लिम्बुवानको बन्द फिर्ता

झापा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले पूर्वमा आह्वान गरेको अनिश्चितकालीन आम हड्ताल स्थगित गरेको छ। परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भर्खरै एक विज्ञप्ति जारी गरी हड्ताल स्थगित भएको जनाएका हुन्। विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन गरि सरकारी कार्यालय, गाविस, नगरपालिका, निर्वाचन आयोगमा घेराउ तथा तालाबन्दी गरी चैत्र १ को कदम र मतदाता नामावली संकलन, अवैध नागरिकता वितरणको विरुद्धमा आन्दोलनलाई अझ सशक्त पारिने उल्लेख छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयमा परिषद् र प्रशासनबीच आज दिउँसो भएको वार्तामा इलाममा गत आइतबार पक्राउ परेका तीन कार्यकर्ता रिहा गर्ने र बन्द खुलाउने सहमति भएको परिषद्का जिल्ला अध्यक्ष दिलप्रसाद नेम्बाङले बताए।
परिषद्ले प्रहरीले पाँचथरको दुर्दिम्बाट पक्राउ गरेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको थियो। परिषद्का पाँच कार्यकर्तालाई गत २० गते प्रहरीले पक्राउ गरेपछि २१ गतेदेखि इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा बन्दको आह्वान गरिएको हो। बन्दका कारण मंगलबारसम्म पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका कारण मेची राजमार्गसहित अन्य सडकहरुमा दिउँसोसम्म सवारी चल्न सकेन्न्। शिक्षण संस्था, उद्योग कल कारखाना, बजार सबै ठप्प रहे।

 

Leave a Reply

Your email address will not be published.