गच्छदारले राखे एमाओवादीमा विलीन हुने प्रस्ताव

30-Party

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले एकअर्काको विगत कोट्याउँदै रमाइलो जुहारी खेले । जुहारीकै क्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले एमाओवादीमा विलीन हुन तयार रहेको बताए ।

वार्ता प्रयासको समीक्षा र भावी आन्दोलनको कार्यक्रमबारे छलफल गर्न मोर्चाको बैठक मंगलबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सत्तापक्षसँग भएको वार्ताबारे जानकारी गराउँदै ३० गतेसम्म पर्खने प्रस्ताव गरे ।

बैठकमा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भारत भ्रमणको ब्रिफिङ गरे ।

लगत्तै ३० दलीय मोर्चाका संयोजक प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालासँग भएको छलफलबारे बिफि्रङ गर्न फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारलाई समय दिए । ३० दलको बैठक अघि गच्छदारले बालुवाटार पुगेर कोइरालालाई भेटेका थिए ।

गच्छदारले एमाओवादीमा विलीन हुन तयार छु भनेपछि …

स्रोतका अनुसार बैठकमा गच्छदारले आफूलाई शंका नगर्न मोर्चाका नेताहरुलाई आग्रह गरे । ‘म कांग्रेसबाट आएको हुँ, कांग्रेस नेताहसँग चिनजान छ, उठबस हुन्छ तर, मलाई किन शंका गर्नुहुन्छ ? मलाई शंका नगर्नुस्’ गच्छदारले भने-‘प्रचण्ड कामरेडसँग म नजिक छु ।’

आफू मोर्चा र आन्दोलनप्रति प्रतिवद्ध रहेको सावित गर्ने क्रममा उनले प्रचण्ड अब एमाओवादीको मात्र नभएर ३० दलकै अध्यक्ष भएको बताए । उनले भने- ‘म एमाओवादीसँग विलीन हुन म तयार छु । तपाईहरु सबै तयार हुनुहुन्छ ?’

एमाओवादीमा विलीन हुने गच्छदारको प्रस्तावले सबै मधेसवादी दलका नेताहरु हाँसे ।

गच्छदारमाथि प्रतिक्रिया

गच्छदारपछि तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले एमाओवादीमा विलीन हुने गच्छदारको प्रस्ताव आफूहरुलाई स्वीकार्य रहेको बताए । तर, उनले गच्छदारलाई प्रस्तावमा तपाई आफैं इमान्दार हुनुहन्छ ? भन्दै प्रश्न गरे ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसबाट राजनीति सुरु गरेको, मधेसवादी हुँदै एमाओवादीमा आएको भन्दै गच्छदारलाई ब्यंग्य गरे ।

लगत्तै गच्छदारले त्यसको जवाफ फर्काएको एक नेताले बताए । उनले उपेन्द्रप्रति लक्षित गर्दै उनी एमाले, माओवादी हुँदै मधेसको राजनीतिमा आएको र अहिले फेरि एमाओवादी मोर्चामा आएको बताए ।

मधेसवादी दलका नेताहरु विगत कोट्याउँदै हिलो छ्यापाछ्याप गर्न थालेपछि प्रचण्डले टेबल ठोकेर अब नबोल्न नेताहरुलाई रुलिङ गर्नु परेको थियो ।

राजकुमार श्रेष्ठ/अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.