भल पसेपछि फूलबरियाका बासिन्दा रातभर जाग्राम

Dang

दाङ- शुक्रबार बिहानदेखि नै सञ्चारमाध्यमले फुकेको ‘वर्षा हुन सक्ने’ समाचारले विस्थापित शिविर त्रासमा थियो। असोज अन्तिमको हुडहुड आँधीले हायलकायल पारेको उनीहरूले बिर्सेका थिएनन्। नभन्दै शुक्रबार एकाएक आकाशमा बादल मडारियो। विस्थापितको मुहारमा चमक हरायो।

मुटु काँप्ने गरी एकाएक बढेको चिसो त्रिपालको ओत छेडेर भित्र पसिरहेको थियो। दाताले दिएका थाङ्ना च्यापेर जेनतेन टारिरहेकै थिए। चिसोको सकसभन्दा पनि आकाशबाट झरी ओइरिएर बिचल्ली पार्ने त्रास बढी थियो उनीहरूमा। नभन्दै भयो त्यस्तै, फेरि पनि फर्कियो ‘हुडहुड’। दुई महिनाअघिकै कहर दोहोरियो। सोमबार दिनभरि शान्त रहेको मौसम बेलुकीपख एकाएक उग्र भई बर्संदा उठिबासै लाग्यो विस्थापितको।

‘कठ्यांग्रिएरै भए पनि बसिरहेकै थियांै तर छाप्रोभित्र भल बग्न थालेपछि केही लागेन,’ फूलबारी–६ बखरियाकी बेलमती चौधरीले भनिन्, ‘छिमेकीको घर गएर रातभर जाग्राम बसिम्।’ साँझ खाना खाएर सुन्दरीको परिवार पालभित्रै थाङ्ना काखी च्याप्ने तरखर गर्दै थियो। एकाएक आकाश पड्किन थाल्यो। बेलमतीले ईश्वर पुकारिन्। तर, छिनभरमा छाप्रोमा पानी छिरेर कपडा–लत्ता सबै भिजे। खाने अन्न जोगिएन। चिसोसँगै एकाएक बर्सेको झरीले पाल पूरै भिजेपछि बेलमतीको परिवार रातभर छिमेकीको आश्रयमा जाग्राम बस्यो। उनीहरू मात्र होइन, वर्षाले त्रिपालको ओतमा आश्रय लिएका अधिकांश विस्थापितको चिल्लीबिल्ली भएको छ। सबैका अन्नपात, लत्ताकपडा भिजेका छन्।

मंगलबार दिउँसो उनीहरू भिजेका अन्नपात तथा लत्ताकपडा सुकाइरहेका देखिन्थे। ‘हाम्रो दुःख सुनिदिने कोही भएन,’ अर्की विस्थापित हँसिला बादीले भनिन्, ‘अब बाँच्ने हिम्मत हारिसकेका छौँ।’ हँसिलाको ६ जनाको परिवार पनि सोमबार राति पालभित्रै कष्टपूर्वक बस्यो। पालका प्वालबाट पानीको धारा लाग्यो। भलले सबै थोक भिज्यो। ज्यान पनि जोगिएन। भिजेको शरीरमा चिसो सिरेटोले घोचिरह्यो। रातैभर काँपिरहे उनीहरू। ‘रातभरि काँपेर बसिम्, आङका लुगा सबै भिजे, ओढ्ने कम्बल पनि बचेन,’ हँसिलाले भनिन्, ‘चिसोले बालबच्चाको हत्ते भयो।’

मंगलबार बेलुकीपख फेरि बादल मडारिएपछि उनीहरू थप पिरोलिएका छन् । झरीले भिजेका लत्ताकपडा सुकेका छैनन्। ‘के गरी रात काट्ने चिन्ता छ, आज पनि पानी परे के होला?,’ उनले भनिन्।
झरीसँगै बढेको चिसोले जिल्लाभरिका विस्थापितको दिनचर्या कष्टपूर्ण बन्दै गएको छ। पुराना टिनका पाता जोहो गरेर बस्नेलाई भन्दा बढी समस्या त्रिपालको ओतमा बस्नेलाई छ। उरहरी–६ मोतीपुरका कालुराम चौधरीको बाँसका चारवटा घारा गाडेर टाँगिएको त्रिपालले सोमबार बेलुकीको झरी थाम्न सकेन। न त नजिकैको बबईबाट सुइँकिने सिरेटो रोक्यो। ‘रातभरि जागै बस्यौं, सबै कपडा भिजेका थिए, कसरी सुत्नु?,’ उनले भने।

उनका अनुसार मोतीपुरका झन्डै दर्जनजति परिवार झरीले नराम्ररी प्रभावित छन्। त्रिपाल चुहिने समस्या एकातिर छ भने शीतलहरले भुइँसमेत ओभाउन पाउँदैन। पानी पोखिएजस्तो चिसो भुइँमै थाङ्ना बिछ्याएर रात काट्नुपर्ने सकस भोगिरहेछन् सबै। न न्यानो ओत न त गतिला कपडा। चिसोले अधिकांश विस्थापित थलिएका छन्। ‘कठ्यांग्रिएर मर्न लागिसक्यौं,’ मोतीपुरका वृद्ध कालुराम चौधरीले भने, ‘तातो खोज्न कहाँ जाने, ठावैँ छैन।’ कालुराम चिसोले बिरामी परिसके, पत्नीको हालत पनि उस्तै छ। ‘श्रीमती त हिन्न पनि सक्दैन,’ उनले भने, ‘साँच्चै काल आएछ कि जस्तो छ।’ सामान्य झरीसमेत थाम्न नसक्ने ओत फेरिने पर्खाइमा छन् उनीहरू। तर, उचित बासको पर्खाइमा बसेका पीडितले राहत पाउन सकेका छैनन्। बरु विपत्ति थपिँदै गएको छ।

‘राहत वितरणमा अन्याय’
सरकारी राहत लिएर मंगलबार प्रभावित बस्ती पुगेको जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा विभेद गरेको स्थानीयले गुनासो गरेका छन्। घर पूर्ण रूपमा क्षति भएका विस्थापितले समेत राहत नपाएको बाढीपीडित देवीराम कुसारीले वताए। उनका अनुसार ३/४ विस्थापित परिवारका हात रित्तै रहे। ‘पहिला राहत पाइराख्नुभएको थियो,’ कुसारी भन्छन्, ‘मंगलबार भने प्रशासनको टोलीले उनीहरूलाई विस्थापित नभएको भन्दै राहत दिएन।’

देवेन्द्र सुवेदी/नागरिक दैनिक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *