सफलतासँगै मुक्तिको खुसी, पूर्वकमलरी सीमा भन्छिन्- ‘म पनि एसएलसी पास भएँ’

देवेन्द्र बस्नेत।

‘म पनि एसएलसी पास भएँ, बल्ल बच्ने भएँ,’ यसो भनिरहँदा दाङ, नारायणपुरकी सीमा चौधरीका आँखाबाट आँसुको ठूलै ढिक्को फुटेर बहन थालिसकेको थियो।
यो आँसु दुःखको होइन भने होइन, हर्षको, त्यो पनि दोहोरो।
पूर्वकमलरी सीमा यतिबेला यति हर्षविभोर थिइन् कि चाहेर पनि आँखामा ओइरिएको हर्षको अभिव्यक्ति रोक्न सकिरहेकी थिइनन्।

‘एसएलसी फेल भएकी भए अहिलेसम्म मेरो मोलमोलाइ सुरु भइसक्थ्यो होला,’ सीमाले लामो सास फेर्दै भनिन्, ‘धन्य! बचेँ।’
पूर्वकमलरी सीमालाई उनकी आमा राधी चौधरीले पहिल्यै भनिसकेकी थिइन्– फेल भए तिमी तुरुन्तै कमलरी जानुपर्छ।’
आमाको सर्त सम्झँदा उनको मन कुँडिएर आउँथ्यो। कमलरी जीवनमा भोगेका दुःखपीडाका सम्झनाले मात्र मन भतभती पोल्थ्यो। फेल भए फेरि त्यही ‘नरक’ मा फर्कनुपर्ने भयले झस्किरहन्थिन् उनी।
Sima Chaudharyधन्य! त्यसो भएन। सीमा पास भइन्, द्वित्तीय श्रेणीमा। एसएलसी नतिजाले उनलाई कमलरी दासताबाट समेत ‘मुक्ति’ दिलायो।
उनीजस्ता १०–१२ जना पूर्वकमलरी किशोरी एसएलसी उत्तीर्ण हुँदा दोहोरो खुसी मनाइरहेका छन्। एसएलसी उत्तीर्णले भन्दा पनि फेरि कमलरी बस्नु नपर्ने खुसीले उनीहरूमा अपार उत्साह देखिन्छ।
‘पास भएको थाहा पाएपछि मैले कमलरी जीवनबाट बल्ल मुक्ति पाएँ भन्ने लाग्यो,’ शनिबार आफ्नै घरमा रहेकी सीमाले नागरिकसँग भनिन्, ‘मुक्ति मिलेको खबरले निकैबेर रोएँ।’
नतिजा प्रकाशन भएको अघिल्लो दिन बिहीबारदेखि नै स्थानीय एफएम रेडियोले शुक्रबार नतिजा सार्वजनिक हुने सूचना दिइरहेका थिए। त्यसले सीमाको मन खुबै आत्तियो। फेल भइहाले फेरि ‘दासता’ जीवनमा फर्र्कनुपर्ने भयले मनमा भुइँचालो गयो।
‘त्यही डरले रातभर निदाउन सकिनँ,’ उनले सुनाइन्, ‘खान पनि मन लागेन।’
शुक्रबार मध्याह्न एसएलसी नतिजा प्रकाशित भएको खबर फैलिनासाथ सीमाको मुटुले ठाउँ छाडिसकेको थियो। उनले साहस बटुलिन् अनि नेपाल टेलिकमको १६०० मा मोबाइलबाट म्यासेज गरिन्। प्रत्युत्तरमा आएको म्यासेजले सीमाको भय निमिट्यान्न भयो। खुसीको सीमै रहेन।
‘पास भएपछि साह्रै खुसी भएँ,’ उनले भनिन्, ‘अब केही गर्न सक्छु भन्ने आँट पलायो,’ भनिन्, ‘धेरै भाग्यमानी रहेछु।’
त्यसो त एसएलसीभन्दा माथि पढ्ने कल्पना उनले गरेकी थिइनन्। नतिजाले उनलाई जीवनको नयाँ ‘मार्ग’ कोर्ने अवसरसँगै उच्च शिक्षाको समेत ढोका खोलिदियो।
‘कल्पनाभन्दा बाहिर रहेको पढाइमा केही गर्ने अवसर पाएकी छु,’ उनले भविष्यको योजना सुनाइन्, ‘अनमी बनेर स्वास्थ्य क्षेत्रमा केही गर्ने सोच बनाएकी छु, हेरौं समयले कति साथ दिनेछ?’
एसएलसीको सुखद नतिजाले ल्याएको खुसी र अबका योजनाबारे आफ्नै निवासमा गफिइरहेकी सीमाका अनुहारमा उत्साहका रेखा प्रस्टै देखिन्थे। कुराकानीको प्रसंग बदलिनासाथ खुसीले चम्किएको उनको अनुहारमा एकाएक कालो बादल छायो। आँखाबाट आँसु खस्न थाले।
किनकि, डेढ वर्षसम्म कमलरी बस्दाका दुःख उनी सम्झनै चाहन्नथिन्। भनिन्, ‘त्यो बेला त म आफूलाई मरिसकेजस्तो हुन्थ्यो।’
… … …
राधीको घरमा ६ छोरी, एक छोरा। आयस्रोतको बाटो केही थिएन। साँझ–बिहान हातमुख जोड्नै मुस्किल। कक्षा २ मा पढ्दै गरेकी सीमालाई राधीले कमलरी बस्न काठमाडौं पठाइन्। ‘म जान्नँ, पढ्छु भनेर धेरै रोएकी थिएँ,’ १८ वर्षीया सीमाले त्यो क्षण सम्भि्कइन्, ‘तैपनि पठाउनुभयो।’ पाँच महिना काठमाडौंमा कमलरी बस्दा उनले सधैं दुःख मात्र बेहोरिन्। ‘कैलेकाहीँ भोकै सुत्थेँ,’ ती कहालिलाग्दा क्षण सम्झँदा उनी भक्कानिइरहेकी थिइन्, ‘जतिबेला पनि गाली मात्रै गरिरहन्थे।’
पीडा सहनै नसकेपछि उनले घरबेटीलाई आफू काठमाडौं बस्नै नसक्ने बताइन्। त्यसपछि उनलाई दाङ त फर्काइयो तर कमलरी बस्ने ‘सर्त’ मा। सीमालाई उनको परिवारले दाङ त फर्कायो तर केही दिनमै फेरि नारायणपुरकै एक घरमा कमलरी बस्नुपर्योह।
‘यहाँ पनि उस्तै, न खानाको ठेगान, न सुत्ने, जतिबेला पनि कामै काम,’ सीमाका दुःख घटेनन्। कमलरी मुक्ति अभियान थालेका संस्थाले एक वर्षपछि मात्र २०६७ मा सीमालाई त्यो घरबाट मुक्त गराए।
त्यसपछि बल्ल पढ्ने मौका मिल्यो उनलाई। अनि घरमै बसेर मिहिनेत गर्न थालिन्। ‘यसरी एसएलसी पास गर्न पाउँछु भन्ने कहिल्यै सोचेकी थिइनँ,’ उनले भनिन्, ‘कमलरी बनेरै जिन्दगी जाने भयो भन्ने लाग्थ्यो।’
छोरी सीमाको सफलताले आमा राधीलाई खुसी तुल्याएको छ। उनी अहिले पछुतो पनि उत्तिकै मानिरहेकी छन्। ‘सानैमा छोरीलाई नपढाएर कमलरी बस्न पठाएँ, अहिले पछुतो लागिरहेको छ,’ राधीले भनिन्, ‘मैले गलत गरेको रहेछु।’ अनमी पढेर केही गर्ने सोच पालेकी छोरी सीमालाई जसरी पनि धेरै पढाउने लक्ष्य छ राधीको।
‘एसएलसी फेल भएपछि फेरि कमलरी जानुपर्छ भनेकी थिएँ,’ राधीले भनिन्, ‘अब जति सक्छे, पढाउँछु।’
… … …
देउखुरी, गंगापरस्पुरकी मनीषा चौधरीको जीवनले पनि शुक्रबारबाट नयाँ मोड लियो। घरमा खुसीको माहोल छायो। एसएलसी पास भएको खुसियालीमा अबिर दलेर बधाई दिने गाउँले ओइरिए। शुक्रबार बेलुका नागरिकसँग टेलिफोन वार्तामा बधाई दिनेहरुको कोलाहल सुनिन्थ्यो।
‘गाउँभरिका सबै जना मलाई बधाई दिन आउनुभएको छ,’ उनले टेलिफोनमा भनेकी थिइन्, ‘सबै जना धेरै खुसी हुनुभा’छ।’
परिवार, आफन्त र गाउँले उनले एसएलसी पास गरेकामा खुसी मनाइरहेका थिए तर मनीषा भने त्यो माहोलमा मुक्तिको उल्लास भेटिरहेकी थिइन्। अबिरमा मुक्तिको रङ। उनको जीवनमा पनि एसएलसी नतिजा ‘दासता मुक्ति’ बनेर प्रकाशित भयो।
स्टाफ नर्स बन्ने योजना बुनेकी मनीषा भन्छिन्, ‘सायद पास नभइदिएको भए म कमलरी बस्नै पर्थ्यो होला।’
पाँच वर्षमै उनलाई बाबुआमाले गाउँका साहुकहाँ कमलरी राखिदिएका थिए। पढ्ने रहरले मन कुँडिन्थ्यो तर जति बेला पनि साहुको घरमा कामै काम। त्यसमाथि साहुको दिनहुँको कलहले पीडा बढ्थ्यो।
‘साह्रै खुसी लागेको छ, म कस्तो मान्छेले आज यो सफलता पाएँ,’ उनले भनिन्, ‘मैले सोच्नै सके
की थिइनँ।’ उनी पनि कमलरी मुक्ति अभियान थालेको संस्थाहरुकै पहलमा मुक्त भएकी थिइन्। स्टाफ नर्स पढ्ने चाहना राखेकी सेकेन्ड डिभिजन पास मनीषा स्टाफ नर्स पढ्न पाउने/नपाउनेमा अन्योलमा छिन्।
‘डिभिजन कम भएर पढ्न पाउन्नँ कि भन्ने शंका लाछ,’ उनले भनिन्, ‘स्टाफ नर्स नभए पनि अरू विषय पढ्छु।’
सीमा र मनीषा मात्र होइनन्। जिल्लाका १०–१२ जना पूर्वकमलरीका लागि एसएलसी नतिजा ‘मुक्ति’ को क्षण बनेर सार्वजनिक भएको छ। एसएलसीमा सहभागी दाङका १ सय ३ पूर्वकमलरीमध्ये अहिलेसम्म १० जना पास भएको थाहा भएको छ। परिणाम हेर्ने क्रम अझै जारी रहेकाले यो संख्या बढ्न सक्ने बताइएको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएका उनीहरु अधिकांश फेल भइदिएको भए पुनः कमलरी जीवनमै फर्कनुपर्नेमा सशंकित थिए। कमलरी मुक्तिसँगै उनीहरुको जीवनले शुक्रबारदेखि नयाँ मोड लिएको छ। वषर्ौँ साहुको घरमा जुठाभाँडा माझेका उनीहरु अहिले उच्च शिक्षा तयारीमा जुटेका छन्। ‘शिक्षा विषय पढ्ने योजना बनाएकी छु,’ घोराही–५ नवलपुरकी माया चौधरीले भनिन्, ‘शिक्षिका बनेर शिक्षाको ज्योति छर्ने सपना छ।’
दुई वर्ष घोराहीमै कमलरी बसेकी मायाका लागि पनि शुक्रबार जीवन परिवर्तन गर्ने दिन बनिदियो। कमलरी जीवनमा पढ्ने रहर मारिसकेकी मायाका लागि पनि यो सफलता नसोचेकै हो।
‘कमलरी बसेरै जिन्दगी बनाउने सोचेकी मान्छेलाई यस्तो सफलता आउनु म आफैंलाई अचम्म लागिरहेको छ,’ उनले भनिन्, ‘अब धेरै पढेर जागिर खाने हिम्मत जुटेको छ।’
साँझ–बिहान खाना खुवाउने सर्तमै अर्काको घरमा छोरीलाई कमलरी बस्न पठाएका अभिभावक पनि सन्ततिको यो सफलताले हौसिएका छन्। अभिभावकमा कमलरी बसाल्नु ‘गलत’ रहेको सचेतनासमेत जागेको छ।
‘मैले सानैमा छोरीलाई कमलरी राखेर गल्ती गरेछुजस्तो लागिरा’छ,’ देउखुरी, पत्थरगढवाकी रमिता चौधरीकी आमा देउमन्तीले भनिन्, ‘अब जति सक्छे, पढाउँछु, कमलरी पठान्नँ।’ रमितालाई उनको परिवारले साँझ–बिहान खान दिने सर्तमा छिमेकीकै साहुको घरमा कमलरी बस्न पठाएको थियो।
‘ज्याला कत्ति पनि थिएन, साँझ–बिहान खान दिने र लगाउने कपडा दिने भनेर कमलरी पठाएकी थिएँ,’ देउमन्तीले भनिन्, ‘घरमा खानै नपुग्ने भएपछि बाध्यताले पठाएकी थिएँ।’ कमलरी अभियानमा लागेका संस्थाकै पहलमा मुक्त भएपछि पढ्न सुरु गरेकी रमिता द्वित्तीय श्रेणीमा पास भएकी छन्। देउमन्त्रीले आफूले मजदुरी गरेरै भए पनि छोरीको पढाइ खर्च जुटाउने प्रण गरेकी छन्।
एसएलसी पास पूर्वकमलरीमा नयाँ उत्साह पलाए पनि उच्च शिक्षा भने आर्थिक अवस्था कमजोर रहेका कारण उत्तिकै चुनौतीपूर्ण छ। माध्यमिक तहसम्म कमलरी मुक्ति अभियानमा लागेका संघसंस्थाकै सहयोगमा पढ्दै आए पनि उच्च शिक्षाका लागि कसरी आयस्रोत जुटाउने भन्ने चुनौती उत्तिकै छ।
सरकारले दिँदै आएको छात्रवृत्ति रकम पनि उच्च शिक्षाका लागि न्यून रहेको पूर्वकमलरी बताउँछन्। सरकारले प्लसटु अध्ययनका लागि पूर्वकमलरीलाई वार्षिक १० हजार रुपैयाँ छात्रवृत्ति सहयोग गर्दै आएको छ।
‘सरकारले पठनपाठनका लागि गरेको सहयोग रकम ज्यादै अपुग भइरहेको छ,’ मुक्त कमलरी अभियानकी अगुवा उर्मिला चौधरीले भनिन्, ‘मासिक शुल्क, किताब, कापी, ड्रेस किन्नै पुग्दैन।’ सहयोग रकमको अपर्याप्तताकै कारण उच्च शिक्षा अध्ययनरत पूर्वकमलरीलाई पठनपाठनमा धेरै समस्या रहँदै आएको समेत उनले बताइन्। यता, एसएलसी पास पूर्वकमलरीहरु आफूहरुको पठनपाठनका लागि सहयोगकै अपेक्षामा छन्। कसैको सहयोगबिना पढ्न सक्ने अवस्थै नरहेको भन्दै उनीहरुले राज्यले सहायता उपलब्ध गराउनुपर्ने बताउँछन्।
सरकारले २०७० असार १३ मा कमलरी मुक्तिको औपचारिक घोषणा गरे पनि व्यवहारमा अझै यो प्रथा पूर्ण रुपमा हटिसकेको छैन।

नागरिक दैनिकबाट साभार

2 thoughts on “सफलतासँगै मुक्तिको खुसी, पूर्वकमलरी सीमा भन्छिन्- ‘म पनि एसएलसी पास भएँ’

  1. slc pachhiko samay ajha critical chh. dhairya ra saahas gare tholo sambhavnaa dekhieko intution maa bahini le thaha paae tar aba rational world maa jiunu parne bhaeko chh.yo ho slc ko merit napne tools. hoin bhane certificate le byabahar napnechhain hai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *