थरुहटमा संकट

CN Tharuसीएन थारु।
थरुहटको बहस चलेको दशक बढी भइसक्यो। थालनी नयाँ बहसको भए पनि मानसिकता पुरानै हो। हाम्रो सोँच, व्यवहार र आदत नै हाम्रो लागि बाधक बन्यो। अहिले पनि थरुहटको बहस चलिरहेको देखिन्छ तर उही पुरानै मोडलमा। अर्थात् दश वर्षअघि जे ज्ञान मिमांशीय स्तर थियो, अहिले पनि नयाँ आधारहरु केही दिन सकेको पाइँदैन। हामी पर्सेपसन र सत्यबीच अन्तर बुझ्न नसक्ने भएका छौं।

दोस्रो संविधानसभाको चुनावसँगै देखिएको शक्ति सन्तुलनबाट निश्चित भइसके कि नेपालको राजनीतिमा फेरि यथास्थितिवादी शक्तिहरु हाबी भए। संविधानसभाको त्यस खाले संरचनाबाट बन्ने संविधान प्रगतिशिल हुनै सक्दैन भन्ने अनुमान गरिएको पनि हो तर त्यसलाई रोक्नसक्ने ऊर्जा उत्पादन गर्न सकिएन। प्रष्ट थियो कि जिल्ला यथावत राख्ने मानसिकताले थरुहटको विषय गौण बन्नेछ। जिल्लाको सीमाना हेरेर अखण्ड नेपालको परिकल्पना गरेपछि थरुहटको बहस नयाँ ढङ्गले अगाडि बढन सकेन। त्यसकारण थरुहटको बुझाइ कमजोर जगमा रहेको वास्तविकता स्वीकार गर्न कठीन भए पनि अन्ततः सत्य सावित भयो।

कतिपय मित्रहरु थरुहटको नाममा राजनीतिक पार्टी नै चलाउन कोसिस गरे। उपरोक्त ज्ञानको कसीमा पार्टी बन्ने स्थिति नै थिएन। तर केही सभासद् पठाउन भने सफल भए। पार्टीको नाममा केही सभासद् सरकारी जागिरे भएका छन्। तर डेलिभरी गर्न नसक्दा विस्तारै खिइँदै गएको अथवा निष्कृयता बढदै गएको स्पष्ट देख्न सकिन्छ। अहिलेको संविधानमा पनि ३ प्रतिशत थ्रेसहोल्ड राख्ने बहसले धेरैको अस्तित्व गुम्ने खतरालाई बढाइदिएको छ। यसरी सभासदहरुले आफ्नै पार्टीको मृत्यु पत्रमा हस्ताक्षर गर्ने भएका छन्। अहोरात्र खटने नेता तथा कार्यकर्ताहरु पार्टीको त्यो स्थितिलाई कसरी सहने? यो अनुतरित प्रश्नले पनि थरुहटमा संकटको स्थिति प्रष्ट गरेको छ।

थरुहट के हो?

(१) थरुहट भूगोल हो- ‘मत पानी में डुब, मत जहर खा। मरे के होखे त थरुहट जा।’ यो भनाइ वर्तमान नेपाल राज्य निर्माण हुनुभन्दा अगाडिको हो। थरुहट भूमिमा दक्षिणबाट आउने प्रवासीका लागि पनि मृत्युवरण गर्ने ठाउँ सावित हुनु र उत्तर तिरबाट साहासिक यात्राको रुपमा मात्र प्रवेश गर्नुले यो विशिष्ट भूगोल रहेको बुझिन्छ।

(२) थरुहट राजनीति हो- थरुहट राजनीति हो भन्नुको अर्थ थरुहटले वर्तमान समाजमा रहेको संकट समाधानमा सहयोगी बन्न सक्नुपर्छ। पहिचान र सामर्थ्यको आधारमा संघीय इकाइहरु निर्माण गर्ने संकल्प गरे पनि थरुहटले जातीय द्वेष ल्याउने र राष्ट्रिय हित नगर्ने तर्क चलिरहेकै छ। त्यसो भए कसरी थरुहटले सबैको अधिकार सुनिश्चित गर्ने र जातीय सहअस्तित्व कायम गर्ने होला? सबाल उठेको छ। थरुहट राजनीतिको पेचिलो सबाल यही नै हो र यसको चित बुझ्दो जवाफ दिनु परेको छ। प्रा. कञ्चन चन्द्रको भनाइअनुसार- ‘यदि जातीय पार्टीहरुलाई संस्थागत रुपमा प्रोत्साहित गरेको खण्डमा जातीय पार्टीहरुले लोकतन्त्रलाई दीगो बनाउँछ, आउटविडिङलाई आउटविडिङ मोडलले मानिआएको एकल आयामिक जातीय पहिचानलाई वहुआयामिक पहिचानद्वारा प्रतिष्ठापन गरि उल्टाउन सकिन्छ… यो स्पष्ट छ कि लोकतन्त्रको स्थायीत्वलाई खतरा जातीय विभाजनको आन्तरिक स्वभावबाट आउँदैन बरु संस्थागत सन्दर्भ जसभित्र जातीय राजनीतिले स्थान लिन्छ। त्यस एकल आयामतर्फ सिमित गर्छ र लोकतन्त्रलाई अस्थिर बनाउँछ। जबकि संस्थाहरु जसले जातीय पहिचानको बहुआयामहरुलाई बढावा दिन्छ लोकतन्त्रलाई दीगो बनाउँछ।’
उपरोक्त भनाइबाट प्रष्ट हुन्छ कि थरुहट राजनीतिले थरुहट प्राप्तीको आन्दोलनको एकल आयामिक जातीय पहिचानलाई बहुआयामिकद्वारा प्रतिष्ठापन गरी उल्टाउनु परेको छ। वर्तमान नेपाल राज्यले यसको लागि लोकतान्त्रिक संस्थाहरु जसले जातीय पहिचानको बहुआयामिकतालाई बढावा दिन्छ ती संस्थाहरुको प्रबर्द्धन गर्नुपर्छ। लोकतन्त्रलाई दीगो बनाउने थरुहटको यस प्रकारको राजनीतिले समाजमा रहेको संकट समाधान गर्न सहयोग पुर्यारउँछ।

Tharuhat

(३) थरुहट इतिहास हो- थरुहटको इतिहास अन्ततः जाति-वर्ग संघर्षको इतिहास हो। नेपालको भौगोलिक एकीकरण पश्चात विजेताहरु शासक भए भने बाँकी रैती भए। सबै जमीनको उत्पादन र उत्पादकत्व रैतीले परिश्रम गरी बढाउनुपर्ने र राजाको सुखभोगको लागि पछि अभिशेष गनुपर्ने बाध्यता आइलाग्यो। यसले वर्गीयरुपमा नै समाज विभाजन गर्नपुग्यो तर अर्कोतर्फ थरुहटको बासिन्दालाई मासिने मतवाली तथा अछुतको रुपमा व्यवहार गर्ने गरेपछि जातीय तहगत संरचना पनि अभिजात वर्गसँग जातीय संघर्ष बढाइरहे। त्योभन्दा अगाडि पनि सामन्ति शासकहरुले वर्णाश्रम हिन्दू विधि शास्त्र प्रयोग गरी व्यवहार गर्थे। ती सब व्यवहारविरुद्ध पटक-पटक संघर्ष हुँदै आएको पनि हो। जातीय सफायासम्मको स्थिति थारुले इतिहासमा व्यहोर्न पुगे। मुसलमान आक्रमण इतिहासको डरलाग्दो घटना भएर आयो। त्यो सबै खेपेर पनि थरुहट आफ्नै पहिचानमा हालः पर्यन्त बाँच्न सफल भएको छ।

(४) थरुहट अर्थराजनीति हो- थरुहट अर्थराजनीति पनि हो। यहाँ अनियन्त्रितरुपमा गिटी बालुवाको व्यवसाय गर्न राज्यले छुट दिने हो भने थरुहट एउटा मरुभूमि बन्न पुग्ने पक्का छ। प्राकृतिक सम्पदाको धनी थरुहट सांस्कृतिक विविधताको पनि उतिकै समृद्धि पाएको छ। थरुहटमा डोमदेखि थारुको आफ्नै राजनीतिक सत्ता रहिआएको छ। उनीहरु वर्तमान राज्यको कानुन नबुझेर होइन बरु यो राज्यको कानुन परपीडक भएको महसुस गरेर आफ्नो सत्तालाई छोड्न सकेको छैन। राज्यको यतातिर वास्ता छैन, किनकि ती अनौपचारिक सत्ता वर्तमान राज्यको विकल्प पनि हो सम्बन्धित जाति समुदायका लागि। अब यी सत्ताहरुको इन्टीग्रेसन नखोजी सुख छैन। बरघरलाई गाउँपालिका अथवा वडाको निर्णाक तहमा प्रतिनिधित्व गराएर पुग्दैन उनीहरुको बहुआयामिकतालाई स्वीकार गर्दै पूर्ण लोकतान्त्रिक अधिकार प्रदान गर्नुपर्छ। यसले दीगो शान्ति र विकासको ढोका उघार्छ।

अन्त्यमा,
आवेगमा आएर सुरु सुरुमा जाति-राष्ट्रियताको वकालत गर्दै थरुहटको बुझाइ बन्यो। एकल आयामिकतालाई जोड दिँदै आउट विडिङ मोडेलमा आन्दोलनको माग अगाडि बढ्दा अन्तरविरोध सिर्जना हुन पुगी आन्दोलन लक्ष्यमा पुग्न सकेन। बरु नेतृत्वकर्ताहरु पलायनको बाटो रोजे। दुःखको साथ भन्नुपर्छ आज अनिश्चिता र अविश्वासको चौतर्फी धक्का व्यहोर्नुपरेको छ। त्यसैले नयाँ संश्लेषण जरुरी भएको छ।

नयाँ नेपालको परिकल्पनासँगै नयाँ संश्लेषण हुनसके थरुहटको बुझाइ पूर्ण लोकतन्त्रलाई व्यवहारिक बनाउने गरी सहयोगी बन्न सक्छ। किनकि वास्तविकता यो छ कि आदिवासी जनसंख्या ज्यादातर इतिहासको दुर्घटनाले बनेको उनीहरुको मालिकसँग उनीहरुलाई शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार गर्न अनिच्छुक देखिन्छ। नेपालमा देखिएका यस प्रकारको अन्तरविरोधको समाधान अबको राजनीतिले दिन सक्नुपर्छ। समाधानको उपाय भनेको बरघर/महतवा प्रणालीलाई रिफोर्म र रिइन्टिग्रेसन गरेर लैजान सक्नुपर्छ। देखावटीरुपमा बरघरलाई नीति निर्माणको तहमा प्रतिनिधित्व गराएर समाधान दिनुको तुक छैन। अब नयाँ नेपालमा रुपमा परिवर्तन गरेर हुँदैन राज्यको सारमा नै परिवर्तन गर्नुपरेको छ। अर्थात् बहुलराष्ट्रिय राज्य नेपाल बन्नु विकल्प देखिँदैन।

One thought on “थरुहटमा संकट

  1. थरुवान डटकममा सिएन जी लेख्नु भएको थरुहटमा संकट शिर्षकको लेख ज्यादै पठनीय, मननीय छ । थरुहट प्रति आम जनताको चासो, चिन्ता, भ्रम चिर्दै लेखिएको यस लेखले आम जनसमुदायामा सचेतीकरण एवं सु–सूचीत गराउन सवल टेवा पु¥याएको छ । उहाँले लेख्नु भएको केही कतिपय कुरामा सहमत रहे पनि ‘कतिपय साथिहरु थरुहटको नाममा राजनीतिक पार्टी खोले । उपरोक्त ज्ञानको कसीमा हेर्ने हो भने पार्टी बन्ने स्थिति नै थिएन, सभासद पठाउन सफल भए पनि उनीहरुको भूमिकाको सम्बन्धमा उठाएको सवाल’ प्रति म सहमत छैन ।
    थरुहट आन्दोलन पश्चात सेन्टिमेन्टलाई क्याच गर्दै राष्ट्रिय पार्टी बनाउनको लागि सबै थरुहट आन्दोलनका शक्तिहरुलाई समेटर बनाउन प्रयास गरियो तर दुर्भाग्य थरुहटका नेताहरु एक अर्काको सहअस्तित्व स्वीकार्न नसकेको कारण सम्भव हुन सकेन । हामीलाई के लाग्छ भने जबसम्म राजनीतिक शक्ति बनेर राज्यसत्तामा प्रतिनिधित्व हुनसक्दैन तबसम्म सडकमा मात्रै संघर्ष गरेर अधिकार प्राप्ति हुनसक्दैन । पार्टी खोलेर स्रविधानसभामा केही प्रिितनिधित्व पठाउन सकेपनि एउटा सकारात्मक उपलब्धिको रुपमा लिनु पर्दछ । सानादलबाट सिमित प्रतिनिधित्व गराए पनि उनीहरुले हाम्रा मुद्धा तथा सवालहरु जोरदाररुपमा उठाई नैरहेका छन् । तर नीयत खराब भएका यो मुलुकमा शासकहरु यसलाई सम्बोधन गर्न गराउनबाट जालझेलका कार्यहरु गरिरहेका जुन सबैलाई थाहै छ । यसर्थ मलाई लाग्छ अबहामी सबै पहिचानवादी संघीयतावादी शक्तिहरु सबै एकजुट भई सडक र सदन दुबैमा सशक्त संघर्ष गर्दै जाऔं । यसैबाट हामी थरुहटको सुनिश्चित्तता गर्न सक्छौं ।
    जय थरुहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *