द्वन्द्वले खोस्यो सर्वस्व : कब्जा जग्गा फिर्ता भएन

बाँके बैजापुर ३ कुम्हारका द्वन्द्वपीडित रामरत्न चौधरी
बाँके बैजापुर ३ कुम्हारका द्वन्द्वपीडित रामरत्न चौधरी

बाँके, बैजापुर ३ कुम्हारगाउँका रामरत्न चौधरीले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोहीको यातनाले गुमाएका दुवै खुट्टाको पीडा सहेकै थिए । त्यसको केही वर्षपछि फेरि विद्रोहीले बुबा हीरामणिको हत्या गरे । लुटपाटपछि बम पड्किएर ध्वस्त पारियो । लामो समयसम्म विस्थापित जीवन बाँचे । तर, १४ वर्षअघि तत्कालीन विद्रोहीले कब्जा गरेको जग्गा फिर्ता नपाउँदा शान्ति पुनर्बहालीसँगै हराउँदै गएको द्वन्द्वको घाउ पुन: बल्झिने गरेको छ । 

क्षतिपूर्ति हुनै नसक्ने उक्त घटना घटेपछि उनी शान्ति पुनर्बहालीपछि गाउँ फर्किए । कब्जा जग्गा फिर्ता हुन अझै सकेको छैन । हाल उनी कृत्रिम खुट्टाको सहारामा हिँड्डुल गर्न सक्छन् । ‘योभन्दा बढी अन्याय कति सहनु ? सहनुको पनि सीमा हुन्छ । बाबाको हत्या भयो । सम्पत्ति, घर र दुवै खुट्टा गुमाउनुपरेको छ । कब्जा गरिएको जग्गा अझै फिर्ता पाइएको छैन,’ रामरत्न भन्छन्, ‘शान्ति पुनर्बहालीपछि माओवादी नेतासँग जग्गा फिर्ताका लागि हारगुहार गर्दा हाम्रो कब्जा छैन भन्छन् । तर, अहिलेसम्म जोतभोग गर्न पाइएको छैन ।’

०५७ असार ११ गते उनलाई तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरेका थिए । कार्यकर्ताको चरम यातनाले उनको खुट्टा गुमेको हो । त्यतिबेला घरका सबै सदस्यलाई माओवादीले घरमै कुटेर यातना दिएका थिए । ‘बिनाकसुर ममाथि झुटा आरोप लगाउँदै मर्‍यो भनेर फालिदिएका थिए । उपचारपछि धन्न बाँचे । दुवै खुट्टा काम नलाग्ने भएपछि कृत्रिम जोडेको छु,’ उनले भने, ‘पूरै परिवार विस्थापित भयो । घर पनि लुटियो, पूर्ण रूपमा ध्वस्त पारियो । अहिलेसम्म न्याय पाउन सकिनँ ।’

स्थानीय जितबहादुर चौधरीलगायतले अंश नदिएको भन्दै भौतिक कारबाही गरेको उनको गुनासो छ । माओवादी कार्यकर्ताले बिनाकसुर आक्रमण गरेको रामरत्नको दाबी छ । सर्वोच्च अदालतले पनि जितबहादुरलगायत व्यक्तिहरू अंशियार नभएको फैसला गरिसकेको छ । त्यसैलाई निहुँ बनाएर रामरत्नको घरमा आक्रमण गरिएको थियो । अदालतमा मुद्दा हालेको भन्दै माओवादी कार्यकर्ताले रिस फेर्न उनको घरमा आक्रमण गरे । ०६३ असार ५ गते बुबा हीरामणिलाई घरमै आएर कुटे । सशस्त्र प्रहरीले उपचारका लागि नेपालगन्ज ल्यायो । तर, उपचारकै क्रममा हीरामणिको मृत्यु भयो ।

‘माओवादीले बुबाको पनि हत्या गरे । घर पनि भत्काइदिएपछि लामो समयसम्म विस्थापित भएर नेपालगन्ज बस्नुपर्‍यो । शान्ति पुनर्बहाली भएपछि गाउँ फर्केको छु । तर, जग्गा जोत्न पाइएको छैन,’ रामरत्नले भने, ‘जग्गा फिर्ता पाएको भए घर बनाउँथे । परिवार पाल्न सहज हुन्थ्यो ।’ उनका बुबा र काकाका नाममा ७ बिघा जग्गा छ । त्यही जग्गा कब्जामा छ ।

शान्ति छाएपछि उनले जग्गा फिर्ता पाउन मानव अधिकारवादी संस्था, स्थानीय प्रशासनसँग गुहार गर्दै आएका छन् । केही दिनमात्रै उनले गाउँमै रहेको प्रहरी चौकीमा जग्गा फिर्ताका लागि निवेदन दिए । स्थानीय एमाओवादीलगायत नेताहरू छलफलका लागि जम्मा भए । केही दिएर भए पनि जग्गा फिर्ता गर्न आग्रह गरे । तर, समस्या सुल्झेन । एमाओवादी स्थानीय नेताले पार्टीको कब्जामा जग्गा नरहेको जवाफ फर्काए । ‘केही जग्गा दिएर भए पनि मिल्ने कुरा गर्दा फिर्ता गरिएन । सबैभन्दा माथिल्लो निकाय सर्वोच्चले मेरै पक्षमा निर्णय गरे पनि केही दिएर मिल्ने प्रस्ताव गर्दासमेत कब्जा गर्नेहरू मान्दैनन्,’ उनले भने, ‘द्वन्द्वले मेरो सबै खोसेको छ । कहिले न्याय पाउने ?’

सर्वोच्चको फैसलापछि जितबहादुरलगायतले फेरि मुद्दा दर्ता गरेकाले फिर्ता नदिएको दाबी गर्दै आएका छन् । अदालतको फैसलापछि उनले अझै पनि अंशियार भएको दाबी गर्दै आए ।

ठाकुरसिंह थारु/कान्तिपुर दैनिक साभार

One thought on “द्वन्द्वले खोस्यो सर्वस्व : कब्जा जग्गा फिर्ता भएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *