चार शक्ति भनिएका पार्टीविरुद्ध थाकसले भण्डाफोर अभियान चलाउने

Tharu Indtraction Prgm

संविधानसभाका मुख्य चारवटै शक्ति बेइमान भन्दै भण्डाफोर अभियान चलाइने भएको छ । थारु कल्याणकारिणी सभाले त्यस्तो भण्डाफोर अभियान चलाउन लागेको हो ।संविधान बनाउन मुख्य चारशक्ति इमानदार नभएको, सत्ता र शक्तिको दम्भ देखाएर संविधान निर्माणलाई नै अनिश्चित बनाएको भन्दै सभाले भण्डाफोर अभियान चलाउन लागेको हो । 

सभाले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पारेर राजधानीमा भण्डाफोर अभियानको भेला गर्दैछ । सभाका नेता तथा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार राजकुमार लेखीले भने, ‘फागुन ७ गते मुलुकले राणा शासनबाट मुक्ति पाएर नयाँ युग सुरु भएको थियो, यो फागुन ७ बाट नयाँ युग सिर्जनाका लागि अभियान चलाउँछौं ।’

भण्डाफोर अभियान चलाउन ७ र ८ गते सभाले राजधानीमा आकस्मिक राष्ट्रिय भेला बोलाएको छ । भेलामा केन्द्रीय समिति, सल्लाहकारहरु, केन्द्रीय पार्षदहरु, निवर्तमान केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी, निवर्तमान जिल्ला सभापतिहरु समेतलाई बोलाइएको छ । त्यसैगरी देशभरिका जिल्ला र नगर कमिटिका पदाधिकारीहरुलाई पनि बोलाइएको छ । आकस्मिक भेलामा थारु महिला सभा र थारु युवासभालाई पनि बोलाइएको जानकारी सभाका अध्यक्ष धनीराम चौधरीले दिए ।

थारु कल्याणकारिणसभाले तराईमा बहुप्रदेशको माग २०६३ सालदेखि राख्दै आएको छ । सभाले वर्तमान अन्तरिम संविधानमा थरुहट तराई हुनुपर्ने माग गरेको थियो भने मधेसी नेताहरुले मधेस हुनुपर्ने माग गरेको थियो । तर, अन्तरिम संविधानमा तराईलाई मधेस लेखिएपछि थारु कल्याणकारिणीले निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।

‘हो हामी बहुप्रदेश चाहन्छौं,’ लेखीले भने, ‘पहाडमा धेरै प्रदेश बनाउँदा अर्थतन्त्रले धान्ने तर तराईमा धेरै प्रदेश बनाउँदा अर्थतन्त्रले नधान्ने कुतर्कको हामी भण्डाफोर गर्छाैं, त्यस विरुद्ध अभियान चलाउँछौं ।’

पञ्चायती व्यवस्थाले पहाडमा ५३ र तराईमा २२ जिल्ला बनाएकाले सम्पूर्ण बजेट, साधनस्रोत र अवसर पहाडमा थुप्रिएर तराईलाई अन्याय भएको उदाहरण दिँदै लेखीले भने, ‘अब पनि तराईलाई थोरै प्रदेश भए हुन्छ भन्नेहरु देखिएका छन् । उनीहरु राजा महेन्द्रका नयाँ अवतार हुन् ।’

एमाले अध्यक्ष केपी ओलीको चर्काे आलोचना गर्दै लेखीले भने, ‘जताबाट जसरी हेर्नुस्, अलिअलि फरक मात्र हो, मुख्य शक्तिका नेताहरु सबै केपी ओली सरह छन् । उनीहरु आदिवासी जनजातिलाई अधिकार दिन चाहँदैनन्, तराईलाई शोषण गर्न चाहन्छन् ।’

फागुन ७ र ८ मा हुने भेलापछि दवाबमूलक र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउँदै उनले थारु कल्याणकारिणी सभा, आदिवासी जनजाति महासंघ र अन्य अधिकारमुखी सामाजिक संस्थाले पार्टीहरुको भरौटे बन्न नहुने बताए ।

कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी पार्टीका पिछलग्गुहरुले आदिवासी जनजाति आन्दोलनलाई साम्प्रदायिक आन्दोलन बनाउन खोजेको, आन्दोलनलाई पार्टीको पुच्छर बनाउन खोजेको आरोप लेखीले लगाए । उनले भने, ‘आदिवासी जनजाति आन्दोलन भनेको नेपालको मूलधारको लोकतान्त्रिक आन्दोलन हो । यसले सबै समुदायको नेतृत्व गर्ने क्षमता राख्छ । पुरातन ब्राम्हणवादी चिन्तन भएका एकथरि मान्छेले यो आन्दोलनलाई सानो घेरामा राख्न खोज्दैछन् ।’

‘कांग्रेस एमाले र एमाओवादी मधेसवादीको दुईटा गठवन्धनमा म केही फरक देख्दिन । यिनले मुखले संविधान भनेका हुन्, बास्तविक लडाईं सत्ताको हो,’ लेखीले दावी गरे, ‘केही दिनभित्रै यिनीहरुबीच कुर्सीका लागि चर्काे झगडा सुरु हुँदैछ । त्यसपछि संविधान निर्माण पूर्ण ओझेलमा पर्छ । त्यसैले खबरदारी अभियान चलाएका हौं ।’

Leave a Reply

Your email address will not be published.