राजेन्द्रलाई छाडेर उपेन्द्र र महन्थ वार्ताका लागि काठमाडौंमा

Upendra And Mahantha

संविधान निमार्ण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका मध्ये संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर काठमाडौं फर्केका छन्। सरकारले वार्ताका लागि आह्वान गरे लगत्तै त्यसलाई सकारात्मक रुपमा लिँदै यादव र ठाकुर काठमाडौं फर्केका हुन्।

सरकारसँग वार्ताका बिषयमा के गर्ने भन्ने बारेमा दुवै नेताले आन्तरिक रुपमा छलफल जारी राखेका छन्। ‘अध्यक्षज्यु काठमाडौं फर्कनु भएको छ, वार्ताका बारेमा के गर्ने भन्ने अझै निक्र्यौल हुन सकेको छैन, आन्तरिक छलफल जारी छ’ यादवको प्रेस सहयोगी महेश चौरसियाले भने। उनका अनुसार अध्यक्ष यादव जनकपुरबाट जहाजबाट काठमाडौं फर्केका हुन्। काठमाडौं फर्के लगत्तै दुवै नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित अन्य दलका नेताहरुसँग छलफल गर्ने तयारीमा छन्।

तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौं आइपुगेका छन्। ‘वार्ता गर्ने कि नगर्ने भन्ने बारेमा आन्तरिक छलफल जारी छ’ सहमहामन्त्री सर्बेन्द्रनाथ शुक्लाले भने, ‘मधेसी मोर्चाको बैठक बसेर त्यसको निर्णय लिइनेछ।’

उनका अनुसार अध्यक्ष ठाकुर पार्टीका नेताहरुसँग छलफलमा ब्यस्त रहे पनि वार्ता गर्ने निर्णयमा भने अझै पुगिसकेका छैनन्। अध्यक्ष यादव र ठाकुरले काठमाडौंमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर सरकारसँगको बार्ता बारेमा कुरो टुंग्याउने तयारी गरेका छन्। त्यसका लागि दुवै नेताले मोर्चामा आवद्ध अन्य दुई दल सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टी अध्यक्ष महेन्द्रराय यादवलाई काठमाडौंमा आउन आग्रह समेत गरेको स्रोतले बतायो।

महतोले सरकारसँग काठमाडौंमा नभई मधेसमा वार्ता गर्नुपर्ने भन्दै काठमाडौं आउन अस्वीकार गरेका छन्। उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। स्रोतका अनुसार वीरगञ्जमा महतो र कलैयामा महेन्द्ररायले जारी आन्दोलनको संयोजन गरिरहेका छन्। जहाँ कफ्र्यु र निषेधज्ञा तोडन खोज्दा प्रहरी कारबाहीमा परी आजै मात्रै तीन प्रदर्शनकारीको ज्यान गएको छ। आन्दोलन नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानीय प्रशासनले दंगा ग्रस्ता क्षेत्र घोषणा गर्दै वीरगञ्जमा सेना उतारेको छ।

Leave a Reply

Your email address will not be published.