्टी र नेकपा (माले) उदयपुर रहेको कुरा नेकपा (एमाले) उदयपुरका अध्यक्ष ईश्वरमणि राउतले बताए।
उदयपुरलाई अहिले १ नम्बर प्रदेशबाट २ नम्बर प्रदेशमा गाभ्ने माग भइरहेको, केही आन्दोलनकर्ताले उदयपुरलगायत सप्तरी, सिरहा, सुनसरी र मोरङ मिलाएर अर्को छुट्टै प्रदेश बनाउन पर्ने माग भइरहेको छ।
यसरी उदयपुरलाई टुक्र्याउने माग हुन थालेपछि जिल्लाका मुख्य सात राजनीतिक दलहरुले यस्तो निर्णय गर्नुपरेको कुरा नेपाली काँग्रेस उदयपुरका जिल्ला पार्टी सभापति हिमाल कार्कीले बताए।
कार्कीले भने, ‘उदयपुरवासीलाई १ नम्बर प्रदेशमा नै रहन ठीक छ, बरु तराईका सप्तरी र सिरहा पनि १ नम्बर प्रदेशमा गाभिए राम्रो हुन्छ, तर उदयपुरलाई अन्यत्र गाभिएमा उदयपुरे चुप लाग्ने छैनन्।’
यस्तै, एनेकपा (माओवादी) उदयपुरका अध्यक्ष भीम अधिकारीले पनि यस विषयमा यसरी आफ्ना धारणा राखे, ‘उदयपुर जिल्लालाई १ नम्बर प्रदेशमा रहन नै राम्रो छ, यसमा एकीकृत माओवादीले स्वागत गरेको छ, तर उदयपुरलाई सीमाङ्कन सुधार गर्ने बहानामा कुनै अन्य राज्यमा गाभिए आफूहरुलाई मान्य हुँदैन।’
केही दिन यतादेखि मधेसवादी आन्दोलनकारीमध्ये संयुक्त मधेसी मोर्चाले उदयपुर जिल्लालाई पनि २ नम्बर प्रदेशअन्तर्गत तराईका अन्य आठ जिल्लासंगै राख्नुपर्ने माग गर्दै आएका छन्।
यता, थारुहट संयुक्त सङ्घर्ष समितिले भने उदयपुर, सप्तरी, सिरहा, सुनसरी र मोरङलाई छुट्टै पूर्वी थारुहट प्रदेश बनाउनुपर्ने माग गर्दै आएका छन्।
विभिन्न आन्दोलनकारीले उदयपुरलाई अन्यत्र गाभ्नुपर्ने माग गरिरहेको बेला बिहीबार जिल्लाका मुख्य ठूला राजनीतिक दलहरुले भने उदयपुरलाई १ नम्बर प्रदेशमा नै राख्नुपर्ने भनी संयुक्त हस्ताक्षर गरेका छन्।
यसरी हस्ताक्षर गर्नेमा एकीकृत माओवादी उदयपुरका अध्यक्ष भीम अधिकारी, एमालेका जिल्ला अध्यक्ष ईश्वरमणि राउत, नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल कार्की छन्।
अन्यमा नेकपा (माले) उदयपुरका सहसचिव रामप्रसाद चौलागाईं, राष्ट्रिय जनमोर्चा उदयपुरका कोषाध्यक्ष जसी राई र चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष दिलीप निरौलाले अखण्ड उदयपुरमा संयुक्त हस्ताक्षर गर्नुभएको कुरा सम्बन्धित पदाधिकारीले बताए।
उदयपुरलाई अखण्ड राख्न र १ नम्बर प्रदेशमा नै राख्न आफूहरुले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको कुरा सम्बन्धित पार्टीका नेताले बताएका छन्। रासस

Leave a Reply

Your email address will not be published.