माघीमय थारू गाउँ

Maghi_banke

बाँके- पश्चिम तराईका थारू गाउँमा बुधबार बिहानैदेखि माघीको चहलपहल सुरु भएको छ । गीतसंगीतले गाउँ गुन्जिएका छन् । ‘सखियै हो माघीका गुरीगुरी जाँर…’ गीतमा सबै झुमिरहेको देखिन्छ । बिहानैदेखि जिता मारिएका छन् । मासुका परिकारका लागि सँुगर, खसी, कुखुरा मार्नेलाई जिता भनिन्छ । लहेंगा र चोलियामा किशोरी सजिएका छन् । बच्चादेखि वृद्धाहरू झुम र सखिया नाचमा रमाइरहेका छन् । गाउँगाउँमा माघी मेला देखिन्छ । मेलामा सयौंको भीड लागेको छ । शुभकामना आदानप्रदान चलिरहेका छन् । यो क्रम बिहीबार दिनभर चल्नेछ । एक वर्षका लागि गाउँका अगुवा (बडघर) छान्ने तयारी भइरहेका छन् । प्रतिस्पर्धाका लागि बडघर आफ्नो माहोल बनाउन लागेका छन् । 

‘माघीले गाउँमा वर्षभरिको खुसी ल्याइदिएको छ । जिता मारेर बिहानैदेखि सखिया र झुम्रा नाचमा रमाइरहेका छौं,’ नौवास्ताका जुगनी चौधरीले भनिन्, ‘माघीको दिन बिहानै नुहाएर ठूलाबडासँग आशीर्वाद थाप्छौं । मीठामसिना खानेकुरा खान्छौं । छिमेकीका घरमा गएर नाचगान गर्दै रमाउँछौं ।’ माघीका परिकारका लागि थारू समुदायले माछामासु, घुँघी, सिद्रा, सागपात, ढिक्रीका लागि चामलको पिठोको सारजाम गरिसकेका छन् । धेरैले ढिक्री पकाइसकेका छन् । माघीमा ढिक्री अनिवार्य परिकार हो । ‘परिकारका लागि सबै बन्दोबस्तीका सामग्री जुटाइसकेका छौं । साथीभाइ मिलेर खानपिन तथा रमाइलो गरिरहेका छौं,’ कोहलपुरका रामजीवन चौधरीले भने, ‘माघीमा केही दिन कामले फुर्सद मिलाएर रमाइरहेका छौं ।’

नौवास्ता, कोहलपुरको मैटहवा, विकट मानिने भुवरभवानी क्षेत्रमा मेला लागेका छन् । बर्दियाको बाँसगढी, बढैयामा माघी महोत्सव चलिरहेको छ । सयौं स्थानीयवासी रमाइरहेका छन् । गाउँगाउँमा सानातिना मेला पनि लागेका छन् । बुधबार मध्यरात १२ बजेपछि थारू समुदाय नदी, खोला, पोखरीमा स्नान सुरु गर्ने अगुवाहरू बताउँछन् । बिहानै स्नान गरेर गरिब गुरुवालाई दान दिने र मीठोमसिनो खाएर रमाउने क्रम सुरु हुन्छ । त्यस दिन जोकोहीलाई जसको घरमा पनि निम्तोबिना जान छुट हुन्छ ।

कैलाली-  थारु समुदायमा माघी पर्व र नयाँ वर्षको रौनक छाएको छ। टोल–टोलमा मघौटा नाचेर उनीहरूले नयाँ वर्षलाई स्वागत गरेका छन्। थारु समुदायले माघी पर्वलाई ४–५ दिनसम्म धुमधामसँग मनाउने गरेको छ। विभिन्न परिकारका खाना खाएर र नाचगान गरेर मंगलबारदेखि नै रमाइलो गरिरहेको धनगढी– ५ का विनय चौधरीले बताए। टोल–टोलका स्थानीय एक ठाउँमा भेला भएर बुधबार सुँगुर र बँदेल काटेका छन्। ‘बँदेल र सुँगुर काट्यौं, खानाका विभिन्न परिकार बनाएर रमाइलो गरी माघीको पहिलो दिन माघी मनाइरहेका छौं,’ स्थानिय कविता चौधरीले भनिन्।

प्रत्येक वर्ष पुस मसान्तदेखि सुरु हुने माघीपर्व उनीहरुले विभिन्न कार्यक्रमका साथ ४–५ दिनसम्म भव्यरुपमा मनाउने गरेका छन्। गाउँ–गाउँमा युवायुवती नाचगान गरेर रमाइलो गरिरहेका छन्। ताल, नदी, पोखरी, कुलो र नहरमा गएर माछा पनि मारेका छन्। पुस मसान्तको अघिल्लो दिन यसरी माछा मार्ने चलन छ। मसान्तको रात जाग्राम बसेर रमाइलो गर्ने गरेको कविताले बताइन्। ‘जाग्राम बसेर माघे संक्रान्तिको बिहानै नदी, ताल र पोखरीमा स्नान गरिन्छ,’ गुरुप्रसाद चौधरीले भने, ‘नुहाइसकेपछि आफूभन्दा मान्यजनसँग चामलको सेतो टीका थाप्ने र आशीर्वाद लिइन्छ।’

स्नानपछि घर गएर केही नखाई तीलको आगो ताप्ने र मास, नुन तथा चामल मिसाएर बनाइएको ‘निस्राउ’ चेलीबेटीलाई दक्षिणा दिने चलन रहेको उनले सुनाए। नुहाएर घर फर्किनेको स्वागतका लागि गाउँका गल्ली र सडकभरि कलश राख्ने राखिन्छ। नुहाएर फर्कनेले त्यो कलशमा गच्छेअनुसार पैसा राख्छन्। आफूभन्दा ठूलालाई ढोगभेट गरेपछि मात्र खानपिन सुरु हुन्छ।
माघ १ गते काँचो मासु हेर्नु हुँदैन भन्ने मान्यताअनुसार पुस मसान्तको साँझ नै मासु पकाएर राखिने उनी बताउँछन। ‘माघे संक्रान्तिको मुख्य परिकार ढिक्री, अनदी चामलको रोटी, जाँड र रक्सी हो,’ उनले भने। माघ १ गते युवाको समूह घरघरमा गएर माघी मनाउँछन्। साँझ सबै भेला भएर मघौटा नाच्छन्। नाचमा बालकदेखि वृद्धसम्म सहभागी हुन्छन्।
माघीकै दिन थारुहरूले वर्षभरिको योजना बनाउँछन्। व्यक्तिगत तथा सामूहिक योजना यही दिन तयार गरिन्छ। महत्वपूर्ण निर्णय गर्न माघीपर्व नै कुर्ने चलन छ। ‘माघीमै थारु समुदायले अंशबण्डा गर्ने, घर छुट्टिने, विवाह गर्ने, घर बनाउने, जमिन खरिद गर्नेलगायत सम्पूर्ण कुरा छिनोफानो गर्छन्,’ चौधरीले भने।
कमैया मुक्ति हुनुअघि कसको घरमा कमैया, कमलरी बस्ने, कति ज्यालामा काम गर्ने, कसको घरबाट कमैया छोड्ने सम्पूर्ण कुराको छिनोफानो माघीमै गरिन्थ्यो। माघ २ र ३ गते गाउँभरिका मानिस बसेर प्रत्येक गाउँमा ‘बडघर’ (नेता) चयन गर्छन्। यसरी चुनिएको बडघरको निर्देशन सबै गाउँलेले मान्नुपर्ने हुन्छ। औषधिमुलो गर्ने गुरुबा, चौकीदार पनि यसैदिन चुन्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *