भारतीय नोटको कालोबजारी तीव्र

प्रभाषचन्द्र झा, भद्रपुर- नेपालीहरूको महान पर्व दसैँ नजकिँदै गइरहेको बेला भारतीय नोटको कालोबजारी अत्यधिक बढेको छ। सीमावर्ती जिल्ला भएका कारण अधिकांश झापाली भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलबारी र सिलिगुडीको बजारमा किनमेल गर्न जाने गरेकाले भारतीय नोटको माग अत्यधिक बढेको हो।

झापाको विर्तामोड, काँकडभिट्टा, भद्रपुर र चन्द्रगढीका बजारमा दसैँको अवसरमा अत्यधिक चहलपहल हुनुपर्नेमा भारतीय नोट महँगो भए पनि सीमावर्ती भारतीय बजारमा खरिदारी अत्यधिक हुने गरेको छ।

काँकडभिट्टास्थित नेपाल बैंक लिमिटेडले निर्धारित दरमा दैनिक भारु तीन लाखमात्र सटही गर्ने गरेको छ तर यहाँ दैनिक भारु एक करोडको माग रहेकाले सो मागलाई अन्यत्रबाट पूर्ति गर्न बढी रकम तिर्नुपर्ने अवस्था सिर्जना भएको हो।

भारतीय नोट सङ्कलनको रूपमा झापा यतिखेर पूर्वाञ्चलको केन्द्रबिन्दु बनेको एक व्यापारीले बताए। भारतको एटिएम, इलामको पशुपतिनगरलगायतका ठाउँबाट भारतीय नोट सङ्कलन नगरी विराटनगरमा दैनिक न्यूनतम् ५० लाख भारतीय गइरहेको उनको दाबी छ।
यसबाहेक सीमापारीबाट हुने गरेको तस्करीमा पनि भारुमै कारोबार हुने गरेकाले भारतीय नोटको माग नथेग्ने स्थितिमा बढेको पाइन्छ। न्ोपाल राष्ट्र बैंकले मान्यता दिएको सटही काउन्टरलाई प्रतिसय भारतीय नोट दिँदा ४० पैसा मात्र लिने अनुमति दिएको बुझिएको छ।
यस सम्बन्धमा काँकडभिट्टाका सटही काउन्टर सञ्चालक चन्द्र सिटौलाले बताएअनुसार नेपाल राष्ट्र बैंकले भारतीय नोट नदिने गरेको र स्थानीय बजारबाट नै भारतीय नोट सङ्कलन गरी बिक्री वितरण गर्नुपर्ने भएकाले भारतीय नोट पाउन गाह्रो भएको बताए।

भारतीय नोटको माग बढेपछि यहाँका व्यापारीले सहज ढङ्गले भारतीय नोटको जोहो गर्न अधिकारिक बाटो पनि खोजेका छन्। विर्तामोडस्थित एटिएम कार्ड सञ्चालित बैंकमा रकम जम्मा गर्ने अनि भारतमा सम्बन्धन प्राप्त गरेका बैंकमा पुगेर रकम झिकेर झापा ल्याउने र कारोबार गर्ने कार्य भइरहेको बुझिएको छ।

एक भरपर्दो स्रोतका अनुसार, कतिपय झापालीले भारतीय बैंकबाट एटिएम कार्डमार्फत् दैनिक लाखौंं रुपैयाँ झिक्ने गरेका छन्। सुरुमा भारतीय बैंकबाट एटिएम कार्डमार्फत एकपटकमा रु ५० हजार झिक्न पाइन्थ्यो तर केही दिनदेखि झापालीको चाप ती बैंकमा बढ्न थालेपछि अहिले भारतीय बैंकहरूले एटिएमबाट रकम झिक्ने कार्यमा कडाई गरेका छन्।
भारतीय बैंकले एकपटकमा रु १० हजारमात्र झिक्न दिनेगरेको यस कार्यमा संलग्न एक व्यापारीले बताए। व्यापारीहरूले सीमापारि नजिकको बजार सिलिगुडी, बागडोगरा र ठाकुरगन्जको बैंकबाट एटिएम कार्डमार्फत रकम झिक्नेगरेका छन्।

भारतीय नोटको मुख्य स्रोतको रूपमा झापाको विर्तामोडका मेची आँखा अस्पताल रहेको छ। दैनिक सयौँ भारतीय आँखाको उपचार गराउन आउने गरेको र उनीहरूले यहाँका बजारमा सटही गर्ने गरेकाले केही हदसम्म्ा भारुको नोटको मागलाई पूरा गरेको छ। यसका साथै भारतबाट रोजगारी गरेर पूर्वी नाका काँकडभिट्टा प्रवेश गर्नासाथ यस कारोबारमा संलग्न कतिपय व्यक्तिहरूले निर्धारित दरभन्दा बढी रकम दिई उनीहरूसँग भएको भारु साट्ने गरेको छ।

नेपाल बैंकले एक व्यक्तिको बढीमा रु तीन हजारमात्र साट्ने गरेकाले आवश्यकताको पूर्ति नहुँदा अन्यत्रबाट महँगोमा भारतीय नोट साट्नुपरेको सर्वसाधारणले जनाएका छन्। दसैँको बेलामा भारतीय कामदारहरू पनि घर जानका लागि भारतीय नोट साट्ने गरेकाले झन् भारतीय नोटको अभाव भएको देखिन्छ।
सानातिना सामान खरिद गर्नका लागि व्यापारीदेखि सर्वसाधारण उपभोक्तासमेत नजिकको भारतीय बजारमा जाने गरेकाले राष्ट्रको अर्थतन्त्रसमेत प्रभावित हुने गरेको व्यापारी उमेश यादव बताउँछन्। भारु ५०० र हजारको नोट चलनचल्तीमा ल्याएको अभियोगमा प्रहरीले पक्राउ गर्न थालेपछि भारतीय पर्यटक नेपाल प्रवेश गर्न डराउन थालेकाले झापाको सीमावर्ती बजारमा भारतीय नोटको आगमनमा धेरै कमी भएको व्यापारीहरू बताउँछन्। यस कारणले स्थानीय बजारसमेत प्रभावित हुन थालेको व्यापारीहरूको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.