थरुहटले खोलेका शिक्षण संस्थालाई मधेसी मोर्चाले बन्द गरायो

Bardiya Protestआन्दोलनरत थारुहरुको संयुक्त संघर्ष समितिले आइतबार खुलाएका शिक्षण संस्थालाई मधेसी मोर्चाले अवरुद्ध गराएको छ। विभिन्न माग राख्दै समिति र मधेसी मोर्चाले विगत पाँच दिनदेखि बाँकेमा संयुक्तरुपमा आमहड्ताल जारी राखेका छन्।
विद्यार्थीको पठन पाठनलाई मध्यनजर गर्दै समितिले आइतबारबाट बाँकेका सबै शिक्षण संस्था खोल्न आह्वान गरेको थियो । समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले विज्ञप्तीमार्फत आह्वान गरेपछि आइतबार बिहानै शिक्षण संस्था सञ्चालनमा आएका थिए । तर, खुलेको आधा घण्टामै मधेसी मोर्चाका कार्यकर्ता पुगेर शिक्षण संस्था बन्द गराए। थरुहटले गरेको निर्णय विपरित मोर्चाले शिक्षण संस्था बन्द गराएपछि बिद्यार्थी र शिक्षकहरु निराश भएर घर फर्किए। खुलेका शिक्षण संस्था अचानक बन्द गराउँदा शिक्षक र बिद्यार्थी यतिबेला अन्योलमा परेका छन्।

संयुक्तरुपमा आन्दोलन गरिरहेका थरुहट र मधेसी मोर्चामध्ये एक पक्षले विद्यालय खोल्ने र अर्को पक्षले बन्द गर्न किन खोजे त ? मधेसी मोर्चाको आन्दोलन सम्हालेका तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले आन्दोलनका बेला बिद्यालय खोल्नु जोखिमपुर्ण हुने बताए। बालिकाको सुरक्षालाई मध्यनजर गर्दै खुलेका विद्यालयलाई आफूहरुले बन्द गराएको उनले प्रष्ट्याए। ‘आन्दोलन चर्किरहेका बेला सम्भावित घटनामा निर्दोश बालबालिका पर्न सक्ने खतराले गर्दा हामीले बिद्यालय बन्द गराएका हौं,’ मिश्रले भने।

यता समितिका संयोजक चन्द्रबहादुरले आफूहरुले विज्ञप्त निकालेर शिक्षण संस्था खोलिसकेकाले ढुक्क भएर खोल्न आग्रह गरे। ‘उहाँहरु(मधेसी मोर्चा)ले किन बन्द गराउनुभयो, त्यसको कारण हामीसँग छैन, तर हामीबाट शिक्षण संस्थामा कुनै किसिमको अवरोध हुनेछैन,’ चौधरीले भने। आफूहरुको निर्णयविरुद्ध मोर्चा प्रस्तुत भएकोमा कार्यगत एकता कायम राख्ने-नराख्ने भन्ने विषयमा आन्तरिक छलफल गर्ने उनले जानकारी दिए।

समितिले स्थानीय मानव अधिकारकर्मी, कानुन व्यवसायी बीचको छलफलमा पनि दुई दिनअघि विद्यालय तथा शैक्षिक संस्था खोल्न दिनेमा सहमति जनाएको थियो। बन्दमा विद्यालय तथा शैक्षिक संस्थाका सवारी साधन सञ्चालनमा सहयोग गर्ने, आन्दोलनमा बालबालिकाको सहभागिता हुन नदिने पनि सहमती जनाउँदै बन्दकर्ता फुलाराम थारु र विनोद थारुलगायतले हस्ताक्षर गरेका छन्।

‘एउटा पक्षले विद्यालय खोल्न भनेको छ, अर्को पक्षले बिद्यालय नखोल्न चेतावनी दिएको छ,’ एक शिक्षकले भने ‘सँगै आन्दोलन गरिरहेका बन्दकर्ताको नियत प्रष्ट बुझ्न सकिएन।’ आइतबार बिहानै बिद्यालय पुगेका बिद्यार्थी निराश भएर घर फर्केका छन्। आफूहरुलाई पढ्न पाउने अधिकारबाट बन्चित नगर्न विद्यार्थीहरुले माग गरेका छन्। नेपालगन्जस्थित महेन्द्र नमूना उच्च मावि कक्षा ७ मा अध्ययनरत छात्रा सुस्मिता शर्माले बन्दका कारण पढाइ अलपत्र परेको गुनासो गरिन्। ‘बन्दले गर्दा पढाई अवरुद्ध भएको छ, लगत्तै आउने परीक्षा कसरी दिने होला, चिन्ता लागिरहेको छ,’ उनले भनिन्।

सुस्मिताको मात्रै यो समस्या होइन्। मंगलप्रसाद उच्च माध्यामिक विद्यालयको कक्षा ९ मा पढ्ने मिना चौधरी पनि बन्दको मारमा आफूहरु परेको बताइन्। ‘स्कुल नगएको धेरै दिन भइसक्यो, कितावको कोर्स कत्तिपनि अगाडी बढ्न पाएको छैन,’ उनले भनिन्। पाँच दिनपछि आइतबार किताब, कापी बोकेर विद्यालय पुगेकी मिना मधेसी मोर्चाको अवरोधका कारण पढ्नै नपाएर घर फर्किन्। निरासा हुँदै उनले भनिन्, ‘बन्द, हड्ताल गर्नेले स्कुल खोल्न दिए धेरै राम्रो हुन्थ्यो।’

बन्दका कारण बाँकेका हजारौं विद्यार्थीको पढाई रोकिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ। विभिन्न राजनीतिक स्वार्थमा गरिने बन्दको मुख्य चपेटामा सिंगो विद्यार्थी परिरहेको शिक्षा कार्यालयका अधिकारी बताउँछन्। जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बन्दका कारण अधिकांस बिद्यालयको पठन पाठन अवरुद्ध भएको बताए। ग्रामिण क्षेत्रमा केही विद्यालय खुलेपनि शहरी क्षेत्रका सबै बिद्यालय ठप्प भएको उनको भनाइ छ। ‘एउटा पक्षले शिक्षण संस्था खोल्न दिन्छ, अर्को पक्षले बन्द गराउँछ, यसले गर्दा अन्यौलमा पर्यौ,’ जिशिअ साउदले भने।

कार्यालयका अनुसार जिल्लामा सामुदायिक र मदरसा विद्यालय ३ सय ८१ र संस्थागत विद्यालय १ सय ९१ सञ्चालितर छन्। यीमध्ये अधिकांश विद्यालयले साउनमा गर्नुपर्ने त्रैमासिक परीक्षा गरेका छैनन्। बालबालिकाको पढाईमा खेलवाड नगरिदिन बन्दकर्तालाई उनले आग्रह गरे।

नागरिकन्युजबाट

Leave a Reply

Your email address will not be published.