नागेन्द्र कुमाल र पेम्बा भोटेको राजीनामा माग, लेखीको पनि आलोचना

Neffing Meeting 01

काठमाडौं- पोखरामा जारी आदिवासी जनाजति महासंघको दुई दिने संघीय परिषद् भेलका सहभागीहरुले अध्यक्ष नागेन्द्र कुमार कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा मागेका छन्। आदिवासी जनाजतिका हक, अधिकारलाई बेवास्ता गर्दै सभासद् पद खान गएको भन्दै सहभागीहरुले राजीनामा मागेका हुन्। कुमाल नेपाली कांग्रेस र भोटे नेकपा एमालेबाट मनोनित सभासद् बनेका हुन्।

सहभागी प्रतिनिधिहरुले आदिवासी जनजातिका मुद्दालाई बेवास्ता गरेको, पार्टीको पिछलग्गु भएको भन्दै कुमाल र भोटेको चर्को आलोचना गरेका छन्। विधानअनुसार प्रत्येक ६-६ महिनामा हुनुपर्ने संघीय परिषदको बैठक डेढ वर्षपछि मात्र बोलाएको भन्दै प्रतिनिधिहरुले कुमालमाथि आक्रोश पोखे। केही युवाहरुले बैठकमै कुमाल र भोटेको राजीनामा माग्दै चर्को होहल्ला र नारावाजीसमेत गरेका छन्।

बैठकमा महासंघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राजकुमार लेखीविरुद्ध पनि आलोचना भएको छ। प्रतिनिधि श्याममाया पुन मगर र लाक्पा डिकी शेर्पाले लेखीले उठाउँदै आएको विचारप्रति आपति प्रकट गरेका छन्। लेखीले आदिवासी जनजाति महासंघले उठाएको माग, मुदा र एजेण्डा सही भएको र महासंघको साझा आन्दोलन र अभियानमा सबै सहभागी हुनुपर्ने बताए।

महासंघको चितवनमा सम्पन्न आठौं महाधिवेशनबाट अल्पसंख्यक सीमानतकृत समुदायको नेतृत्व निर्वाचित भएपछि केही ब्यक्तिहरु महासंघलाई कमजोर बनाउन तोडफोड गर्ने अभियान चलाएको लेखीले आरोप लगाए। चार राजनीतिक शक्तिका चार नेताकै कारण दोस्रो संविधानसभा पनि विघटन हुने ठोकुवा लेखीले गरे। उनले महासंघ कुनै पार्टी र नेताको पिछलगु बन्न नहुने स्पष्ट पारे।

Neffing Meeting 02

प्रतिनिधिहरुले महासंघको आम्दानी खर्च पारदर्शी नभएको भन्दै छानबिन समिति बनाउनसमेत माग गरेको छ। नर्भु घले, नित्यानन्द ताजपुरिया, प्रेमीलाल चौधरी, लिलासिंह लिम्बुलगायतका प्रतिनिधिले बैठक ६-६ महिनामा अनिवार्य हुनुपर्ने माग गरे। विधानअनुसार बैठकका लागि सबै प्रतिनिधिलाई २१ दिनअघि नै खबर गर्नुपर्ने प्रावधान भए पनि कुमालले ५ दिनअघिमात्र संघीय परिषद् बैठकका लागि खबर गरेको प्रतिनिधिहरुले बताएका छन्।

अध्यक्ष र महासचिवमाथि हात हाल्ने प्रयास

बैठकको पहिलो दिनै अध्यक्ष नागेन्द्र कुमार कुमाल र महासचिव पेम्बा भोटेलाई केही युवाहरुले हात हाल्ने प्रयास गरेका छन्। आदिवासी जनाजति आन्दोलनलाई उचाईँ नपुर्यामएको र पार्टीको पिछलग्नु बनेको भन्दै ती २०-२२ जनाको समूहले उनीहरुमाथि हात हाल्ने प्रयास गरेका थिए। प्रयास असफल भएपछि उनीहरुले बैठक हलको कुर्सी तोडफोड गरे।

सहभागी प्रतिनिधिहरुले पद्मरत्न तुलाधर नेतृत्वको मोर्चालाई महासंघले बेवास्ता गरेकै कारण अध्यक्षविरुद्ध आक्रमण प्रयास भएको बताए। यसअघि बुटवल बैठकमा पनि आक्रमण प्रयास भएको बताउँदै एक प्रतिनिधले यो त्यसकै निरन्तरता भएको बताए। आदिवासी जनजाति आन्दोलनलाई बेवास्ता गरेको, पार्टीको पिछलग्गु भएर सभासद् पद खाएको, आर्थिक कारोबार पारदर्शी नभएको, आदिवासी जनाजाति नेताहरुले चलाएकै मोर्चालाई बाइपास गरेकाले चर्को आलोचना र आक्रमण प्रयास भएको उनले बताए।

उनका अनुसार महासंघमा विवाद सरु भएपछि एकथरी जनाजति नेताहरुले छाता संगठनको रुपमा अगाडि बढाउन चाहन्छन्। अर्काथरी नेताहरुले भने काम गर्न नसकेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published.