विहे खर्च कटाएर सभासद्द्वारा कमलरीलाई सहयोग

Bihe Kharcha

काठमाडौं- बाजा बजिरहेको थियो। सँगै नाच्नेहरु आफ्नै धूनमा मस्त। भोजमा लाइन लागेकाहरु कसरी छिटो पालो आउँछ भन्नेमै ब्यस्त। यसैबीच सुकेधारास्थित सेलिब्रेसन पार्टी प्यालेसको एउटा भागमा माइकमा बोलेको आवाज सुनिन थाल्यो। उद्घोषकको अनुरोधसँगै दुलाहा र दुलही एकैसाथ उठेर एमाले अध्यक्ष केपी ओलीसँगै मिलेर मुक्त कमलरी उर्मिला चौधरी र दिलकुमारी चौधरीलाई पैसाको मुठो हस्तान्तरण गरेपछि उपस्थितबीच खासखुस चल्न चाल्यो। सबै जान्न चाहन्थे कि यो पैसा किन र कसलाई दिएको होला?

सायद, विहे कार्यक्रममा सहभागीको यही जिज्ञासा बुझेर होला उद्घोषकले प्रष्टीकरण दिए- जब छात्राबासमा बस्ने मुक्त कमलरीले बजेट अपुग भएका कारण खान र स्वास्थ्योपचारसमेत गर्न पाएनन् भन्ने समाचार सञ्चारमाध्यममा आयो, त्यसपछि नै दुलहीका बाबु तथा काठमाडौं क्षेत्र नं. ३ का सभासद् रामेश्वर फुयाँल उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचमा थिए। छोरीको विहेले उनको यही सोच पूरा गरेकोमात्र हो।

आफू पनि दाइजोरहित विहे गरेका सभासद् फुयाँलले छोरीको विहे पनि त्यसैगरी गरे। आफू अरुको विहेमा जाँदा पनि कहिल्यै उपहार नबोक्ने उनले दुलाहा पक्ष (काठमाडौं बाफलका रामबाबु कोइराला) समक्ष विहेमा लाग्ने खर्च सकभर कम गरेर बचेको पैसा दुःखपूर्ण जीवन व्यतीत गरिरहेका मुक्त कमलरीलाई दिने प्रस्ताव राखे। जब दुवै सम्धी/सम्धिनीबीच कुरा मिल्यो त्यसपछि आफूहरुले बचाउन सकिएको १ लाख ३ हजार रुपियाँ वास्तविक मुक्त कमलरीलाई यहीँ बोलाएर हस्तान्तरण गर्ने योजना बन्यो। रामेश्वरले भने- छोरीको विहेले खुसी त थिएँ नै मुक्त कमलरीलाई थोरै भए पनि सहयोग गर्न पाएकामा उत्तिकै खुसी थपिएको छ।

सहयोग रकम हस्तान्तरण गर्दै ओलीले थपेका थिए- सहयोगको पैसा कति हो भन्दा पनि यसले फजुल खर्च कटाएर दिनदुःखीका लागि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। मुक्त कमलरीले भोगिरहेका पीडाप्रति आफूहरु पनि गम्भीर भएको बताउँदै उनले यो राम्रो कामको अनुशरण जसले पनि गर्न सक्ने धारणा राखेका थिए। सँगै रहेका सभामुख सुवास नेम्वाङले पनि उनको धारणामा सहमति जनाएका थिए।

यही कार्यक्रमका लागि राजधानी आएका मुक्त कमलरी उर्मिला चौधरी र दिलकुमारी चौधरीले बेहुलाका बुबा तथा सभासद् फुयाँललाई दासतायुक्त जीवनबाट मुक्त कमलरीलाई सरकारले आश्वासन दिए पनि खासै नहेरेको गुनासो गरेका थिए। उनीहरुले फुयाँललाई यो साह्रै राम्रो काम गरेको भन्दै स्यावासी दिए र आग्रह पनि गरे कि तपाईँ सभासद् भएकाले हामीले दुःख पाएको, खान नपाएको, शिक्षाबाट वञ्चित हुनुपरेका कुरा संविधान सभामा पुर्याकइदिनुहोला। उनीहरुका कुरा सुनेपछि सभासद् फुयाँलले आफूले मुक्त कमलरीका समस्या राज्य व्यवस्था समितिमा राखिसकेको र अझै आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिएका थिए।

नागरिकन्युजबाट साभार

Leave a Reply

Your email address will not be published.