रानाथारूको ‘होरी’ अझै सकिएन (फोटो फिचर)

मुकेश टेंर्रा, धनगढी- फागु पूर्णिमाभन्दा पहिलेदेखि होली पर्व मनाउन थालेका रानाथारु समुदायमा त्यसको रौनक अझै उत्तिकै छ। फागु पूर्णिमाभन्दा पहिलेको औंसीदेखि होली वर्ष सुरु हुने रानाथारु समुदायमा पूर्णिमापछिको औंसीसम्म होली मनाउने चलन छ। पूर्णिमापछि मुर्दा होली मनाउन थालेका रानाथारु समुदायले घरघरमा ‘हट्कना’ (खुशीयाली/होली मिलन कार्यक्रम) आयोजना गरी ‘होरी’ को रौनक कायम राखेका छन्। आउँदो औंसीमा ‘खक्रेरा’ गरेपछि (सडकमा गाग्रो फुटाएर त्यसको टुक्रा घरमा ल्याएपछि) होली सकिने रानाथारु संस्कृतिका जानकारहरु बताउँछन्। पहिलेजस्तो हरेक रानाथारु गाउँमा होलीको रौनक अचेल नभए पनि ‘होरी’ (रानाथारुको होली नाच) नाच्ने क्रम रोकिएको भने छैन।

यसैबीच, नेपाल रानाथारु समाज कैलालीले उर्मा गाविस–६ उर्मामा सोमबार होरी मिलन कार्यक्रम अयोजना गरेको छ। कार्यक्रममा सहभागीले रानाथारु संस्कृति संरक्षणमा जोड दिएका थिए। उनीहरुले संस्कृति नै विकासको बाटो रहेको भन्दै त्यस्तो बताएका हुन्।

पूर्वसभासद् मालामती रानाले भाषणभन्दा संस्कृति ठूलो रहेको बताइन्। उनले पहिलेको भन्दा रानाथारु समुदाय धेरै शिक्षित भइसकेको बताउँदै संस्कृति संरक्षण गरी सुसंस्कारयुक्त सामाज बनाउनतिर लाग्नुपर्ने बताइन्।

उनले अबका रानाथारु समुदायका युवायुवती शिक्षित भइसको तर पहुँचको अभावमा बेरोजगार रहेको बताइन्। उनीहरुलाई रोजगारी प्रदान गर्नका लागि पहुँच बढाउन आवश्यक रहेको पूर्वसभासद् रानाले बताइन्। पहुँचको सबाल सबै अधिवासीको साझा मुद्दा भएको बताउँदै उनले सबै आदिवासी एक भएर आन्दोलित हुनुपर्नेमा समेत जोड दिइन्।

आदिवासीहरु एकजुट हुनका लागि रानाथारु समुदायलाई छुट्टै आदिवासीमा सूचिकृत गराउन आवश्यक रहेको बताइन्। नेपाल रानाथारु समाजकी केन्द्रीय अध्यक्ष जीवन रानाले पनि आदिवासीमा सूचिकृत गर्न आफूहरुले लागिपरेको बताइन्। उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन संसोधनपछि रानाथारु समुदाय पनि छुट्टै आदिवासी जनजातिको रुपमा सूचिकृत हुने बताइन्।
समाजका सल्लाहकार प्यारेलाल रानाले २० वर्ष अघिको रानाथारु समाज र अहिलको रानाथारु समाजमा धेरै अन्तर रहेको बताए। उनले समाजमा थुप्रै परिवर्तन भए पनि राज्यसत्तामा पहुँच नपुगेको बताए।

समाजका जिल्ला अध्यक्ष नवराज रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कैलालीका निवर्तमान अध्यक्ष लक्ष्मण तुलाचन, अध्यक्ष तेज तारामीमगर, थारु कल्याणकारिणी सभाका जिल्ला सभापति प्रभात चौधरी, नेपाल रानाथारु समाजका उपाध्यक्ष शिवराज राना, सल्लाहकार उग्रसेन राना, एकीकृत नेकपा माओवादीका सदस्य दरबारी राना, नेपाली कांग्रेसका सदस्य लक्ष्मीनारायण चौधरी, नेकपा एमालेका धनगढी नगर अध्यक्ष नारायण लम्साल, उर्मा गाविस सचिव खडकबहादुर शाहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न गाउँका होरीलगायतका नाचहरु प्रस्तुत गरिएका थिए।

ट्रासन दैनिकबाट साभार। तस्बिर : मुकेश टेँर्रा
rana tharu, holi-9 rana tharu, holi-1 rana tharu, holi-2 rana tharu, holi-3 rana tharu, holi-4 rana tharu, holi-5 rana tharu, holi-6 rana tharu, holi-7 rana tharu, holi-8

Leave a Reply

Your email address will not be published.