पीडा भुलाउन मघौटा नाचे विस्थापि

Maghauta

दवेन्द्र बस्नेत, दाङ- मोतीपुरकी निर्मला खत्रीका लागि बाढीको पीडा भुलाउने गतिलो अवसर बन्यो, माघी पर्व। अघिल्ला माघी सामान्य टीकाटालो र खानपिनमा मात्रै सीमित हुन्थे। तर, यसपालि उनी गाउँगाउँ नाच्दै हिँडिन्, थारु नाच ‘मघौटा’। उनी थारू समुदायकी होइनन् तर थारू महिलासँग मिलेर भाका हालिन्– सखी हे…। ‘एक्लै घर बस्दा मन पिरो हुन्छ,’ उनले भनिन्, ‘मन शान्त पार्न नाच्दै हिँडेकी हुँ, नाचेपछि हल्का पनि भयो।’

पोहोर ठूलो घरमा भित्रिएको माघी यसपालि त्रिपालको ओतभित्र भित्याउनु बाध्यता बन्यो। साउन अन्तिमको बाढीले घरको नामोनिसानै रहेन। त्रिपालभित्रै सही, बिहीबार बिहान निर्मलाले ५ सन्तानलाई टीका लगाइदिइन्। गच्छेअनुसार उनीहरूको मुख मिठो पारिदिइन्। तर, यो क्षणिक खुसी थियो। मूल चिन्ता त गलाको पासो बनिरहेकै छ– ‘गाँसबास कसरी जुटाउने?’ उपाय केही सुझेन। अनि लागिन्, मादल घन्काउँदै मघौटा नाच्न हिँडेका आफूजस्तै पीडितको समूहतिर।

मोतीपुरका बाढीपीडितले यसपालिको माघीमा सामूहिक मघौटा नाचेका छन्। जसमा थारुबाहेक समुदायका व्यक्तिको पनि उल्लेख्य सहभागिता रह्यो। प्रायको बहाना एउटै थियो– बाढीले पोलिरहेको मनको डाह शान्त पार्ने। तिनैमध्येका हुन्, यज्ञबहादुर केसी पनि। उनी पाँच दिनसम्म यसै गरी नाच्ने तयारीमा छन्। उनले भने, ‘पीडाले सबैलाई उसै गरी पोल्छ, समुदायको कुनै विभेद छैन। त्यसैले सबै एकै ठाउँ मिसिएर नाचेका हौं।’ ७४ विस्थापित परिवार रहेको मोतीपुरमा झन्डै ६५ परिवार थारूका छन्। बाँकी अन्य समुदायका । तर, माघी सबैका लागि मल्हम बनेर आयो यसपालि। दुःखसुख साटासाट गर्ने अवसरसमेत बनेको छ यो। ‘आआफ्ना सुखदुःखका कुरा गर्न पाउँदा पनि मन शान्त हुन्छ,’ केसीले भने।

धनवीर चौधरी यसअघिका माघीमा कहिल्यै नाचेनन्। उनलाई सोख नै थिएन। तर, यसपालि उनी आफैं समूहको संयोजक बनेर नाच चलाइरहेछन्। ‘नाचगानमा त्यति मनै लाग्दैनथ्यो,’ उनले विगत सम्भि्कए, ‘यसपालि मन शीतल पार्ने बहाना यही बनेको छ। त्यसैले आफैं कस्सिएको छ।’ बाढीले थुप्रै उल्झनमा पारेर गयो उनको जिन्दगी। झन्पछि झन् बल्झँदै गएका छन् समस्या। ‘केही गरे मन शान्त हुँदैन,’ उनले भने, ‘यता समस्या उता समस्या, जताततै समस्या मात्रै ।’

विस्थापितहरूलाई थाहा छ– यसपालि उनीहरूको संसारै बदलिइसकेको छ। धनवीरको एकतले घर थियो, अहिले बाँस गाडेर बनाइएको टहरो। तर, माघीको तयारी उत्तिकै रौनकपूर्वक गरे । घैँटाभरि जाँड, फालुन्जेल सुँगुरको मासु। त्यसैले विस्थापितै भए पनि दुई छोराछोरीको मुहारमा पोहोरको माघीभन्दा कम चमक थिएन। ‘तर, खानपिनले मात्रै मन शान्त हुँदो रहेनछ,’ धनवीर भन्छन्, ‘त्यसैले नाचगान गर्ने सोच बन्यो।’

विस्थापितले थारुनाचबाट संकलित रकम गाउँकै विकास निर्माणमा खर्चने तयारी गरेका छन्। ‘नाचबाट उठेको रकम समाजसेवामा लगाउँछौं,’ मोतीपुरमा गठित विस्थापित सरोकार समिति अध्यक्षसमेत रहेका धनवीरले भने, ‘बाढीले धेरै ठाउँमा भौतिक क्षति पुर्यााएको छ, तिनै ठाउँमा पैसा खर्चन्छौं।’ यसअघि तिहारमा देउसीभैलोबाट संकलित २० हजार रुपैयाँ उनीहरूले गाउँको सरसफाइमा खर्च गरेका छन्। बस्तीका २० ठाउँमा कन्टेनर राखेका छन्। ‘अब कसैले पनि जथाभाबी फोहर फाल्दैन,’ धनवीरले भने, ‘सबै फोहर कन्टेनरमै जम्मा हुन्छ।’

नागरिक दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.