छात्रावासका मुक्त कम्लरी भोकभोकै

Kamalari_Narti Hostel

नर्ती (दाङ)- एक महिनादेखि तेल र बेसार नहालेको तरकारी खाइरहेका छौं । खाना खाने बेला मन रुन्छ । खाना नभएर कति दिन चिउरा मात्रै खाएका छौं । आज त त्यो पनि छैन, भोकै छौं । बिरामी भएर उपचार गर्न पाइएको छैन । तपाईंहरूका छोराछोरी बिरामी हुँदा अस्पताल लैजानुहुन्छ होला । हामीलाई कसले लैजाने ? हामी बाँच्न चाहन्छौं, बचाउनुहोस् । यो भनाइ हो, सोनपुरको सूर्यविनायक प्रस्तावित मावि नर्तीमा कक्षा ९ मा अध्ययनरत मुक्त कम्लरी वसन्ता चौधरीको ।

वसन्तासँगै नर्तीको लावाजुनी छात्रावासमा बसेका १ सय ३ कम्लरी डाँको छोडेर रुन थाले । छात्रावास हेर्न पुगेका प्रमुख जिल्ला अधिकारी, शिक्षा अधिकारी, स्थानीय विकास अधिकारीलगायत सरकारी अधिकारी उनीहरूको अवस्था देखेर स्तब्ध भए । प्रजिअ परशुराम अर्यालले यस्तो अवस्था कसरी भयो भन्ने प्रश्न गरेपछि थाहा भयो, प्रधानाध्यापक कृष्णकुमार चौधरी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरन चौधरीको विवादले मुक्त कम्लरीले महिना दिनदेखि पेटभरि खान पाएका छैनन् ।

जेठमा अध्यक्ष भएका चौधरीले पुरानो हिसाब माग्दा प्रअले नदिएपछि चेकमा हस्ताक्षर नगरेका हुन् । यही कारण छात्रावास बस्दै आएका अभिभावकविहीन कम्लरीलाई समस्या भयो । शिक्षाले असोजमा नै मंसिरसम्मको खर्च विद्यालय खातामा हाले पनि निकास गरेको छैन । आपसी मनमुटावका कारण भोकै राखेको देखेपछि प्रजिअ अर्यालले तत्कालै समस्या समाधान गर्न आदेश दिए । ‘बच्चाको जीवनमाथि खेलवाड गर्न पाइँदैन । बजेट रोकिराख्ने अध्यक्ष र प्रअलाई कारबाही हुन्छ,’ उनले भने । बच्चालाई भोकैनांगै राख्न पाइँदैन ।’

शिक्षा अधिकारी प्रल्हाद अर्यालले पनि मुक्त कम्लरीको जीवनमाथि खेलवाड भएको बताए । ‘सरकारले पठाएको बजेट रोकी राखेर बच्चालाई भोकै राख्नेमाथि कारबाही हुन्छ । यसको अनुसन्धान हुन्छ,’ उनले भने, ‘तीन दिनभित्र कम्लरीलाई आवश्यक सबै सुविधा प्रदान नगरे थप कारबाही थालिन्छ । आफ्नो रिस कम्लरीमाथि पोख्न पाइँदैन ।’ शिक्षा समिति अध्यक्ष पुष्पराज शाहीले पनि दुई जनाको विवादले सयभन्दा बढी नानीहरु जोखिममा परेको बताए ।

अध्यक्षले राहत शिक्षक हरिलाल चौधरीलाई प्रअको जिम्मेवारी दिन खोजेपछि विवाद बढेको व्यवस्थापन समिति पूर्वअध्यक्ष नेत्रप्रसाद पोख्रेलले बताए । ‘उनीहरुको मनमुटावले विद्यालय लथालिंग भइसक्यो । नियम कानुनअनुसार कोही चलेको छैन,’ उनले भने, ‘बालिकाको बिचल्ली भएको छ ।’ सरकारले छात्रावासमा बस्ने कम्लरीका लागि प्रतिव्यक्ति मासिक खाना २ हजार ५ सय र पकेट खर्च ५ सय गरी ३ हजार रुपैयाँ दिने गर्छ । मुक्त कम्लरी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट उद्धार भएका छात्राको खान लाउन नपाउँदा अवस्था नाजुक भएको मुक्त कम्लरी विकास मञ्च जिल्ला अध्यक्ष उर्मिला चौधरीले बताइन् ।

दुर्गालाल केसी/कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.