चितवनको खिचरा महोत्सव सुरु

Chitwan_Maghi_Mahotsaw 2

 

कारी महतो, चितवन- थारु कल्याणकारिणी सभा क्षेत्र नं ७, चितवनको आयोजनामा पुस २९ देखि माघ ३ गते सम्म चल्ने दोस्रो खिचरा महोत्सवको उदघाटन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गरेका छन्। पूर्व निधारित कार्यक्रम अनुसार कृषि तथा सहकारी मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गर्ने कार्यक्रम भए पनि तीस दलको ताम्सालिङ बन्दको कारण कृषि मन्त्रीको अनुपस्थितिमा पूर्वअर्थमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्। उदघाटन सत्र सुरु हुनुभन्दा अगाडि पर्सा बजारको चौबिस कोठीबाट महोत्सव स्थलसम्म झाँकीसहितको बृहत शोभायात्रा गरिएको थियो। विभिन्न सांस्कृतिक भेषभुषामा गाउँ गाउँबाट आएका विभिन्न झाँकी टोलीहरुको हजारौंको सहभागीतामा शोभायात्रा निकै मनमोहक थियो।

उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि सुरेन्द्र पाण्डेले तराईको सीमानामा सीमा सुरक्षाको लागि सैनिक व्यवस्था नराखिएको समयमा थारुहरुले सीमाको सुरक्षा गरेको जिकिर गर्दै थारुहरु नेपालको असली देशभक्त हुन् भनेका छन्।

‘विविधतामा एकता! समावेशीकरण र समानता!!’ मूल नारा रहेको महोत्सवको अवधिभरि हरेक दिन मनोञ्जनात्मक कार्यक्रमका लागि विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम गरिनेछ। थारु, दराई, मगर, तामाङ, गुरुङ लगायतका सांतिक नृत्य प्रस्तुत गरिने छ। त्यसका साथै धिरज राई, सुनिल गिरी, हरि योञ्जन, इथोस ब्याण्ड एण्ड सञ्जय चौधरी, मनोज महतो तथा हास्य कलाकार ज्योति काफ्ले लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ।

उद्घाटन मन्तव्यक क्रममा प्रमुख अतिथि कह्लीय ‘अब बन्ने संविधान आफैंले भनेको जस्तो मात्र हुनुपर्ने अडान राख्दा संविधान नै बन्दैन।’ पूर्व मन्त्रीले भने, ‘संविधान बनाउनका लागि सबैले केही न केही त्याग्न सक्नुपर्छ।’ ‘त्यसैले हामीले साझा पहिचान, साझा अधिकार र साझा अस्तित्वको दस्तावेजको रुपमा संविधान जारी गर्नु र देशलाई अगाडि बढाउने काममा लागौं,’ उनले भने।

पुस २९ देखि माघ ३ सम्म चल्ने महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमका साथै महोत्सव परिसरमै ३० गते चौधरी मेडिकल हलद्वारा फ्रि सुगर तथा जनरल चेकअप क्याम्प, माघ १ गते समाद सेन्टरको संयोजनमा बृहत खुला रक्तदान कार्यक्रम, २ गते थारु साहित्य सम्मेलन र ३ गते डा. सन्तोष अधिकारीको समूहद्वारा निःशुल्क दन्त शिबिर कार्यक्रम हुने भएको छ।

उद्घाटन सत्रमा विद्यावारिधी गर्ने चितवनको चितवनको पहिलो थारु युवा डा. पशुपति चौधरी, एम.बिबिएस, एमडी गर्न सफल भएका थारु डाक्टरहरु डा. लीला चौधरी, डा. गौरीराम महतो र डा. अमित चौधरीलाई सम्मान गरिएको छ। सम्मानित व्यक्तित्वहरुको प्रतिनिधित्व गर्दै डा. गौरीराम महतोले भने, ‘पूर्वदेखि पश्चिम नेपालका थारुहरुमा देखिएको सिकलसेल एनिमियाको उपचारको लागि सरकारले कुनै बजेट नछुट्टयाएको हुँदा त्यसका लागि पूर्व अर्थमन्त्रीले यथसिघ्र पहल गरीदिनु हुन अनुरोध गर्दछु,’ उनले थारु विद्यार्थीहरुलाई इंगित गरी भने, ‘तपाइँहरु पढ्नुस् मिहिनेत गर्नुस्, ठाउँमा पुगिन्छ र ठाउँमा पुगेर हामीले आफ्नो समुदायलाई अवश्य हेर्नुपर्छ।’

निःशुल्क प्रवेश टिकट रहेको महोत्सवमा विभिन्न व्यावसायिक तथा सेवामूलक स्टलहरु रहेका छन्। थारु खानाका स्टलहरुमा घोङी, चिचर, पोका, माछा, निचा, ग्वागा, नक्गर रोटी इत्यादि परिकारहरु राखिनेछ। महोत्सव परिसरमा फ्री वाईफाईको पनि सुविधा जडान गरिएको छ। महोत्सव परिसरमै थारु साँस्कृतिक घर, मचान र पीङ पनि बनाइएको छ। अन्तिम दिनमा थारु जातिको परम्परागत खेल म्वाह्रा उखाल्ने प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता पनि हुनुका साथै गरीब विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद चौधरीले भने।

नारायण प्रसाद महतोको सभाध्यक्षतामा सम्पन्न भएको उदघाटन सत्रमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित पूर्व साँसद सावित्री बोगटी, खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा, कार्यक्रमका प्रायोजक प्रभु म्याग्दी सुन चाँदी पसलका प्रोपराइटर रामचन्द्र सेन्चुरी, नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एनेकपा (माओवादी) का पार्टी प्रतिनिधि रामेश्वर पोखरेल, थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी लगायतले खिचरा महोत्सव सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उदघाटन सत्र पश्चात थारु, गुरुङ, मगरका विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने गायक सुनिल गुरुङले आफ्नो सुमधुर स्वरबाट स्टेज तताएका थिए।

Leave a Reply

Your email address will not be published.