नक्कली नेपाली नोटसहित दाङ निवासी चौधरी पक्राउ

Fake Nepali noteराजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो। उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केही खस्रोजस्तो महसुस भयो। कतै नक्कली त होइन? उनको पसलमा कपडा किन्न आएका नारायणपुर–९, दाङका आशिष चौधरीले दिएको ५ सय नेपाली रुपैयाँको नोटमा शंकालु नजर दौडाएकी शर्माले तुरुन्त प्रहरी बोलाइन्।
प्रहरीले वर्काईफर्काई नोट नियाले।
यकिन भएन, नजिकैको बैंकमा लगेर जँचाए।
नभन्दै, शर्माको शंका सही निस्कियो। नोट नक्कली नै रहेछ।
झटपट चौधरीलाई नियन्त्रणमा लिएर खानतलास गर्दा उनको साथबाट त्यस्ता थप १४ वटा नोट फेला परे, जुन सबै नक्कली थिए।
‘छाम्दा केही खस्रो लाग्यो भनेर खबर आयो,’ महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रमुख सानुराम भट्टराईले नागरिकसँग भने, ‘सक्कलीको तुलनामा केही खस्रो भए पनि हेर्दा सक्कलीझैं देखिएपछि बैंकमा लगेर परीक्षण गरायौं, नक्कली नै रहेको खुल्यो।’
लगत्तै चौधरीलाई पक्राउ गरी प्रारम्भिक बयान लियो प्रहरीले। प्रहरीका अनुसार चौधरीले तुरुन्तै स्विकारे र दाङमा रहेको आफ्नै घरमा रंगीन फोटोकपी गरेर नक्कली नोट तयार पारेको सूचना दिए। लगत्तै दाङ प्रहरीले उनको घर छापा मार्दा पनि नक्कली नेपाली रुपैयाँ फेला परेको भट्टराईले जानकारी दिए।
चौधरीले नक्कली नोट तयार पारेर बिहीबार पहिलो परीक्षण गर्न कपडा पसल पुगेको प्रहरी बयानमा दाबी गरेका छन्। प्रहरी भने उनको भनाइ पत्याइहाल्न तयार छैन। प्रहरीको आशंका छ– चौधरी नक्कली नोट गिरोहकै सदस्य हुन सक्छ। किनकि, बजारमा नेपाली नक्कली नोट फेला परेको यो पहिलो घटना होइन।
‘दाङको घरमा समेत केही नक्कली नोट फेला परेका छन्,’ भट्टराईले भने, ‘प्रारम्भिक बयानमा आफू एक्लैले काम गरेको बताएका छन्, समूह नै छ या उनी एक्लै हुन् भन्ने पाटोमा अनुसन्धान भइरहेको छ।’
नक्कली भारतीय रुपैयाँका कारोबारी नेपाललाई ‘हब’ नै बनाएर भारतमा कारोबार फैलाउन सक्रिय देखिएकै बेला पछिल्लो समय नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रमसमेत बढेको देखिन्छ। यसरी पक्राउ पर्नेमा भारतीय नागरिकको संख्या बढी छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०६६ यता १६ लाख नक्कली नेपाली रुपैयाँ फेला परिसकेको छ।
२०६९ मा नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रम ह्वात्तै बढेको थियो। २०७१ मा आएर पुनः नक्कली नेपाली रुपैयाँका कारोबारी सक्रिय हुने प्रयासमा रहेको देखिन्छ।
प्रहरी तथ्यांकअनुसार एक महिनाअघि मात्र झापामा ५० हजार नक्कली नेपाली रुपैयाँ फेला परेको थियो। प्रहरीले कात्तिक १९ गते ५० हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक राजगढका श्याम महाली र सिनु महालीलाई पक्रेको थियो।
पाँच महिनाअघि बारामा पनि १ लाख नक्कली नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका थिए। असार २५ गते समातिएका उनीहरू भारतीय महम्मद मुस्तकिम र नेपाली रामदयाल ठाकुर लोहार थिए। यो घटनाबाट भारतको प्रेसमा छापिएका नक्कली नेपाली नोट बजारमा छरिएको खुलेको थियो। प्रहरीले यी दुवै जनाविरुद्ध खोटा चलन मुद्दा चलाए पनि यो समूहका अन्य सदस्य फेला पर्न सकेनन्।
२०७० भदौ १९ मा विराटनगरमा ८ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक किसनकुमार भगत पक्राउ परेका थिए। जोगबनी नाकाबाट विराटनगर छिरे लगत्तै उनी पक्राउ परेका थिए। उनको साथबाट फेला परेको ८ वटै हजार नोटको नम्बर एउटै देखेपछि सशस्त्र प्रहरीले सहजै नोट नक्कली भएको भेउ पाएको थियो।
२०७० वैशाखमा नारायणी प्रहरीले वीरगन्जमा १ लाख ३८ हजार नक्कली नेपाली रुपैयाँसहित स्थानीय वहिद अन्सारीलाई पक्रेको थियो।

चौधरीको घरबाट थप ८ हजार नक्कली रुपैयाँ बरामद

७ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित काठमाडैमा पक्राउ परेका आशिष चौधरीको दाङको घरबाट थप ८ हजार नक्कली नेपाली रुपैँया फेला परेको छ। दाङको नारायणपुर ९ मा रहेको उनको घरमा प्रहरीले छापा मार्दा दुवै तर्फ छापिएको ५ सय दरको १६ वटा र एकतर्फी छापिएको ४ वटा नोट फेला परेको महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी सानुराम भट्टराईले जानकारी दिए।

चौधरी विहिबार नयाँ बसपार्क क्षेत्रमा ७ हजार ५ सय नक्कली नेपाली रुपैँया सहित पक्राउ परेका थिए। पक्राउ पछिको बयानमा उनले दाङको घरमा नक्कली नेपाली नोट रहेको खुलाए पछि प्रहरीले छापा मारेको थियो। डिएसपी भट्टराईका अनुसार उनको घरबाट नक्कली नोट बनाउन प्रयोग गरिएको हुन सक्ने स्क्यानर र रंगिन प्रिन्टर बरामद गरी काठमाडौं ल्याइएको छ।

केपी ढुंगाना/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.