नाम शान्ता चौधरी, कक्षा ८, रोल नम्बर ८१

 Shanta_School 02

नाम : शान्ता चौधरी

कक्षा : ८

रोल न. ८१

उमेर : ३५

विद्यालय : श्री उच्च मावि डाँडागाउँ गोग्ली

मंगलबार उनी यो स्कुलको कक्षा ८ मा छिर्दै थिइन्। एकनासे ड्रेसमा सजिएका विद्यार्थीहरु जर्‍याजुरुक उठे। सबैका नजर उनमै तेर्सिए। कुर्ता सुरुवाल लगाएर, कालो झोला भिरेकी उनलाई सबै विद्यार्थीले ठाने ‘नयाँ म्याडम’।

भित्र छिरेर पछाडि बेञ्चतिर जाँदै उनले विद्यार्थीलाई भनिन्, ‘तपाईँहरु किन उठेको, म पनि तपाईँहरुकै साथी, अब यही कक्षामा पढ्ने।’ फेरि सबका नजर टोलाए। एकछिनपछि हेडसर आएर सम्झाएपनि विद्यार्थीहरु हाँस्न थाले।

मंगलबार उनले यो विद्यालयमा मध्यान्तरसम्म मात्रै कक्षा लिइन्। स्कुलबाट बाहिरिँदै गर्दा केही विद्यार्थी कानेखुसी गर्दै थिए, ‘हाम्ले नि शान्ता म्याडमसँग पढ्न पाउने भइम्।’ कोही भने हाँस्दै थिए।

कमलरी जीवनबाट एकैपटक सभासद् बनेकी दाङ लक्ष्मीपुर गाविसकी शान्ता चौधरीको परिचयमा अब केही विद्या जोडिएका छन्। उनी कक्षा ८ मा पढ्ने विद्यार्थी भएकी छन्। सबैभन्दा पछि भर्ना भएका कारण उनको रोल नम्बर ८१ भएको छ।

शान्ता श्री उच्च मावि डाँडागाउँ गोगलीकी विद्यार्थी भएकी छन्। कुनै बेला थियो, गाउँमा उनका साथीसंगीह उनकै अघि स्कुलतिर दौडिरहेका हुन्थे। उनका आँखा अनि मन त उनीहरुसँगै दौडिन्थ्यो तर उनका हातमा किताबको झोला नभइ जुठा भाँडा हुन्थे गोठको गोबर हुन्थ्यो।

मन थाम्न सक्दिनथिन्। दौडिएर स्कुलको झ्यालमा गएर कान थाप्थिन्। पढेको सुन्थिन् र आएर पिठ्यूँमा बोकेका जमिन्दारका बच्चालाई त्यही सुनेको पढाईलाई लोरी सुनाउँथिन्। बच्चा निदाउँथ्यो।

कमलरी हुँदै उनको विवाह भयो। गाउँमा प्रौढ शिक्षाको सुरुवात भएको थियो त्यतिबेला। अनि उनी प्रौढ शिक्षा लिन थालिन्। कखरा सिकिन्। नामसम्म लेख्नसक्ने भइन्। तर, स्कुल जाने धोका मनमै थियो।

Shanta_School 03

समय बित्दै थियो। एकाएक उनी सभासद् भइन्। पहिलो संविधानसभाकोे निर्वाचनपछि दाङबाट नेकपा एमालेले उनलाई समानुपातिकबाट सभासद् बनायो। संविधान सभाका करिब चार/पाँच वर्ष उनलाई पढाई निकै खटि्कयो। ‘त्यो बेला धेरै पढाई खटि्कएको थियो,’ मंगलबार पहिलो चोटि उनी कक्षा सकेपछि भनिन्, ‘त्यसपछि पढ्नैपर्छ भन्ने लागिरहेका थियो। अहिले आएर स्कुल भर्ना भएँ। ‘ शान्ताले प्रवेश परीक्षा दिएर कक्षा आठमा भर्ना भएकी छन्। अब उनले यो पढाईलाई निरन्तरता दिने बताएकी छन्। ‘जीवनमा सबैभन्दा ठूलो पढाई नै रहेछ भन्ने बुझेँ,’ दिउँसो कक्षाको दृश्य सम्झेर उनी हाँस्दै भनिन्, ‘फेरि स–सना भाइबहिनीहरुसँग पढन पाउँदा अझ धेरै सिक्छु किजस्तो लाग्छ।’

शिक्षकहरुले पनि उनलाई राम्रो साथ दिएका छन्। सबै खुसी छन्। ‘तर, अब सभासद्लाई कसरी पढाउने होला भनेर केहीले अफ्ठ्यारो पनि मान्नुभएको छ,’ उनले भनिन्। कक्षा कोठामा प्रवेश गर्दा निकै संकोच लागेको उनले बताइन्। तर रोमाञ्चित पनि भएको उनले बताइन्।

भर्खरै दुई–दुई वटा क्यान्सरलाई जितेर नयाँ जीवन सरु गरेकी पूर्वकमलरी शान्ता भन्छिन्, ‘अब कम्तीमा यही स्कुलबाट एसएलसीको प्रमाणपत्र लिन्छु। त्योमाथि पढ्न पाए त झनै राम्रो हुन्थ्यो।’

विद्यालयका प्रधानाध्यापक सतीशकुमार आचार्य पनि पूर्वसभासद्लाई भर्ना गर्न पाउँदा दंग छन्। ‘उहाँको जीवन मैले पनि पढेको छु। उहाँ एक सासही महिला हो,’ उनले भने, ‘त्यही साहसलाई मैले सम्मान गरेको हुँ। जीवनमा अघि बढ्न कसैले हिम्मत गर्छ भने त्यसलाई सम्मान गर्नुपर्छ। मौका दिनुपर्छ। ‘

Shanta_School

शान्ता पढ्ने इच्छा भएका अरुका लागि पनि प्र्रेरणा हुने भन्दै आचार्य भन्छन्, ‘सबै शिक्षकहरु पनि खुसी हुनुभएको छ। विद्यार्थीहरु पनि खुसी नै छन्।’ उनका छोर अहिले ९ कक्षामा पढ्छन् भने छोरी कक्षा ७ मा पढि्छन्। छोराछोरी काठमाडौंमा डेरा गरेर बस्छन्। श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन्।

राप्ती समाचार दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.