सिकलसेलका लागि ३७ लाख बजेट आयो

मुकेश टेंर्रा।
धनगढी- पश्चिम तराईमा महामारीको रुपमा फैलिएको सिकलसेल एनिमियाको निःशुल्क उपचार र मेसिन खरिदका लागि बजेट आएको छ। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिकलसेल भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्न बजेट छुट्याएको छ। सो बजेट खर्च गर्न सेती अञ्चल अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते मात्रै अख्तियारी दिएको छ।
आर्थिक वर्षको अन्तमा मात्रै ३२ लाख रुपैयाँ हेमोग्लोविन इलेक्ट्रोफोरेसी (एचपिएलसि) नामक मेसिन खरिद र पाँच लाख रुपैयाँ औषधी उपचारका लागि बजेट आएको छ। एक जना सिकलसेल भएका बिरामीलाई एक लाख रुपैयाँसम्मको निःशुल्क औषधी उपचार गर्न अस्पताललाई पाँच लाख रुपैयाँको अख्तियारी आएको हो।
Sickle-Cell

यस आर्थिक वर्षमा मेसिन खरिद गर्न नसक्ने अस्पतालले जनाएको छ। सेती अञ्चल अस्पतालको लेखा अधिकृत लोचनराज रेग्मीले टेन्डरबाट मेसिन किन्नु पर्ने भएकाले टेन्डर स्वीकृत गर्न नै एक महिना लाग्ने छ।
‘अनुगमन मुल्यांकन तथा योजना सुदृढिकरण शिर्षक अन्तरगत एचपिएलसि मेसिन किन्न अख्तियारी आएको छ,’ लेखा अधिकृत रेग्मीले भने, ‘अर्को वर्ष पनि मन्त्रालयले यो बजेट पठाइदिन्छ भने मात्रै मेसिन किन्नका लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ।’
अर्को वर्ष पनि बजेट बिनियोजन गरी दिन आग्रह सहित अस्पतालले मन्त्रालयलाई प्रक्रिया अगाडि बढाउन स्वीकृतीका लागि पत्र समेत पठाइसकेको छ। ‘सिकलसेलको संक्रमण पत्ता लगाउन सो मेसिन किन्ने एकदमै आवश्यक छ,’ थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरीले भने, ‘अस्पतालले मेसिन किन्ने प्रक्रिया चाँडै अगाडि बढाओस्। अर्को वर्ष पनि मन्त्रालयलाई यो बजेट बिनियोजन गर्न दवाव दिन जरुरी छ।’
एचपिएलसि मेसिनको अभावमा रगत परीक्षणको लागि सेती अञ्चल अस्पतालले काठमाडौं पठाउने गरेको छ। काठमाडौंबाट रिपोर्ट आउन एक हप्ता लाग्ने गरेको सेती अञ्चल अस्पतालका बरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले बताए। रिपोर्ट नआउँदासम्म डाक्टरले अनुमानका भरमा औषधी गर्ने गरेका छन्। ‘काठमाडौंबाट रगतको रिपोर्ट आउन एक हप्ता लाग्छ। हामीलाई ९९ प्रतिशत अनुमान भइसकेको हुन्छ र त्यसैको आधारमा उपचार गर्ने गरेका छौं। एक सातापछि रिपोर्ट आएपछि कन्फर्म हुन्छ,’ डा. कायस्थले भने, ‘अस्पतालमै मेसिन भएमा तत्काल रोग एकीन गरी उपचार गर्न मद्दत पुग्नेछ।’
अञ्चल अस्पताललाई सिकलसेलका विरामीलाई निःशुल्क उपचार सेवा दिन समेत अख्तियारी नआएकाले अहिलेसम्म विरामीले आफै औषधी तथा उपचार खर्च ब्यहोर्दै आएका छन्। हालसम्म कुनै पनि सिकलसेलका बिरामीले सरकारी स्तरबाट निःशुल्क औषधी र उपचार पाएका छैनन्।
तर, बजेटको अख्तियारी आइसकेकाले असार ६ गते (आइतबार)देखि सिकलसेलका बिरामीलाई अस्पताले नै निःशुल्क औषधी दिनुका साथै उपचार शुल्क पनि नलिने अस्पतालका सिकलसेल एनिमिया फोकल पर्सन यशोदा ढकालले बताइन्। उनका अनुसार सेती अञ्चल अस्पतालबाट एक सय बढि जनाले सिकलसेलको उपचार गराएका छन्। तर कसैले पनि निःशुल्क औषधी उपचार भएको छैन। उनले उपचार गराएका मध्ये ३४ जनाले मात्रै अस्पतालमा सिफारिस सहित बिल भरपाई अस्पतालमा पेश गरेका छन्। उनीहरुले अहिलेसम्म गरेको उपचार खर्च फिर्ता गरिने ढकालले बताइन्।
सिकलसेल लागेको प्रमाणित भएपछि निःशुल्क औषधी उपचार सेवा लिनका लागि गाविस, नगरपालिकाबाट बिपन्न नागरिक भएको सिफारिस लिएर जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रमाणित गराई अस्पतालबाट सेवा लिनुपर्ने लामो र झन्झटिलो प्रक्रिया छ। सिफारिस लिन सबैको पहुँच नपुग्ने भएकाले निःशुल्क उपचारका लागि आएको पाँच लाख रुपैयाँसमेत खर्च हुन नसक्ने थारु कल्याणकारिणी सभाका अध्यक्ष चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.