बुद्ध जन्मस्थलमा थाकसको केन्द्रीय परिषद् बैठक

कमला चौधरी। बुटवल- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय परिषद्को विशेष बैठक बिहीबारदेखि हुने भएको छ। त्यस्तै केन्द्रीय समितिको बैठकसमेत बस्ने बताइएको छ। बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थाकसले २५, २६ र २७ गते केन्द्रीय परिषद्को बैठक बस्ने जनाएको छ।

थाकसका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले केन्द्रीय परिषद् बैठकको प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय उपाध्याक्ष झकबहादुर थापा मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमाल, महासंघका उपाध्यक्ष सूर्य भुजेल, सचिव ध्यानी उराव र थारु समुदायका सभासदहरु उपस्थिति रहने छ। देशभरिबाट करिब ३ सय जना प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ।

चार वर्षदेखि बस्न नसकेको केन्द्रीय परिषदको बैठक झापामा भएको सभाको २१औं महाधिवेशनबाट गठन भएको नयाँ निर्वाचित कार्यमितिले आयोजना गर्न लागेको हो। बैठकमा थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री राजकुमार लेखी र इनर महतोले छुट्टाछुटटै कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ।

राज्य पुनर्संरचना गर्दा पहाड र तराईमा बराबर संख्यामा समान प्रदेश निर्माण हुनुपर्ने, तराईमा एक प्रदेशभन्दा पनि बुहुप्रदेश निर्माण गरिनुपर्ने र बहुप्रदेशभित्र थारुहट प्रदेश निर्माण हुनुपर्ने कुरालाई जोडका साथ उठान गरिने जनाइएको छ। यसको साथै हिमाल पहाड र तराईलाई मिसाएर समग्रमा प्रदेश निर्माण गर्न नहुने सभाले जानकारी दिएको छ।

पछिल्लो समयमा गठन भएको एमाओवादीसहितको २२ दलको मोर्चा र पद्यमरत्न तुलाधर नेतृत्व रहेको मोर्चाको पनि विरोध गर्दै आदिवासी जनजातिहरुको मुद्दामा महासंघको नै नेतृत्व हुनुपर्ने कुरामा समेत जोड दिने कार्यक्रम छ।

पत्रकार भेटघाटमा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवं थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री राजकुमार लेखीले माघ ८ गतेभित्र संविधान नबन्ने ठोकुवा गरे। सुशील, केपी, प्रचण्ड, गच्छदारलगायतका नेताले एक दुई हप्ताभित्रै अँध्यारो कोठाभित्र कालो सहमति गरेर संविधान सभाको म्याद थप्ने उनले ठोकुवा गरे।

Leave a Reply

Your email address will not be published.