मुक्त कमैया महिला व्यवसायी बन्दै

भीमदत्तनगर- कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन्। थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन्। यसअघि उहाँको पूरै समय छोराछोरीको रेखदेख र चुलोचौकोमै बित्थ्यो।

मुक्त कमैया शिविरकै दयादेवी डगौँराले गएको महिना ३५ किलोभन्दा बढी च्याउ बिक्री गरिसकेकी छन्। उनी अब च्याउखेतीलाई विस्तार गर्न योजना बुन्दैछिन्। दयालाई उनका श्रीमानले समेत च्याउखेती गर्न साथ दिएका छन्। ‘बुढाबुढी नै च्याउ उत्पादनमा समय खर्चिंदै छौं,’ दयादेवीले भनिन्, ‘बुहारीलाई भान्सा र अन्य खेतीपातीको काम सुम्पेकी छु।’ च्याउखेतीबाट परिवारको खर्च चलाउन सहज भएको उनले बताइन्।

मुक्तकमैया शिविरका बासिन्दाले च्याउखेतीलाई निरन्तरता दिने सोच बनाएका छन्। पछिल्लो समय उनीहरु च्याउखेतीतर्फ आकर्षित भएका छन्। कम लगानी र थोरै मेहनतबाट च्याउखेतीबाट सोचेभन्दा राम्रो आम्दानी भएपछि मुक्त कमैया परिवार हर्षित छन्। ‘रु दुई हजार लगानीमा च्याउखेती थालेकी हुँ,’ सुनिता चौधरीले भनिन्, ‘दश हजारको बिक्री गरेँ, अझै बिक्री हुन बाँकी छ।’ च्याउखेतीकै कमाईले छोराछोरीको पढाइ शुल्क तिर्न सकेको उनले बताइन्।

विसं २०५८ मा सरकारले कमैयालाई मुक्त गरेको हो। उनीहरुलाई पाँच-पाँच कट्ठा जग्गा उपलब्ध गराएको थियो। तर सिँचाइ अभावले उत्पादन नभएपछि खान लाउन मुक्त कमैया परिवारलाई धौधौ पर्ने गरेको छ। पछिल्लो केही वर्षयता कञ्चनपुरमा रहेका विभिन्न मुक्त कमैया शिविरका महिला च्याउखेती, तरकारीखेती, बङ्गुरपालन, कुखुरापालन, माछापालन, बाख्रापालनलगायतका व्यवसायबाट आर्थिक अवस्थामा सुधार ल्याउन सक्रिय भएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ।

‘कृषिबाट पनि मुक्त कमैया र विपन्न समुदायका लागि समय-समयमा विभिन्न प्रकारका बिरुवा वितरण भएका छन्।’ जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भने, ‘गाउँघरमा मुक्त कमैया महिला पछिल्लो समय व्यवसायमा अग्रसर हुँदैछन्।’

त्यसैगरी सरकारले गरिबी निवारण कोषमार्फत पनि मुक्त कमैयाहरुलाई लक्ष्य गरी विभिन्न व्यवसायमा उनीहरुलाई आकर्षित गर्दै आएको छ। शिविरमा विभिन्न समूह बनाएर उनीहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर तरकारी, च्याउखेतीलगायतका विभिन्न नगदेबालीमा पनि आकर्षित गरिरहेको कृषि विकास कार्यालयका प्रमुख थापाको भनाइ थियो।

उनले कञ्चनपुरमा गरिबी निवारण कोषले गरिबी निवारण कार्यक्रमअन्तर्गत विभिन्न सङ्घसंस्थामार्फत् मुक्त कमैया बस्तीमा लगानी गरिरहेको जानकारीसमेत दिए। त्यसैगरी, पशुसेवा कार्यालयमार्फत पनि उनीहरुलाई पशुपालन गरी आयआर्जन गर्नतर्फ आकर्षित गरिरहेको कार्यालयले जनाएको छ।

पछिल्लो समय कृष्णपुर, दैजीलगायतका विभिन्न गाविसमा छरिएर रहेका महिला तरकारी उत्पादन गरी गाउँ-गाउँमा पुगेर बिक्री गरिरहेका छन्। ‘तरकारीखेतीले घर खर्च चलेको छ,’ वाणि मुक्त कमैया शिविरका मायादेवी खुनाले भनिन्, ‘गाउँमा समूह बनाएरै महिलाहरु तरकारीखेती गर्ने गृहकार्यमा जुटेका छन्।’ कञ्चनपुरमा चार हजार ५०० परिवार मुक्त कमैया छन्। केही मुक्त कमैयाले नदीका बगरमा पनि तरकारीखेती गर्ने गरेका छन्।

‘शिविरमै पुगेर लगानी गरिदिएपछि मुक्त कमैयाहरुको आर्थिक स्थितिमा पनि सुधार आइरहेको छ,’ गरिबी निवारण कार्यक्रमका संयोजक टेकबहादुर बुढाले भने, ‘मुक्त कमैया महिला व्यवसायमा कस्सिएरै लागेका छन्।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *