चितवन खिचरा महोत्सवको उदघाटन कृषि मन्त्रीले गर्ने

Khichara Mahotsaw at Chitwan

कारी महतो, चितवन- थाकस चितवन क्षेत्र नं ७ को आयोजनामा यहि २०७१ पुस २९ देखि माघ ३ गते सम्म खैरहनी नगरपालिका वार्ड नं. ७, सुर्ताना स्कुल चौरमा हुने दोश्रो खिचरा महोत्सवको उदघाटन कृषि तथा सहकारी मन्त्री हरिप्रसाद पराजुलीले गर्ने भएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार कृषि मन्त्रीले उद्‍घाटन सत्रको लागि समय दिएका हुन्। उद्‍घाटन सत्र सुरु हुनुभन्दा अगाडि पर्साबजारको चौबिस कोठीबाट महोत्सव स्थलसम्म झाँकी सहितको बृहत शोभायात्रा हुनेछ। संयोजकका अनुसार महोत्सवको तयारी पुरा भैसकेको छ।

महोत्सवको अवधिभरि हरेक दिन मनोञ्जनात्मक कार्यक्रमका लागि विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम गरिने छ। थारु, दराई, मगर, तामाङ, गुरुङ लगायतका साँस्कृतिक नृत्य प्रस्तुत गरिनेछ। त्यसका साथै धिरज राई, सुनिल गिरी, हरि योञ्जन, इथोस ब्याण्ड एण्ड सञ्जय चौधरी, मनोज महतो तथा हास्य कलाकार ज्योति काफ्ले लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ।

मनोरञ्जनात्मक कार्यक्रमका साथै महोत्सव परिसरमै ३० गते थारु युवा बहस र चौधरी मेडिकल हलद्वारा फ्रि सुगर तथा जनरल चेकअप क्याम्प, माघ १ गते समाद सेन्टरको संयोजनमा बृहत खुला रक्तदान कार्यक्रम, २ गते थारु साहित्य सम्मेलन र डा सन्तोष अधिकारीको समूहद्वारा निःशुल्क दन्त शिबिर कार्यक्रम हुने भएको छ। उदघाटन सत्रमा चितवनका एक जना पीएचडी गर्ने विद्वान थारु युवा र तीन जना एमबीबीएस, एमडी गर्ने थारु युवा डाक्टरहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। साथै स्कूल तहका अति गरीब थारु विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण कार्यक्रम पनि रहेको जनाइएको छ।

निःशुल्क प्रवेश टिकट रहेको महोत्सवमा ५० ओटा व्यावसायिक तथा सेवामूलक स्टलहरु रहने भएको छ। थारु खानाका स्टलहरुमा घोङ्ही, चिचर, पोका, माछा, निचा, ग्वागा, नक्गर रोटी इत्यादि परिकारहरु राखिनेछ । महोत्सव परिसरमा फ्री वाइफाइको पनि सुविधा जडान गरिएको छ। महोत्सव परिसरमै थारु सांस्कृतिक घर, मचान र पीङ पनि बनाइएको छ। थारु जातिको परम्परागत खेल म्वाह्रा उखाल्ने प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता पनि हुने छ।

Leave a Reply

Your email address will not be published.