खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

Tharu Gals

ध्रुवराज खनाल, चितवन- थारु जातिको नयाँ वर्ष माघे संक्रान्तिको अवसरमा आयोजना हुन लागेको ‘दोस्रो खिचरा महोत्सव-२०७१’ को तयारी अन्तिम चरणमा पुगेको छ। पुसको २९ गतेदेखि पूर्वी चितवनको खैरहनी नगरपालिकामा सो महोत्सव हुँदैछ। खैरहनी नगरपालिका-७ सुल्ताना चौरमा माघ ३ गतेसम्म चल्ने महोत्सवको बारेमा आज आयोजक थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर-७ ले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोसमेत आयोजकले बताएको छ। थारु संस्कृतिको संरक्षण तथा स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सभाका अध्यक्ष एवं महोत्सव मूल समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए।

माघी पर्वलाई महोत्सवका रुपमा मनाउन पनि खिचरा महोत्सव गरिएको महतोले बताए। महोत्सवमा विषेशगरी थारु जातिको खानेकुराका परिकार राखिने आयोजकले बताएको छ। चिचर, माछा, घोङी, निचा, ग्वागा, नग्गर रोटीलगायतका खानेकुरा महोत्सवमा राखिने संयोजक महतोले जानकारी दिए।

महोत्सवमा थारु समुदायको संस्कृति रस्धारी, डम्फु नाच, झमटा नृत्य, लठी डान्स पनि अवलोकन गर्न पाइने सांस्कृतिक समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिइन्। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको समेत प्रस्तुती रहने उनले बताइन्।

महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, सुनिल गिरी, ज्योती काफ्ले, सञ्जय चौधरी, मनोज महतो, हरि योञ्जन र स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले जानकारी दिइन्।

अघिल्लो वर्षदेखि सुरु गरिएको महोत्सव यसपटक भने ५ दिनको हुने प्रचार-प्रसार उपसमितिका संयोजक संजय चौधरीले जानकारी दिए। अघिल्लो महोत्सव २ दिनको थियो। महोत्सवको अवधिभर दन्त शिविर, रक्तदान, थारु साहित्यिक सम्मेलन, डोरी तान्ने प्रतियोगिता, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्विटर वितरणसमेत हुने प्रचार-प्रसार उपसमितिका संयोजक चौधरीले बताए।

महोत्सवमा खानेकुराका साथै विभिन्न व्यवसायिकसहित ३० वटा स्टल रहने आयोजक समितिका टिकेन्द्र चौधरीले जानकारी दिए। महोत्सवमा चितवन र नवलपरासीका करिब-१ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published.