माघीसँगै वर्षभरिका योजना बुन्दै थारु समुदाय

Maghi_tharu

देवेन्द्र बस्नेत, दाङ- ६ महिनाअघि लालमटियाका स्यानु चौधरीका नाति राजेशको विवाहको कुरा चल्यो। राजेशको विवाह तत्कालै गरिदिन परिवारका सदस्य एकमत भए। ५६ वर्षीय स्यानुले परिवारको प्रस्ताव सजिलै स्विकारेनन्। गाउँका महतवा (अगुवा) सँग अनुमति मागे। महतवाले ‘हाम्रो संस्कारअनुसार अहिले बिहे गर्न मिल्दैन, बाँकी तिम्रो मर्जी’ भनिदिए।

स्यानुले पनि संस्कार मिच्न चाहेनन्। परिवारका सदस्यलाई सम्झाइ–बुझाइ गरे। ‘अब माघीको दिन कचहरीमा बिहेको कुरा राख्ने योजना बनाएको छ,’ बुधबार लमही महोत्सवमा भेटिएका उनले भने, ‘महतवाको अनुमतिपछि विवाह गरिदिनुपर्ला।’

थारु समुदायमा माघ १ गते हुने कचहरीमा विवाहको प्रस्ताव लैजाने र महतवाको अनुमतिपछि तयारी थाल्ने परम्परा छ।

सोही गाउँका जनक चौधरीको प्रस्ताव भने अलि फरक छ। केही समययता खेतमा केही गरे पानी चढ्दैन। कुलो खनीखोस्री गर्दासमेत पानी नचढेपछि दिक्क जनकले यो समस्या कचहरीमा उठाउने तयारी गरेका छन्। उनले भने, ‘समस्या भयो, कचहरीमा जानकारी गराउँछु, त्यहाँ भनेपछि समस्या समाधान होला कि!’

हर्षोल्लासका साथ मनाउने माघीपर्वलाई थारु समुदायले रमाइलोमा मात्रै सीमित राख्दैन। यो पर्व उनीहरुका लागि वर्षभरिका योजना बुन्ने अवसरसमेत हो। वर्षभरिका चाडमध्ये यो सबैभन्दा ठूलो हो। यही दिन उनीहरूको नयाँ वर्ष पनि हो। वर्षभरि भएका कार्यको समीक्षा र आउने वर्षको योजना यही दिन हुने कचहरीमा बुनिन्छ।

‘कसैले छोरा वा छोरीको विवाह गर्न खोज्यो भने कचहरीमा कुरा राख्नुपर्छ,’ थारु अगुवा रामप्रसाद चौधरी भन्छन्, ‘महतवाले हुन्छ भनेपछि मात्रै विवाह हुने परम्परा छ।’ उनले माघीमा प्रस्ताव नराखी अन्य समयमा विवाह गर्न नमिल्ने थारु संस्कृति रहेको बताए। तर, थारु समुदायमा यो परम्परा लोप बन्दै गएको छ। बूढा पुरानाले यो संस्कृतिको मानसम्मान गरे पनि पछिल्लो पुस्ताले यो परम्परा बेवास्ता गर्दै गएको चन्द्रप्रसाद बताउँछन्।

घोराही– ३, ढिकपुरका लक्ष्मीमान चौधरी भने विवाह, पूजाका लागि अझै पनि कचहरीमा कुरा राख्ने चलन आफ्नो बस्तीमा रहेको सुनाउँछन्। ‘लौ है मेरो छोराको वा छोरीको विवाह यसै वर्ष गर्न लागेको छु भनेर कचहरीमै कुरा राख्ने गरिन्छ,’ उनले भने।

महतवाले नै माघ १ गते सम्पूर्ण गाउँलेलाई कचहरीमा डाक्छन्। उनको निमन्त्रणामा खुसी हुँदै जाने गाउँलेले महतवालाई जाँडको झोल र आलु वा मुला ‘सगुन’ लगिदिने परम्परा छ।

विवाह उत्सव

थारु समुदायमा माघी पर्व विवाह उत्सवको रुपमा समेत चिनिन्छ। मुख्यतः थारु समुदायमा माघ महिनाभरि विवाह बढी हुन्छ। माघी कचहरीमा प्रस्ताव राख्ने र महिनाभरि विवाह गर्ने गरिन्छ।

माघी विवाह गर्ने उपयुक्त समयसमेत रहेकाले यो समुदायका नागरिक छोराछोरीको विवाहमा बढी गम्भीर हुन्छन्। ‘राम्रो केटा वा केटी भेटिएला कि नभेटिएला भनेर थारुहरु यो पर्वमा अति चिन्तन गर्छन्,’ रामप्रसादले भने। मुख्यतः माघीमा बुहारीभन्दा राम्रो ज्वाइँ खोजीको चिन्तन यो समुदायमा बढी रहने थारु अगुवा बताउँछन्। ‘बुहारी कस्ती आउने हो भन्दा पनि ज्वाइँ कस्तो भेटिने हो भन्ने चिन्ता बढी पाइन्छ,’ रामप्रसाद भन्छन्, ‘यो पर्वमा राम्रो ज्वाइँ खोज्नकै लागि गाउँले भौँतारिएको समेत भेटिन्छन्।’

थारु बस्तीमा धुमधाम ‘माघी’

झन्डै ३३ प्रतिशत थारु समुदायको बसोबास रहेको दाङमा माघी धुमधामसँग मनाइँदैछ। थारु बस्तीहरु झकीझकाउ छन्। घर लिपपोत गरेर सिंगारिएका छन् भने बस्ती सरसफाई गरी चिटिक्क पारिएको छ। थारु नाचगानले बस्ती गुन्जायमान बनेका छन्। खानपिन तथा आफन्त भेटघाटमा थारु समुदायका नागरिक व्यस्त छन्। अन्न भित्याएर फुर्सदिलो बनेको यो समुदायमा माघी पर्वले निकै महत्व राख्ने गर्छ। पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइने पर्व माघीलाई थारु समुदायले मिठो खाने र राम्रो लगाउने उत्सवका रुपमा लिन्छन्। यो पर्वमा जाँड र सुँगुरको मासुले निकै महत्व राख्छ।

माघी आउनुपूर्व नै थारु समुदायमा यो पर्वको रौनकले छोइसकेको हुन्छ। अरु सबै काम थाँती राखेर थारु समुदाय एक सातादेखि नै यसको तयारीमा जुट्छन्। मिठा परिकार तथा अन्य तयारीमा समेत यो समुदाय व्यस्त रहन्छ। तयारी पुरा भएपछि माघीको दिन बिहान झिसमिसेमै बस्तीभरिका थारु समुदायका नागरिक एकै समूह बनाएर खोलामा नुहाउँछन्। नुहाउन जानेबेला मघौटा नाच नाच्नेसमेत प्रचलन छ। माघी पर्वको खुसीयालीमा नाचिने मघौटा नाच त्यही बेलादेखि सुरु भई पाँच दिनसम्म जारी रहन्छ।

खोलामा जम्मा हुने गाउँलेलाई मुखिया (महतवा) ले विभिन्न निर्देशन दिन्छन्। स्नानपछि घर फर्कने थारु समुदायका नागरिकले चेलीबेटीलाई मिश्राउ दिने चलन छ। यसपछि टीका थाप्ने क्रम सुरु हुन्छ।

माघीको दिन दिउँसो महतवाले गाउँलेलाई भेला पारेर मनमा लागेका तिक्तता पोख्न अनुमति दिन्छन्। शुभकार्यको प्रस्ताव यही भेलामा राख्ने चलन छ। त्यही भेला (कचहरी¬) बाटै यो समुदायले गाउँको महतवा फेर्ने प्रचलनसमेत छ।

‘यो बेला गाउँ समाजको साथै परिवार कसरी चलाउने भन्ने चिन्तन पनि हुन्छ,’ रामप्रसादले भने।

पूजाआजा तथा वर्षभरिका योजना छनोटको काम पूरा भएपछि यो समुदायका नागरिक खानपिन र नाचगानमा व्यस्त हुन्छन्। महिला, युवायुवती तथा वृद्धवृद्धा आ–आफ्नो समूह बनाएर छिमेकीका घरघरमा गएर जाँड तथा सुँगुरको मासु खाँदै पाँच दिनसम्म नाचगान गर्छन्।

नागरिक दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.