दाङका बाढीपीडितलाई एक वर्षपछि राहत

गत वर्ष साउन महिनाको अन्त्यतिर बबई नदीमा आएको बाढीका कारण दाङ जिल्लामा मरेका पशु चौपायाको अहिले पशुसेवा कार्यालय दाङले सम्बन्धित गाविसमा पुगेर पीडितहरूलाई राहत वितरण गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला पशु सेवा कार्यालयको संयुक्त टोली खटिएर अहिले सम्बन्धित गाउँमा पुगेर राहत वितरण गरेको हो।

टोलीले शनिबार उरहरी गाविसको मोतिपुरमा पुगेर १० घर परिवारलाई मरेका पशुको राहत वितरण गरेको पशुसेवा कार्यालयका चिकित्सक रमेशप्रसाद नेपालीले जानकारी दिए।

नेपालीका अनुसार मरेका पशुको रु आठ हजार र अस्थायी गोठका लागि रु पाँच हजार गरी एक घरपरिवारलाई रु १३ हजार, बाख्रा र भेडाको रु पाँच हजार र गोठ सुधारका लागि रु पाँच हजार गरी १० हजार, बङ्गुर तथा सुँगरको रु दुई हजार ५०० र प्रति हाँसकुखुरा रु ५० राहत वितरण गरिएको छ।

Bardiya Flood-1

गत वर्ष आएको बबई बाढीले डुबानमा पारेको बर्दियाको एक गाउँ। फाइल तस्बिर

यसअघि जिल्लाको गोल्टाकुरी गाविसका ३३ घरपरिवार, फुलबारीका ३४, श्रीगाउँ र धनौरीका ११, डुरुवाका १८ घर, पुरन्धारा गाविसका ३३ र पञ्चकुले गाविसका नौ घर परिवारलाई पशु राहतबाट रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल बालचन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार सरकारले बाढीबाट मरेका चौपाया र पक्षीको राहत तथा गोठ सुधारलगायतका लागि हालै मात्र जिल्ला प्रशासनमा रु ७१ लाख ७३ हजार रकम पठाएको थियो। रासस

Leave a Reply

Your email address will not be published.