किन बन्द भयो गुम्राह थारु साँस्कृतिक संग्राहलय ?

सन्तोष दहित
घोराहीदेखि दुई किलोमिटर दक्षिण पनौरा गाउँको पूर्वतिर करिब सय मिटर अगाडि थारु संग्राहलय छ। पूर्खाहरुले मान्दै आएका चालचलन, संस्कृति, रीतिरिवाज र भेषभूषालाई संरक्षण गर्ने उद्देश्यले २०६६ असार १७ गतेका दिन गुम्राह थारु साँस्कृतिक संग्राहलय स्थापना गरिएको थियो। करिब आठ लाख बराबरको लगानीमा स्थापना गरिएको संग्रहालयको उद्घालटन पूर्व सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले गरेका थिए। तर, केही वर्षदेखि यो संग्राहलय बन्द अवस्थामा छ।
Tharu Sangrahalya 01

२०१७ सालको पञ्चायतविरुद्ध आन्दोलनमा किसान नेता गुम्राह थारुले ज्यान गुमाएका थिए। लक्ष्मीपुर गाविस वडा नं. ६ बेलुवा बन्जाडेका थारु लामो समयसम्म किसानहरुको पक्षमा आवाज उठाइरहेका बेला उनलाई गोली हानी हत्या गरियो। हत्यापछि उनलाई एमालेले सहिद घोषणा गर्योी। उनै सहिद गुम्राह थारुको सालिक घोराहीमा पनि स्थापना गरिएको छ। उनको सम्झनालाई अझै कालजयी बनाउन दाङका थारुहरुले उनको नाममा संग्रहालय स्थापना गरे।

त्यतिमात्र नभएर, थारु जातिहरुले आफूहरु माथि दमन र ज्यादती सहन नसकेपछि बुह्रान (दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) जान लागेको बेला बस्तुगत चित्रको माध्यमबाट अरुलाई पनि जानकारी दिने उद्देश्यले थारु समुदायको कतिपय परम्परागत सामग्री र केही नयाँ सामग्री बनाएर संग्राहलयमा राखिएको छ।

त्यस्तै थारु जातिले प्रयोग गर्दै आएको माटोका भाँडा, माटोका गाग्री, भात पकाउने माटोका भोक्टी, तरकारी, दाल, मार पकाउने माटोका भोक्टी, काठको डाडु, चकिया, खोङ्ग्या, छटरी, हलो, जुवा, माटोका देवीदेवता, पूर्खाहरुले लगाउँदै आएका ‘पौवा’ चप्पल, थारु जातिका पूर्खाहरुले चुरोट खाने माटोको हुक्का चिलिम, हेल्का, डेल्वा, बन्ठी, धान कुट्ने ढेकी, मादल, मन्जौरा, लेहेँगालगायत थारु संस्कृति र परम्परा झल्काउने करिब तीन सय थान वस्तुहरु
संग्राहलयमा छन्। उक्त वस्तुगत चित्रबाट सजिलै दाङबाट (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत) बुह्रान बसाइसराइ गएको अनुमान गर्न सकिन्छ।

संग्राहलयको वस्तुगत चित्रमा थारु जातिले लगाउने मौलिक भेषहरुलाई समावेश गरिएको छ। त्यतिबेलाका थारु जातिले लगाउँदै आएको पुरुषले लगाउने ‘भेग्वा, चौबन्दी, पौवा, टोपी’ लगायत र महिलाले लगाउने गुन्यु ‘गोन्या, फरिया’ र ‘बलाउज’ लगाएर महिलाले टाउकामा लुगा, अन्नबाली र पुरुषले ‘भौका’ र अन्य सामान बोकेर बुह्रान (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) जिल्लामा चार पाँच दिनसम्म भोकै पेट हिँडेर आफूले बनाएका सम्पत्ति छोडेर जान लागेको चित्रबाट बुझ्न सकिन्छ।

Tharu Sangrahalya 02

त्यतिबेला भूमिको मौलिक थारु जाति अहिले अरु जातिको रैति र दासी बन्नुपर्दा कसलाई दुःख नलाग्ला र। यही विषयलाई अध्ययन गर्न सजिलो होस् र थारु समुदाय वर्षौदेखि दाङको भूमिमा बस्दै आएको इतिहासलाई कायम गर्नका लागि पनि यो संग्राहलयमा राखिएको वस्तुगत चित्रले आउने नयाँ  पुस्तालाई थारु जातिको पूर्खाहरुको इतिहासलाई अनुसन्धान गर्न संग्राहलयले धेरै मद्दत गर्नेछ।

त्यही संग्राहलय अवलोकनका लागि विद्यार्थीको हकमा ५ रुपैयाँ, सर्वसाधारणको लागि रु. २० रुपैयाँ र विदेशी पर्यटकका लागि भने ५० रुपैयाँ शुल्क लिने निर्णय भए पनि त्यो कार्यान्वयनमा आएन। संग्राहलयको स्थापनासँगै केही वर्ष पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्मको थारु जातिलगायत अन्य जातिका समुदायले पनि संग्राहलयको अवलोकन गर्न आउने गरेको तर सधैंजसो संग्राहलय बन्द भएपछि अवलोकन गर्न आउने पर्यटकहरु पनि फर्केर जाने गरेका छन्।

खासगरी यो स्थापना भइसकेको संग्राहलयको सम्पत्तिको रेखदेख तथा संरक्षण र प्रवर्द्धन गर्ने स्थानीय निकायमा रहेका जिल्ला विकास समिति, घोराही नगरपालिका, जिल्ला पर्यटन विकास समितिको मुख्य दायित्व हो। थारु जातिको एउटामात्र गुम्राह थारु साँस्कृतिक संग्राहलयको संरक्षण र प्रवर्द्धन लागि स्थानीय निकायलाई घच्घच्याउन थारु जाति एक हुनपर्ने जरुरी छ। जबसम्म थारु समुदायकाले आवाज उठाउँदैनन्, तबसम्म ती निकायले चाल गर्ने छैनन्।

यदि थारु जातिको एउटा मात्र संग्राहलयलाई व्यवस्थित गरेर संरक्षण र प्रवर्द्धन गरिनुको साथै प्रचारप्रसार गर्ने हो भने दाङ जिल्लालाई पर्यटकीयरुपमा विकास गर्न टठेवा पुग्नेछ । त्यसैले स्थानीय निकायमा रहेका घोराही नगरपालिका, जिल्ला विकास समिति, सम्बन्धित सरोकार राख्ने संघसंस्था, व्यक्तिहरुले संग्राहलयको तत्काल अनुगमन गरी त्यहाँ देखिएको समस्या समाधानका लागि अविलम्व काम थालिनुपर्छ।

Leave a Reply

Your email address will not be published.