सभासद रुकमिनी चौधरीले विपक्षी दलले पेलेरै संविधान बनाउने कसरत गरे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्र रहेका १ सय ५२ जना सभासदले सामूहिक राजीनामा दिने बताएकी छन्। उनले त्यस्तो परिस्थिति आए राजीनामा दिएर बाहिर आउने निर्णय समेत ३० दलीय मोर्चामा भइसकेको खुलासा समेत गरिन्। ‘सत्तारुढ दलहरुले सबैलाई समेटेर संविधान बनाउने प्रयास गर्नुपर्छ,’ सभासद् चौधरीले भनिन्, ‘सत्तारुढ दलले पेलेर संविधान जारी गर्न खोजे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा रहेका पार्टीका सबै सभासद्ले सामूहिक राजीनामा दिन्छौं। मोर्चामा यस्तो निर्णय भइसकेको छ।’
उनले मुलुकमा क्रान्ति र परिवर्तन ल्याउन आन्दोलनको विकल्प नभएको भन्दै विगतका सहमित र सम्झौतालाई पालना गर्न सत्तारुढ दलसँग आग्रह गरिन्। साना माछाहरु मिलेर अब ठूला माछाहरुलाई लखेट्ने दाबी समेत गरिन्। संवाद समूह दाङले आज तुल्सीपुरमा गरेको ‘लोकतान्त्रिक गणन्त्र कहिले?’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३० दलीय मोर्चालाई साना माछा र सत्ताधारी दललाई ठूला माछाको संज्ञा दिइन्।
संघीय लोकतान्त्रिक मञ्च (थरुहट)बाट सभासद बनेकी चौधरीले शोषीत, पीडित जनताको पक्षमा कुरा उठाउँदा त्यसको विरोध गर्ने ठूला माछालाई लखेट्नकै लागि साना-साना दलहरु मिलेर ३० दलीय मोर्चा बनाएको बताइन्। अर्की सभासद अनिता देवकोटाले कुन्ठाका आधारमा संविधान नबन्ने बताइन्।
संविधानसभाभित्र तान्डव नृत्य र टुडिखेलबाट कुर्लंदैमा संविधान नआउने उनको तर्क थियो। त्यसैगरी, सभासद योगेन्द्र चौधरीले पहिचानको कुरा उठाउँदा जातियता र विखन्डनको आरोप लगाएर आफूअनुकुल संविधान बनाउन खोजेको आरोप लगाए।
एमाओवादीका नेता तथा पूर्वसभासद कुवेर वलीले एक थान संविधानका लागि मात्रै हजौरौं जनता सहिद नबनेको बताउँदै सबैको अपनत्व हुने संविधान नबने संविधान आएको भोलिपल्टै च्यातिदिने चेतावनी दिए।
रातोपाटीबाट साभार
Rajinama dinu galat kura ho. sakchhau bhane jaha chhau tehi sangharsha garera aafno adhikarko sunischit gara. Adhikarko lagi ladne thau nai sansad ho tehi thau chhodera kaha baata ladne ? sadak baata ? Wayat