बलात्कृत मुक्त कमलरीको बलात्कारीसँगै बिहे गराउन दबाब

मुक्त कमलरी किशोरी बलात्कार गर्नेमध्येका राजु चौधरीसँग विवाह गर्न भारतीय प्रहरीले आफन्तलाई दबाब दिएको छ । भारतमा मेला भर्न गएकी ढोढरी गाविसकी १७ वर्षकी ती किशोरी बर्दियासँग सीमा जोडिएको बहराइचको बिछियास्थित कटरियाबाबानजिक सामूहिक बलात्कारमा परेकी थिइन् । गाउँका सम्पन्न परिवारका चौधरीको मुद्दा फिर्ता लिन प्रहरी पनि अनुचित दबाबमा परेको स्रोतले जनाएको छ ।

प्रहरी संरक्षणमा रहेकी युवतीलाई विभिन्न प्रलोभन र मानसिक दबाब आइरहेको कम्लरी क्षेत्रमा काम गर्ने संस्था नेपाल युथ फाउन्डेसनका कानुन अधिकृत फक्ला थारूले बताए । बहराइचमै स्वास्थ्य परीक्षणपछि उनी भारतीय महिला प्रहरीसँग छिन् । गाउँका आफन्तसँग मेला भर्न भारत गएकी उनलाई गत मंसिर १२ मा बलात्कार गरिएको थियो । बलात्कार अभियोगमा पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्यामदेव चौधरी, किशुन चौधरी, राजन चौधरी र राजु चौधरी छन्, अन्यको नाम खुल्न सकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै भारतीय प्रहरी अधिकारीसँग कुरा गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही माग गरेको आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन् ।

-इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published.