कैलालीका थारुले जलाए संविधानको मस्यौदा

CA Draft

थारु कल्याणकारिणी सभा कैलाली क्षेत्र न. १ का थारु समुदायले संविधानको मस्यौदा जलाएका छन्। कार्यक्रमको अगुवाई केन्द्रीय पार्षद लालबीर चौधरीले गरेका थिए। कार्यक्रममा उपस्थित अधिकांशले अधिकारविहीन मस्यौदाको कुनै काम नरहेको बताएका थिए। कोण सभामा करिब ५ सय नागरिक उपस्थित थिए।
जुलुस नाराबाजी गर्दै, थारु कल्याणकारिणी सभाको कार्यालयबाट दिनको १२ बजे निस्केर खानेपानी ट्याँकी, सामुदायिक एफएम, जमरा नदीको काठेपुल हुँदै टीकापुर बहुमुखी क्याम्पस पुगेको थियो। सुझाव संकलन भैरहेको क्याम्पस हाताभित्र प्रहरीले प्रवेश गर्न नदिएपछि सहभागीहरु क्याम्पसको गेटमै कोण सभा गरेका थिए।
कोण सभालाई सम्बोधन गर्दै विकास चौधरीले संविधानलाई पञ्चायतकालीन संविधानको संज्ञा दिँदै जनविरोधी संविधानलाई कुनै हालतमा नस्वीकारिने, यदि जारी भयो भने ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका थिए।
केन्द्रीय पार्षद लालबीर चौधरीले अन्तरिम संविधानमा भएको अधिकारसमेत मस्यौदामा नरहेको, नामांकन र सीमांकन बिना नै संविधान सभाको हत्याको ब्यवस्था गरेको, सर्वोच्च अदालतको आदेशलाई समेत उल्लंघन गरी निरङ्कुशतासँगै जन्म लिएकोले निरङ्कुश संविधानको मस्यौदालाई जलाउनुको कुनै विकल्प नरहेको बताए।
उनले ४ दलका ४ नेताहरु आदिवासी थारुहरुलाई थरुहटमै दास बनाउने प्रपञ्च गरेकाले आन्दोलनको लागि तयार रहन आह्वान गरे। साथै अधिकार सम्पन्न थरुहट प्रदेशको ग्यारेण्टि नभए देशमा ठूलो अशान्ति हुने चेतावनी दिंदै सभाको समापन गरे र मस्यौदा जलाए।

Leave a Reply

Your email address will not be published.