राजधानीमा मनाइने माघी महोत्सवको तयारी पूरा

Maghi_Mahotsaw_Kathmandu

लक्की चौधरी- काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले माघ १ गते टुँडीखेलमा एक दिवसीय माघी महोत्सव मनाउने भएका छन्। महोत्सवको सबै तयारी पूराभएको मूल आयोजक समितिले जानकारी गराएको छ।

नेपाल पर्यटन बोर्डको सभाकक्षमा सोमबार पत्रकार सम्मेलन गरी आयोजक कमिटीले महोत्सवको तयारीबारे जानकारी गराएको हो। महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशिल कोइरालाले गर्ने कार्यक्रम तय भएको छ। थारुहरुले २०५९ देखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको आयोजकले जानकारी गराएको छ।

महोत्सवमा विभिन्न थारु परिकार, हस्तकला झल्कने ८० वटा स्टल रहने मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरी …सुमन”ले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। स्टलमा थारु हस्तकला, फुड फेष्टिबल, थारु इतिहास झल्किने पुस्तक, पत्रपत्रिका, थारु संस्कृति झल्किने थारु पोषाक (लेहङ्गा) लगायतको सामानहरु प्रदर्शन तथा विक्रीका लागि राखिने व्यवस्था गरिएको आयोजकले बताएको छ।

महोत्सवलाई मनोरञ्जनपूर्ण बनाउनकालागि २५ वटा विभिन्न थारु सांस्कृतिक नृत्य कार्यक्रमहरु तय भएको सांस्कृतिक समितिका संयोजक मिनराज चौधरीले बताए। पश्चिमको कञ्चनपुर, कैलालीदेखि पूर्वको मोरङ्, झापासम्मका थारुको सांस्कृतिक कार्यक्रम महोत्सवमा प्रदर्शन गर्ने व्यवस्था गरिएको चौधरीले जानकारी दिए।

हरेक वर्ष माघ १ गते मनाइने महोत्सवमा करिब २० लाख रुपियाँ खर्चहुने अनुमान गरिएको मूल आयोजक समितिका आर्थिक संयोजक पृथ्वीचन्द्र चौधरीले बताए। गतसाल १३ लाख रुपियाँजति खर्च भएको भएपनि यसपल्ट महंगाई बढेकाले बढी खर्चहुने अनुमान आफूहरुले गरेको संयोजक चौधरीले बताए।

थारुहरुले सदियौंदेखि माघीलाई नयाँ वर्षकोरुपमा मनाउँदैआए पनि सरकारले २०६४ सालदेखि मात्रै माघ १ गतेलाई राष्ट्रिय पर्वकोरुपमा मनाउने मान्यता दिएको थियो। पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म थारुको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको २०६८ को जनगणनाले देखाएको छ। उपत्यकासहित थारुको बसोबास २४ जिल्लामा रहेको छ।

माघीमा थारुहरुले विहानै स्नानगरी अभिभावकको आशीर्वाद लिने र चेलीबेटीलाई उपहार दिने गर्छन्। माघीको उपहारलाई थारु भाषामा ‘निसराउ’ दिने भनिन्छ। माघीमा थारुहरुले मासु, घोङ्घी, ढिक्री, गंगटा, मुरही, लैया, खिचरी, लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, जाँड विशेषरुपमा खाने गर्दछन्।

माघी महोत्सव मूल आयोजक समितिका संयोजक सत्यनाराण चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेमीलाल चौधरी, कृष्णराज सर्वहारी लगायतले माघीको बारेमा प्रष्ट्याए।

Leave a Reply

Your email address will not be published.