ज्याभ्लिन थ्रोमा एपिएफकी सिमाकुमारी थारुको कीर्तिमान

Simakumari Chaudhary

राष्ट्रिय खेलाडीको वरियता निर्धारणका लागि आयोजना गरिएको राष्ट्रिय टाइम टे्रेल प्रतिस्पर्धाका दौरान आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। नेपाल एथलेटिक्स संघको आयोजना भएको प्रतियोगिताको दोस्रो दिन पुरुष हाइजम्पमा नेपाली सेनाका सूर्य खत्रीले, महिला ज्याभ्लिन थ्रोमा एपिएफकी सिमाकुमारी थारुले र महिला डिस्कस थ्रोमा सेनाकी अमृता महतोले नयाँ कीर्तिमान बनाएका हुन्। कीर्तिमानी तीनै खेलाडी अहिले राष्ट्रिय टोलीकोप्रशिक्षणमा छन्।

बालकृष्ण चौधरीको कीर्तिमान तोड्ने क्रममा १.९८ मिटर उचाइ नाघ्दै सूर्यले राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यसअघि बालकृष्णको नाममा १.९७ मिटरको कीर्तिमान थियो।

एपिएफकी सिमाले आफ्नो पुरानो कीर्तिमानलाई साढे ३ मिटरले पछाडी पारेकी छिन्। दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मा सिमाले ज्याभ्लिन थ्रो ४३ मिटर टाढा फालेकी थिइन्। सोही इभेन्टमा नेपाल पुलिसकी चन्द्रकला लामकादेले पनि सिमाको पुरानो कीर्तिमानलाई तोड्ने क्रममा ४२.३३ मिटरको प्रदर्शन गरिन्।

डिस्कस थ्रोमा अमृताले आफ्नै कीर्तिमान तोड्ने क्रममा झन्डै साढे ५ मिटरको सुधार गरेकी छिन्। उनले ३९.८२ मिटरको नयाँ कीर्तिमान बनाएकी छिन्। यसअघि उनको नाममा ३४.३७ मिटरको कीर्तिमान थियो।

संघले पहिलो पटक खेलाडीको वरियता निर्धारणका लागि आन्तरिक प्रतिस्पर्धा गराएको हो। प्रशिक्षणमा रहेका १५ खेलाडी अहिले वरियताको प्रतिस्पर्धामा समावेश भइरहेका छन्। ‘बन्द प्रशिक्षणमा रहेका खेलाडीबीच आन्तरिक प्रतिस्पर्धाको भावना विकास होस् भन्नका लागि पनि हामीले वरियता क्रम निर्धारण गर्न खोजेका हौं,’ एथलेटिक्सका प्रमुख प्रशिक्षक शुसिल नरसिंह राणाले भने, ‘दीर्घकालिन लक्ष्यका साथ र खेलाडीले आफ्नो बारेमा जानकारी पाउन भन्नका लागि यो महत्वपूर्ण हुन्छ भन्ने हाम्रो विश्वार हो।’ नयाँ ढंगले अघि बढ्न नसके एथलेटिक्समा अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने राणाको तर्क छ।

राणाले अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ) को स्कोरिङ पद्धती, राष्ट्रिय कीर्तिमान र दक्षिण एसियाली खेलकुदमा कास्य पदक जित्ने खेलाडीको नजिकको प्रदर्शनका आधारमा वरियता क्रम निर्धारण हुने बताए। उनले भने,’ यी तीन तरिकाबाट खेलाडीको प्रदर्शनको विश्लेषण पछि मात्र वरियता क्रम निर्धारण हुन्छ।’

थाइल्यान्डमा विशेष प्रशिक्षण

एथलेटिक्सका ८ खेलाडी ४० दिन सम्म थाइल्यान्डमा रहि प्रशिक्षण गर्नुका साथै र प्रतियोगितामा समेत भाग लिने भएका छन्। एसियाली एथलेटिक्स महासंघ र थाइल्यान्ड एथलेटिक्स संघको १६ हजार अमेरिकी डलरको सहयोगमा नेपाली खेलाडीले प्रशिक्षण र प्रतियोगिताको अवसर पाउन लागेको एथलेटिक्स संघका उपाध्यक्ष समेत रहेका शुसिलनर सिंह राणाले जानकारी दिए।

अहिले वरियता प्रतिस्पर्धामा भाग लिएका १५ मध्येबाट ८ खेलाडी थाइल्यान्ड जानेछन्। नेपाली खेलाडीले अगस्ट १ देखि सेप्टेम्बर २ सम्म प्रशिक्षण लिनेछन्। त्यसपछि सेप्टेम्बर ३ देखि १० सम्म हुने थाइ ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। केही महिनाअघि संघका अध्यक्ष राजीव शाह एसियाली एथलेटिक्स महासंघको साधारण सभामा भाग लिने क्रममा महासंघले १० हजार र थाइल्यान्डको संघले ६ हजार अमेरिकी डलर सहयोग गर्ने वचन दिएका थिए। संघका प्राविधिक निर्देशक राणाले त्यहि योजना अनुसार खेलाडी प्रशिक्षणमा जान लागेको बताएका छन्।

Leave a Reply

Your email address will not be published.