थाकस अध्यक्षलाई मुक्त कमलरीले बुझाए ज्ञापनपत्र

मुक्त कमलरीहरुले आफ्ना माग थारु समुदायका नेता थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीलाई बुझाएका छन्। मुक्त कमलरीहरुको संस्था मुक्त कमलहरी विकास मञ्चले शनिबार आफ्ना मागहरु समेटिएको ५ बुँदे ज्ञापनपत्र बुझाएको हो।
थारु कल्याणकारिणी सभाको नेतृत्वमा २०७० सालमा कमलरी प्रथाको उन्मुलनका लागि भएको संयुक्त संघर्ष समितिको राष्ट्रव्यापी आन्दोलनपश्चात् नेपाल सरकार र कमलरी उन्मुलनका लागि संयुक्त संघर्ष समिति बीच १० बुँदे सहमति भएको डेढ वर्ष बितिसक्दा पनि सरकारले निर्णय कार्यान्वयन नगरेको र मुक्त कमलरीहरु विभिन्न समस्या भोग्दै बाध्य भएको भन्दै ज्ञापनपत्र बुझाएको हो । मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्षको अनुपस्थितिमा दाङ जिल्ला अध्यक्ष उर्मिला चौधरीले उक्त ज्ञापनपत्र थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चौधरीलाई बुझाउनुभएको हो।

ज्ञापनपत्रमा १० बुँदे सहमति कार्यान्वयनका लागि सरकारसँग पहल गरिदिन, कुमारी आमा, बेपत्ता पारिएका र हत्या गरिएका कमलरीहरुको घटना छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरिदिन, कमलरी शिक्षा निर्देशिका संशोधन गरी छात्रबृद्धि बृद्धि गरिदिन पहल गरिदिन, कमलहरी परिचयपत्रका लागि पहल गरिदिन, २०७१ मंसिर १२ गतेका दिन भारतमा बलात्कृत मुक्त कमलरीको न्यायका लागि पहल गरिदिन आग्रह गरिएको छ।

त्यस अवसरमा बोल्दै मञ्चकी दाङ जिल्ला अध्यक्ष उर्मिला चौधरीले कमलरीहरु मुक्त भएपछि निकै समस्यामा परेको भन्दै ती कमलरीहरुको समस्या समाधानका निमित्त राज्यले दायित्व लिनुपर्ने बताउनुभयो। कार्यक्रममा ज्ञापनपत्र बुझ्दै थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले संगठनको तर्फबाट आवश्यक पहल गरिने जानकारी दिनुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले मुक्त कमलरीको समस्या समाधानका लागि आदिवासी जनजाति महासंघ र थारु कल्याणकारिणी सभाले पहिलेदेखि नै सक्दो पहल गर्दै आएको र निरन्तररुपमा पहल गर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published.