‘प्रीतक फूल’का निर्देशक परशुराम चौधरी सम्मानित

20150711_131316चलचित्र विकास बोर्डले आठवटा आदिवासी फिल्मलाई सम्मान गरेको छ। बोर्डको मातहतमा रहेको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले शनिबार बोर्डकै प्रेक्षालयमा गरेको कार्यक्रममा आठ फिल्मका निर्माण टोली सम्मानित भएका हुन्।
विभिन्न जातीय चलचित्र संगठनको सिफारिसमा छानिएका फिल्महरुलाई सम्मानित गरिएको समितिका अध्यक्ष युवराज मास्कीले बताए। विनोद बज्राचार्यद्वारा निर्देशित नेवार फिल्म ‘छ हे मदुसा’, परशुराम चौधरीको थारु फिल्म ‘प्रीतक फूल’, रवि सेर्माको लिम्बु फिल्म ‘केवा कोक्मा’, वेदबहादुर गुरुङको गुरुङ फिल्म ‘युम्पो देउराली’, अमिर दोङको तामाङ फिल्म ‘म्हेन्दो’, विनोद श्रेष्ठको राई फिल्म ‘मतान’, आशीष सुनुवारको सुनुवार फिल्म ‘क्योङ’ र मेजन पुनको मगर फिल्म ‘रैंया’ निर्माण गरेवापत सम्बन्धित निर्माताहरुलाई विकास बोर्डका अध्यक्ष राजकुमार राईले सम्मानपत्र प्रदान गरे।

भविष्यका सन्ततिलाई नेपालको मौलिक वेशभुषा र भाषा कस्तो थियो भन्ने कुरा बुझाउन आदिवासी फिल्मले प्रभावकारी भूमिका खेल्नसक्ने बताउँदै समितिकी सदस्य रेणु चौधरीले सहभागी तथा अतिथिहरुलाई स्वागत गरिन्।

विभिन्न जातीय नृत्यहरु समेत प्रस्तुत गरिएको कार्यक्रममा थारु फिल्मकर्मी परशुराम चौधरीले २०४६ सालमा पहिलो थारु फिल्म ‘करम’ बनाउँदाको अनुभव सुनाए। ‘फिल्म दर्ता गर्न जाँदा मधेशमा भोजपुरी र मैथिली भाषामा हुन्छ होइन र? थारु भाषा पनि हुन्छ र भनेर सञ्चार मन्त्रालयले सोधेको थियो, पछि त्रिभुवन विश्वविद्यालयका कृष्णहरि बरालले थारु पनि छुट्टै भाषा हो भनेर भन्नुभएपछि मैले थारु भाषाको फिल्मको अनुमति पाएको हुँ,’ उनले भने। उनका अनुसार त्यसलगत्तै भएको भिडियो फिल्म अवार्ड कार्यक्रममा ‘करम’ले १३ विधामा मनोनित हुँदै पाँच विधामा जित हासिल गरेको थियो।

आदिवासी फिल्मको बजार प्रवर्द्धनका लागि समितिले यो सम्मान कार्यक्रम गरेको र भविष्यमा अझ प्रभावकारी कार्यक्रम गर्दैजाने योजना रहेको सदस्य अरुण प्रधानले अवगत गराए।

चलचित्र विकास बोर्डले आदिवासी फिल्म तथा फिल्मकर्मीहरुको समस्या पहिचान गरी समाधान गर्न चाहेको र उनीहरुलाई हौसला दिलाउन सम्मानित गरिएको बोर्डका अध्यक्ष राजकुमार राईले बताए। कार्यक्रममा प्रितम गुरुङ, प्रतिमाया पुन, वेदबहादुर गुरुङ र सम्मानित फिल्मका निर्देशकहरुले पनि बोलेका थिए।

Leave a Reply

Your email address will not be published.