‘एक मधेस, एक प्रदेश’ असम्भव भनेपछि गच्छदारसँग विच्किए उपेन्द्र यादव

madhesi Morcha

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको केन्द्रीय कार्यालयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवबीच भनाभन परेको छ। आज बिहान साढे ११ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भनेर हिजो तय गरिएको भए पनि बिहान गच्छदारले आज बैठक नराख्ने आसयको कुरा गरेका थिए। त्यसैले गच्छदार मोर्चाको बैठक स्थल सदभावना कार्यालयमा सवा एक बजे मात्र पुगेका थिए।

स्रोत अनुसार बैठक राख्न गच्छदारलाई निकै दबाब दिनुपरेको थियो। गच्छदारले केही नेतालाई बैठक राख्ने भनेको र केहीलाई बैठक नराखौं भनेर दुई खाले कुरा गरेकाले अन्यौल सिर्जना भएको थियो। मोर्चाको संयोजक गच्छदार छन्। ढिलो आएका गच्छदारलाई उपेन्द्रले ‘बैठकमा ढिलो आउने तपाईंको धेरै कुरा केपी ओलीसँग मिल्न थाल्यो’ भनेर अर्थपूर्ण ठट्टा गरेका थिए।

त्यसपछि उपेन्द्रले मोर्चाको एकीकृत धारणाबारे मधेसमा अन्यौल सिर्जना भएको भन्दै आक्रोश पाखेका थिए। उनले संसदीय समितिहरु समेत बहिष्कार गर्नुपर्छ भनेपछि गच्छदारले ‘एमाओवादीले जेजे गर्यो हामीले त्यही गर्नुपर्छ भन्ने छैन’ भनेका थिए।

त्यसपछि केही नेताहरुले तपाईंकै बारेमा अनेक हल्ला चलिरहेछ भनेर गच्छदारका बारे टिप्पणी गरेका थिए। गच्छदारले आज कान्तिपुर दैनिकमा मेरो अन्तर्वार्ता पढ्नुस् सबै क्लियर हुन्छ भनेका थिए।

उपेन्द्रले त्यो अन्र्तवार्ता मैले पढेको छुइन तर एक मधेस असम्भव भन्नुभएको छ भनेर पढ्नेहरुले सुनाए, असम्भव भन्ने शब्द प्रयोग गर्नु मधेसीको अपमान हो, यसले हामीलाई अप्ठेरोमा पार्छ भनेका थिए।

उपेन्द्रले अहिलेको अन्यौल चिर्न सबै विषय क्लियर हुने गरी विज्ञप्ति जारी गरौं भन्दा गच्छदारले राजनीतिमा अनौपचारिक हल्लाको खण्डन औपचारिक रुपमा गर्नुको अर्थ नहुने बताएका थिए। यस्तो सबाल जवाफपछि उपेन्द्र बैठक छाडेर हिँडेको स्रोतले बतायो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय गठन्धनको निर्णय कार्यान्वयन गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रतिवद्ध रहेको बताए।

उनले केही सञ्चारमाध्यमले मोर्चालाई फुटाउन खोजेपनि त्यस्ता समाचार सत्य नभएको दावी गरे। महतोले सरकारले सहमतिबाट संविधान बनाउने प्रक्रिया सुनिश्चित नभएसम्म वार्तामा नजाने बताए।

महतोले भने, ‘ढोका बन्द गरेर बोलाइएको वार्ताबाट के निकासको अपेक्षा गर्नु?’ प्रक्रिया फिर्ता लिएर सहमतिबाट संविधान निर्माण गर्ने हो भने वार्तामा बस्न तयार रहेको उनले बताए। मोर्चाले कुनै पनि संसदीय समिति र संविधानसभाका समितिहरु बहिस्कार गर्ने निर्णय नगरेको महतोले बताए। उनले कांग्रेस एमालेले विगतमा भएका सहमति पाखा लगाएर बहुमतको बलमा संविधान बनाए जनताले नमान्ने बताए।

बैठकले कुनै ठोस औपचारिक निर्णय गरेन। गच्छदार, महतो र महन्थ ठाकुरले संसदीय समितिहरु बहिष्कार गर्न एमाओवादीले दिएको सल्लाह असान्दर्भिक भएको भन्दै नमान्ने विचार राखे। औपचारिक रुपमा समितिहरु बहिष्कार नगरे पनि संसदीय समितिहरुमा सक्रिय सहभागिता नजनाउने सहमति मोर्चामा भएको छ।

त्यसपछि साधारण कामचलाउ दुईटा औपचारिक निर्णय गरेर बैठक सकिएको छ। बैठकले ३० दलको आन्दोलन सफल पार्न मोर्चाका सम्पूर्ण कार्यकर्तालाई निर्देशित गर्ने र सम्पूर्ण नेता–सभासदलाई आ–आफनो जिल्लामा पुगी आसन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशित गर्ने निर्णय गरेको छ।

न्युजभित्ताबाट साभार

Leave a Reply

Your email address will not be published.