दिलबहादुर चौधरी- माघ पर्वलाई नेपालका धेरैजसो हिन्दू धर्मावलम्बीहरु मान्ने गर्दछन्। यसरी माघ सबैले मानेतापनि थारुहरुका लागि भने यो अहं महत्वको चाड मानिन्छ। माघ थारु समुदायको सब भन्दा ठूलो त्यैहार मात्र हैन, यो थारुहरुको नयाँ साल पनि हो, आर्थिक वर्ष पनि हो। महत्वपूर्ण नीति निर्माण गर्ने, नेतृत्व परिबर्तन गर्ने, आशिर्वाद लिने र दिने, रीस-द्वेष त्याग गरी मेलमिलाप गर्ने, इष्टमित्रहरुसँग भेटघाट गर्ने पर्वको रुपमा मनाइने यो पर्व थारु समुदायमा बिशेष महत्व राख्छ।
ज्योतिष शास्त्र माघ १ गते सूर्य धनुराशिबाट मकर राशिमा संक्रमण गर्ने गर्दछ। मकर राशिमा संक्रमण गर्ने हुनाले यस दिनलाई मकर संक्रान्ति भनिन्छ। सूर्य दक्षिणायनबाट उत्तरायनमा प्रवेश गर्दछ। बिज्ञान खगोल शास्त्र अनुसार पनि खगोलिय उठलपुठल हुँदा, दिशा परिबर्तन गर्दा पृथ्वीजगतमा केहि न केहि असर पर्दछ। तसर्थ यस्तो बेलामा सजग हुन आवश्यक हुन्छ। थारु समुदाय पनि यस अवसरमा नुहाईधुहाई गरी अगेनाको ताप लिने गर्दछन्। यसरी नुहाउँदा र ताप लिँदा शरीरका सारा बिकारहरु नष्ट हुन्छन् र स्वास्थ्यलाई फाइदा पुग्छ।
साधु, सन्त, महात्माहरु, देवताहरु माघको ठूलो गुणगान गरेका छन्। बेद पुराणहरु यस बातका साक्षी छन्। पुराणमा भनिएको छ– “बर्षमा १२ महिना हुन्छ, यी १२ महिनामा माघ पूजा–आजा, दान–पुण्य र तीर्थ-ब्रतको महिना हो। माघ महिनामा गरेको दान खाली जाँदैन।” त्यसैगरी भनिएको छ- ‘संसारमा धेरै खालका दानहरु हुन्छन्, ती दानहरुमा अन्नदान सबै भन्दा ठूलो दान हो।’ त्यसै कारणले होला थारु समुदायका हरेक व्यक्ति बर्षको एकचोटी अनिवार्य रुपमा दुबै हातको अञ्जुलीले निसराउ निकाल्छन् र आफ्नो चेलीबेटीहरुलाई दान दिन्छन्। भान्जाभान्जीहरुलाई बोलाउँछन्, खुवाउँछन्।
माघ १ गते नुहाईधुवाई गरी पूजा गर्नाले आशुतोष महादेवले इच्छाएको बर दिन्छन्, मनोकामना पूरा गर्छन् भन्ने आम मान्यता रहेकोले पनि यस दिनको थारु समुदायमा ठूलो महत्व छ।साथै थारु समुदायको आफ्नै मूल्य, मान्यता, सामाजिक संरचना छ। घर–परिवार, समाज संचालन गर्ने आफ्नै परिपाटी छ। खोजनीबोजनी (भुरा खेल, माघीदेवानी) समाज संचालनको त्यो लोकतान्त्रिक परिपाटी हो, जसलाई आधुनिक भाषामा महाधिबेशन/चुनाव भनिन्छ। जहाँ छलफल हुन्छ, कार्यनीति, रणनीति तय हुन्छ, नेतृत्व चयन, परिबर्तन हुन्छ। थारु समुदाय पनि खोजनीबोजनीको माध्यमबाटै छलफल गर्छ, कार्यनीति, रणनीति तय गर्छ, नेतृत्व चयन/परिबर्तन गर्छ, धेर सारा समस्याको निप्टारा गर्छ।
यही महत्वका कारणले होला, देशभरका तमाम स्थानहरुमा अहिले माघी महोत्सव, खिचरा महोत्सव आदि नामले महोत्सव गरिने कुरा घोषणा पनि भैसकेको छ। काठमाण्डौमा बस्ने थारुहरु अहिले हरेक वर्ष ‘थारु माघी महोत्सव’ को आयोजना गर्ने र प्रधानमन्त्री वा उपप्रधानमन्त्रीलाई बोलाई उदघाटन गराउने गर्दछन्। एक किसिमले महोत्सव अहिले परम्परा नै भैसकेको छ। माघी चाड, अब थारुहरुको महान चाड, पर्व मात्रै रहेन, धेरै जातजातिहरुको महान चाड हुन पुगेको छ, यस मानेमा समुदाय गौरबान्वित छ। तर कतिपय महोत्सव यतिबेला रमाइलोको लागि मात्रै आयोजना गरिंदैछ, चिन्तन मनन छैन, भेषभूषा देख्न पाइए पनि सेवासलाम गर्ने परिपाटी छैन, खानपानमा सीमिति हुँदैछ माघी। थारुहरुको चलन अनुसार नयाँ काम गर्ने, नेतृत्व चयन, परिबर्तन गर्ने, राम्रो कामको लागि बाचा कबुल गर्ने परिपाटी हराउँदैछ। हामी एकचोटी बिचार गरौं, कतै हामी हाम्रा चालचलन भन्दा बाहिर त गइराखेका छैनौं?
हरेक बर्ष सरकार प्रमुखबाट ‘माघी महोत्सव’को उदघाटन हुन्छ, तर थारुहरुले माघीमा माग्ने गरेको बिदाबारे राज्य बेखबर छ। दशैंमा शिक्षा मन्त्रालय अन्तर्गत चल्ने बिद्यालयहरुमा महिनौं दिन बिदा दिइन्छ तर थारुहरुको माघमा ३ दिनसम्म बिदा हुँदैन। अतवारी पर्ब भनेको के हो? राज्यले सुनेकै छैन। शेरबहादुर देउबा प्रधानमन्त्री हुँदा सुदूरपश्चिम पहाडकोगौरा पर्व कैलाली र कंचनपुरका थारुमाथि थोपरिन्छ र गौरा पर्व सुदूरपश्चिमकै महान पर्व घोषणा गरिन्छ। बि. स. २०१७सालदेखि राज्यको न्यानो माया पाउँदा खस भाषाको बिकास यतिसम्म भइसक्यो कि धेरैलाई पत्याउन पनि गार्हो भएको छ। नेपाली भाषामा कक्षा ६ देखि १० सम्म पढाउन थालिएको बि. स. २०२८ देखि मात्र हो भन्ने कुरा डा. हरिवंश झाले ‘नेपाल में तराई समुदाय एवं राष्ट्रिय एकता’ नामक हिन्दी भाषामा लिखित आफ्नो पुस्तकमा लेखेका छन्। हिन्दी भाषामा मधेशी नेताहरुले बोल्दा केहि समय हल्लीखल्ली हुन्थ्यो, यही कुरालाई लिएर वि.स. २०६८ जेठ ५ गते प्रकाशित कान्तिपुर दैनिकमा चन्द्रकिशोरले लेखेका छन् कि पहिले नेपालमा हिन्दी भाषामै पढाई हुन्थ्यो। उनले हिन्दी भाषामा नेपालमा पढाई हुने कबिताको एक हरफ यसरी लेखेका थिए- ‘मस्तक उँचा हो नेपालका, जबतक तन मे जान रहे, बीर नेपाली सच्चा बेटा यह कहने की शान रहे’ भनेर।
राज्यको यस्तो बिभेदीकरणको नीतिले गर्दा आज पनि उत्पीडित जातिहरु उत्पीडनमै परेका छन्। देश धर्म निरपेक्ष घोषणा भएपनि राज्यको ब्यबहारमा त्यो छुटेको छैन। राजनीति, प्रहरी, प्रशासनमा त उत्पीडित जातिहरु शून्यकै बराबरमा छन्। राज्यको पनुर्संरचना गर्न नेपाली काँग्रेस र एमाले मानिरहेका छैनन्। थारुहरुलाई पहाडमा गाभेर तितरबितर पारिएको छ। तराईलाई उपनिबेशको रुपमा राखिएको छ। पुनर्संरचनाको कुरा गर्दा, अधिकार माग्दा जातिय नारा लगाएको संज्ञा दिइँदैछ। आदिबासी जनजाति, मधेशी, थारु, मुश्लिमले अधिकार माग्दा सामाजिक सदभाव खल्बिलिन्छ। देशमा शान्ति स्थापनाको लागि उत्पीडनमा परेकाहरु अझ सहिदिनु पर्छ रे! देशमा कस्तो किसिमको शान्ति स्थापना गर्दैछन् हाम्रा महेन्द्रपन्थी नेताहरु? अहिले उत्पीडित जातिहरुलाई बुझ्न गार्हो भएको छ। सत्तामा रहेका अभिजात बर्ग, बिशेषतः नेपाली काँग्रेस, एमालेका महेन्द्रपन्थीहरु उत्पीडितहरुलाई अधिकार दिएर हैन, सत्ताको आश र त्रास देखाएर फेरी महेन्द्रवादी राज्य संरचनालाई स्वीकार गराउन बाध्य पारिरहेका छन्। अर्कोतिर उत्पीडित जातिहरुका अगुवाहरु मुखमा बुजो लगाएर बसेका छन्। यसरी एकातिरसुदूरपश्चिमबाट अखण्डको नाममा पाखण्ड र प्रतिगमनको उदय हुँदैछ भने अर्कोतिर उत्पीडितहरुका अगुवाहरु, सचेत नागरिकहरु राज्यको डरले प्रष्टसँग बोल्न सकिरहेका छैनन्।
संबिधान सभाको चर्चा, परिचर्चा, अग्रगमन र प्रतिगमनको दोहोरी चलिरहेको समयमा माघी आइपुगेको छ। सबैलाई थाहा छ कि माघी थारुहरुको माघी देवानी, खोजनीबोजनी गर्ने, राम्रो काम गर्ने, कसम खाने, प्रतिबद्ध हुने, आशिर्बाद लिने र दिने पर्व हो। खानपिन गर्ने, हँसी मजाक गर्ने र भौंतारिने दिन मात्रै होइन। यो अवस्थामा सम्पूर्ण समुदाय अब गम्भिर बन्न जरुरी छ र बिचार गर्न जरुरी भएको छ कि सरकार प्रमुखले आम थारुहरुका लागि माघीमा के उपहार दिन सक्छन्?के प्रतिबद्धता जाहेर गर्छन्?थारु कल्याणकारिणी सभाका अगुवाहरु, थारु सभासदहरु, थारु बुद्धिजीविहरु, समाजसेवीहरु समुदायका ईच्छा र आकांक्षालाई पुरा गर्न सक्छन् कि सक्दैनन्? बिगतका अटेसमटेसलाई माघीमा बिर्सेर अधिकारको लागि एकजुट भै लड्न सक्छन् कि सक्दैनन्?यस्तो चिन्तन मननहुन सक्यो भने माघीको सार्थकता हुनेछ अन्यथा माघी नाम मात्रको माघीमा सीमित हुनेछ।
जसरी माघ, माघी अहिले सबैको बिचमा परिचित छ, कैलाली पनि थारुहरुको बिचमा मात्रै होइन, सबैको बिचमा परिचित छ। संबिधान सभाको चुनावमा देशका ठूला दलले लाख प्रयास गर्दा पनि कैलालीले मिश्रित परिणाम दियो। पहिचान पक्षधरलाई जनताले ५० प्रतिशत सिट दिएकै हुन्। पहिचानबिरोधी, महेन्द्रपन्थीहरुले थारुहरुको आवाजको सम्मान गर्ने, उनीहरुको बिरुद्धमा नजाने, मुक्त कमैयाहरुको घर बनाउने, पुनर्स्थापना तुरुन्त गर्ने जस्ता बिकासे नाराले गर्दा ५० प्रतिशत सिट हत्याउन सफल भएका हुन्। राजा महेन्द्रले बनाएको संरचनालाई कायम गर्ने भनेर थारुहरुबाट मत मागेका होइनन्। अहिले पनि सभासद पुष्कर ओझाले हुन् वा मोहनसिंह राठौरले हुन्, थारुहरुको बस्तीमा गएर अखण्ड बनाउने, थरुहटलाई टुक्र्याउने कुरा गर्न सक्तैनन्, सत्य यही हो।
अखण्डको नाममा पाखण्ड प्रदर्शित गर्ने नेताहरु शेरबहादुर देउबा, दिलेन्द्रप्रसाद बडु, भीम रावल, लोकन्द्रबहादुर चन्द, रमेश लेखक आदि हुन्, जो तराईमा गएर भोट माग्दैनन्, जसका अघिपछि पहरेदार हुन्छन्। यदि तराईमा गएर भोट माग्ने परिस्थिति भए शायद उनीहरुको बोली ब्यबहार आपसे आप नरम हुन पुग्थ्यो, जस्तो कि सभासद राठौर र ओझाको छ। त्यसैले सत्य कुरा के हो भने कैलालीमा जनता पनि सचेत छन्, प्रतिगमनको उदय हुने, खेल्ने ठाउँ पनि कैलाली हो। सुदूरपश्चिम पहाडमा हुर्केको अखण्ड नामको पाखण्ड पोखिने र प्रभाव बिस्तार गर्ने ठाउँ भनेको कैलाली र कंचनपुर भएकोले कञ्चनपुर र कैलाली यथास्थितिवादको चपेटामा पर्ने धेरै सम्भावना छ। यो प्रतिगमनले उत्पीडित जातिहरुलाई मात्रै अप्ठ्यारो पार्दैन, अग्रगमनको बिचार ल्याउने एमाओवादी समेतलाई ग्रास बनाउन सक्छ। यो अबस्थासम्म आइपुग्दा एमाओवादीलाई धेरै कुरा ज्ञात भैसकेको पनि हुनुपर्दछ।
कुरा जेहोस्, एकातिर थारुहरुको पहिचान संकटमा परिरहेको छ भने अर्कोतिर थारुहरुको दिल, दिमागमा थरुहट बसेको छ। सामन्तहरुले बाहिर साबुन पानीले जति पखाले पनि अब त्यो पखालिएर जाने अवस्था छैन। पखाल्नलाई उनीहरुलाई डर, त्रास हैन, पहिचान, सम्मान र समान अधिकार दिन आवश्यक छ। सत्ताको मातले उत्पीडनमाथि अझ उत्पीडन थप्दै जाने हो भने ‘मर्ता क्या नही करता’ भन्ने उखान चरितार्थ हुन सक्छ। राज्यको आड लिएर उत्पीडितमाथि चढाई आफू गर्ने अनि उत्पीडितले अधिकार खोज्दा, पहिचान माग्दा, समानुपातिक सहभागिता खोज्दा अशान्ति हुने, सामाजिक सदभाव खल्बलिन लाग्यो भन्ने हो भने अन्ततोगत्वा उत्पीडितहरुले चुनौतीको सामना गर्नैपर्ने हुन्छ, यो उनीहरुको लागि रहर हुँदैन, बाध्यता हुनेछ। यो कुरा सबैले बुझिदिनुपर्ने हुन्छ। थरुहट/थारुवानका थारुहरुले पनि बुझ्नुपर्ने कुरा के हो चुच्चे नाक भएका सबै जातजाति महेन्द्रपथमा छैनन्। पहाडमा खेतीपाती गर्ने, त्यहीको सदरमुकाममा घर बनाउने, बन्द ब्यापार गर्ने पहाडी दाजुभाईहरु सबै अखण्डको पक्षधरता होइनन्। पहाडलाई माथि उकास्ने, त्यहाँको बिकास गर्ने दाजुभाईहरुलाई पनि बिकास चाहिएको छ, सुबिधा र अवसर चाहिएको छ। उनीहरुलाई पनि थाहा छ कि कैलाली र कंचनपुरको बिकासले मात्रै पहाडको बिकास सम्भव छैन। बिश्वबिद्यालय, मेडिकल कालेज, कलकारखाना, उद्योग-धन्दा कैलाली र कञ्चनपुरमा मात्रै खोलेर पहाडी जिल्लाको बिकास हुँदैन।
महेन्द्र, बिरेन्द्रले कैलाली र कंचनपुरलाई जोडेर दिपायल र सिलगढीलाई ९ जिल्लाको राजधानी अर्थात क्षेत्रीय सदरमुकाम बनाउन खोजेकै हुन् नि।तर शासकहरु कि त काठमाण्डौ, कि त धनगढी र महेन्द्रनगर बसेपछि पहाडको बिकास कसरी हुन्छ? यो कुरालाई अब पहाडका धेरै उत्पीडित जनता पनि बुझिरहेका छन्। त्यसैले चुच्चे नाक भएका जति पश्चगमन, महेन्द्रपन्थी, अखण्डे नै हुन् भनी अनुमान लगाउनु, अनुहार अमिलो बनाउनु सर्बथा गलत कुरा हो। हाम्रा वरिपरी हाम्रा धेरै दाजुभाई हाम्रा हितैषी नै हुन् भनी बुझ्न आवश्यक छ। कुरा बुझेर मात्रै पनि हुँदैन, स्पष्टसाथ पस्किन पनि सक्नुपर्दछ। यहाँ आफूलाई सचेत भनाउँदा तमाम ब्यक्तिहरु छन्, जो मुख खोल्न सकिरहेका छैनन्। जब तपाईको मनमा थरुहटको बास छ, तपाई अग्रगमनका पुजारी हो, तपाईलाई अधिकार चाहिएको छ भने माघीदेखि बोल्ने आँट गर्नुस्, किन कि माघी मेलमिलाप दिवस पनि हो, प्रण लिने दिवस पनि हो। म त माघीकै अवसरमा प्रण लिंदैछु। जनताको अधिकारको लागि बोल्ने त्यो प्रण गर्दा, अधिकारको लागि बोल्दा यदि सरकारको कुदृष्टिमा अपराध भए म सजाय भोग्न तयार छु। तर बोल्न छोड्दैन। त्यसैले आदरणीय जनसमुदाय हो, ‘दासता होइन, बरु म मृत्यु रोज्छु, नेपालको नक्शामा थरुहट खोज्छु’ यो मेरो प्रण हो। ‘मलाई मार, फाँसी चढाऊ, बरु मेरो समुदायलाई दासदासी नबनाऊ’ सरकारसँग यो मेरो अनुरोध हो। धन्यवाद!