एमाले शीर्ष नेताहरु थारु सभासद्‍माथि जंगिए, ककसमा नलाग्न निर्देशन

Emale

नेकपा एमालेले आफ्ना सभासदहरुलाई कुनै पनि नामका ककस निर्माणमा सहभागी नहुन र पार्टी नीति विपरीत नबोल्न तथा हस्ताक्षर नगर्न निर्देशन दिएको छ। एमाले संसदीय दलको मंगलबारको बैठकमा दलका नेता केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सभासदहरुलाई पार्टीको निर्णय भन्दा विपरीत अभिव्यक्ति नदिन आग्रह गरे।

‘ककसका नाममा संविधान निर्माणमा सकस थपिने भएकाले त्यस्ता कुनै पनि गतिविधिमा नलाग्न नेताहरुले आग्रह गर्नुभएको छ,’ एमाले सभासद् यज्ञराज सुनुवारले भने- ‘पार्टीको निर्णय र नीतिलाई बोकेर संविधान निर्माणमा लाग्ने कुरा भएको छ।’

पछिल्लोपटक एमालेका थारु सभासदहरुले हस्ताक्षर अभियान चलाएको सन्दर्भमा नेताहरुबाट यस्तो निर्देशन आएको स्रोतले जनाएको छ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले सहमतिका लागि आफ्नो घोषणापत्र र निर्णयभन्दा बाहिर गएर केही विषयमा कांग्रेससँग सहमति गर्नुपरेको बताएका थिए।

वार्ता र छलफलका क्रममा धेरै कुरा तलमाथि हुने भएकाले अहिले नै उत्तेजित नहुन पनि नेताहरुले सभासदलाई आग्रह गरेका थिए।

बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता ओलीले सम्वाद समितिको प्रतिवेदन अब फेरि सोही समितिमा फर्काउन नहुने पार्टीको धारणा सुनाएका थिए।

‘प्रतिवेदन फेरि सम्वाद समितिमै फर्काइयो भने अझै दुई तीन महिना सहमतिका नाममा अड्काउने र माघ ८ लाई गुजार्ने षडयन्त्र हुनेछ,’ ओलीको भनाइ उद्धृत गर्दै सभासद सुनुवारले भने- ‘अब जे गर्ने हो संविधानसभाबाटै टुंगो लगाउनुपर्छ, कुनै पनि हालतमा समितिमा फर्काउन हुँदैन।’

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले प्रतिवेदन बुझाउने क्रममा यो प्रतिवेदन संविधान सभामा छलफल र मतदानका लागि नभएको उल्लेख गरेका थिए।

-अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.